साम्बादेखि दीपेन्द्रसम्म: यी हुन् २०८० का सफल १० खेलाडी – Nepal Press
वर्ष समीक्षा २०८०

साम्बादेखि दीपेन्द्रसम्म: यी हुन् २०८० का सफल १० खेलाडी

काठमाडौं । २०८० साल नेपाली खेलकुदका लागि समग्रमा सन्तोषजनक रहेन । देशले अन्तर्राष्ट्रिय पदक र सफलताको आशा गरिरहेका खेलाडीको लर्को विदेशतर्फ लागिरहेको छ ।

यो वर्ष नेपाल १९औं एसियाली खेलकुद (एसियाड)मा सहभागी भएको थियो । कराँतेकी एरिका गुरुङले रजत जितिन् । महिला कबड्डी टोलीले कास्य जित्यो । तेक्वान्दो, बक्सिङ जस्ता पदकका आशा गरिएका खेलहरुको अन्तर्राष्ट्रिय प्रदर्शन र नतिजा निराशाजनक रह्यो । ब्याडमिन्टन, लन टेनिस, टेबलटेनिस, पौडी जस्ता खेलहरु गुमनाम जस्तै रहे ।

उल्लेख्य नतिजा निकालेको एकमात्र खेलका रुपमा क्रिकेट रह्यो । एसीसी प्रिमियर कप जित्नु, पहिलो पटक एसिया कप खेल्नु नेपालका लागि उल्लेख्य रह्यो । क्रिकेटमा बढ्दो घरेलु प्रतियोगिता, खेलाडीको उच्च पारिश्रमिक वृद्धिलगायतका कारणले क्रिकेट नै नेपाली खेलकुदको ‘पोस्टर’ बनिरहेको छ ।

यहाँ व्यक्तिगत प्रदर्शन र सफलताका आधारमा २०८० सालका १० चर्चित खेलाडीबारे चर्चा गरिएको छः

एरिका गुरूङ

कराँते खेलाडी एरिका गुरुङले चीनको होङ्जाउमा सम्पन्न १९औं एसियाली खेलकुद (एसियाड)मा नेपालका लागि रजत पदक जितेकी थिइन् । एरिका एसियाडको एकल स्पर्धामा रजत पदक जित्ने केवल दोस्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा रजत जितेकी थिइन् । त्यसयता कुनै पनि नेपाली खेलाडीले यस्तो सफलता प्राप्त गर्न सकेको थिएन ।

धादिङको नीलकण्ठ स्थायी घर भएकी १९ वर्षीया एरिकाले हालै अमेरिकामा आयोजना भएको यूएस ओपन च्याम्पियनशिपमा उमेर समूहमा स्वर्ण र सिनियरतर्फ रजत जितिन् ।

पलेसा गोबर्धन

नेपालकी पारा एथलेट पलेसा गोबर्धन नेपाली खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो खेलाडी बनेकी छन् । तेक्वान्दो खेलाडी पलेसाले एसियाली छनोट पार गर्दै पारा ओलम्पिकमा स्थान बनाएकी थिइन् । यसअघि गृष्मकालीन ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडीहरु दीपक विष्ट र संगीना वैद्यले मात्र छनोट चरण पार गरेर स्थान बनाएका थिए ।

चैतको पहिलो साता भएको छनोट खेलमा उनी इरानी प्रतिद्वन्द्वीलाई पाखा लगाएर आगामी पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् । यस्तो सफलता संगीनाले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलम्पिकका लागि पाएका थिए ।

पलेसाले गत वर्ष चीनमा आयोजित पारा एसियाडमा कास्य पदक जितेकी थिइन् । नेपालको त्यो पहिलो पारा एसियाड पदक थियो । पलेसाले वाइल्ड कार्डमार्फत सन् २०२० को टोकियो ओलम्पिक पनि खेलेकी थिइन् । त्यतिबेला उनले दुई चरण पार गरेकी थिइन् ।

दीपेन्द्रसिंह ऐरी

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाए । १९औं एसियाडको पुरुष क्रिकेटमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । उनले भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको विश्व कीर्तिमान तोडेका थिए ।

उक्त खेलमा दीपेन्द्र १० बलमा ५२ रन बनाएर अविजित रहेका थिए । दीपेन्द्रले ८ छक्का प्रहार गरे ।

कुशल मल्ल

दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमान बनाएकै खेलमा नेपालले अन्य केही विश्व कीर्तिमान पनि थपेको थियो । कुशल मल्ल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यान बनेका थिए । उनले केवल ३४ बल खेलेर शतक पूरा गरेका थिए । यद्यपि उनको उक्त कीर्तिमान हालैमात्र नेदरल्यान्ड्सका खेलाडीले तोडेका छन् । मंगोलियाविरुद्ध कुशलले ५० बल खेल्दै १२ छक्का र ८ चौकासहित अविजित १३७ रन जोडेका थिए ।

नेपालले यो खेलमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटकै अहिलेसम्मकै ठूलो लक्ष्य दिएको थियो । नेपालले ३१५ रनको लक्ष्य दिएको थियो । मंगोलियालाई ४१ रनमा अलआउट गरेको नेपाल २७३ रनको विशाल रन अन्तरले विजयी भएको थियो ।

सावित्रा भण्डारी (साम्बा)

नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा)ले नेपाली खेलकुदमै इतिहास रच्दै युरोपका ठूला घरेलु लिगमा खेलिरहेकी छन् । सावित्रालाई फ्रान्सको पहिलो डिभिजन क्लब गुइनगाम्पले आबद्ध गरेको छ । सावित्रा युरोपका शीर्ष डिभिजन क्लबबाट खेल्ने पहिलो नेपाली फुटबलर बनेकी छन् । त्यसअघि साम्बाले भारत र इजरायलका शीर्ष डिभिजन क्लबबाट पनि खेलेकी थिइन् ।

उनी नेपाली महिला फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । साम्बाले ५१ गोल गरेकी छन् । उनी साउदी अरबमा आयोजित वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनशिपकी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको यो प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । क्लबले बोलाएपछि उनले फाइनल भने खेल्न पाइनन् ।

सन्तोषी श्रेष्ठ

नेपाली एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ यतिबेला उच्च लयमा छिन् । उनले पछिल्ला तीन महिनामा खेलेका ६ प्रतियोगिता जितेकी छन्, जसमा ९ लाख रुपैयाँभन्दा बढी नगद पुरस्कार उनको गोजीमा परिसकेको छ ।

बंगलादेशमा आयोजित बंगबन्धु म्याराथन उनले राष्ट्रिय कीर्तिमानसहित जितेकी थिइन् । पोखरा रन, धरान रन, नेपाल आर्मी हाफ म्याराथन, लुम्बिनी पिस हाफ म्याराथन, रन फर प्रोटिन हाफ म्याराथनलगायत उनले पछिल्ला महिनामा जितेका प्रतियोगिता हुन् ।

१३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दै नेपाली एथलेटिक्समा इतिहास बनाएकी सन्तोषी १९औं एसियाडमा घाइते हुन पुगेकी थिइन । तर, त्यसयता उत्कृष्ट पुनरागमन गरिरहेकी छन् ।

रुविना क्षेत्री

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अनुभवी सदस्य रुविना क्षेत्रीले झण्डै डेढ दशकको करियरमा कहिल्यै नतोडिने सफलता हात पारिन् । एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक प्रहार गर्दै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।

नेपालले सन् २००७ देखि अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेको हो । त्यसको एक वर्षपछि रुविना यू-१९ राष्ट्रिय टोलीमा समावेश भएकी थिइन् । मलेसियामा आयोजित एसीसी वुमन्स प्रिमियर कपको समूहगत चरणमा उनले माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रन जोडेकी थिइन् । त्यसमा ५ छक्का र १० चौका समावेश थियो । नेपाल प्रतियोगितामा भने सेमिफाइनलबाटै बाहिरिएको थियो । नेपाली महिला क्रिकेट टोलीले हालसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न सकेको छैन ।

प्रीति राई

साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनशिपमा नेपालले फाइनलसम्मको शानदार यात्रा तय गर्दा मिडफिल्डर प्रीति राईले फुटबलप्रेमीको मन जितिन् । मिडफिल्डमा उनको फुटवर्क जादुमयी रह्यो । प्रीतिले सेमिफाइनलमा लेबनानविरुद्ध खेल सकिन एक मिनेट पनि बाँकी नरहँदा डी-बक्स बाहिरबाट शानदार गोल गरेकी थिइन् । त्यही गोलमा नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

सावित्रा भण्डारीको अनुपस्थितिमा फाइनलमा जोर्डनका खेलाडीबाट सबैभन्दा बढी मार्क भएकी खेलाडी थिइन् प्रीति । तर, दुर्भाग्य उनी खेलका क्रममा घाइते हुन पुगिन् । उनले मैदान फर्कने प्रयास गरे पनि अन्ततः स्ट्रेचरमा बाहिर निक्लनुपरेको थियो ।

अञ्जन विष्ट

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट आफ्ना सहकर्मीहरु एकपछि अर्को विदेश पलायन भइरहँदा पनि टिकिरहेका थोरैमध्येका एक खेलाडी हुन् । उनै अञ्जनले निराजन रायमाझी र हरि खड्काको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने राष्ट्रिय कीर्तिमान यस वर्ष बराबरी गरे ।

विश्वकप छनोटको पहिलो चरणको पहिलो लेगमा अञ्जनले लाओसविरुद्ध गोल गर्दै व्यक्तिगत अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्‍याएका थिए । निराजन र हरिले पनि १३-१३ गोल गरेका थिए । हरिको कीर्तिमान निराजनले सन् २००८ मा बराबरी गरेका थिए । त्यसयता उनीहरुसँग बराबरी गर्न १५ वर्ष लागेको थियो, जुन सफलता अञ्जनले पाएका छन् । उनले राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला ४ खेलमा भने गोल गर्न सकेका छैनन् ।

गुणराज रुचाल

मुआथाईका खेलाडी गुणराज रुचालले थाइल्याण्डमा आयोजना भएको विश्व च्याम्पियनशिपमा सेमि-प्रोतर्फ स्वर्ण पदक जिते । मुआथाईको सेमि-प्रोतर्फ नेपालले यसअघि स्वर्ण पदक जित्न सकेको थिएन ।

एमेच्योरतर्फ भने पलिस्था कक्षपती र सञ्जय राईले स्वर्ण पदक हात पारेका थिए । सञ्जयले सन् २०१७ र पलिस्थाले सन् २०१९ मा उक्त सफलता हात पारेका थिए । पुरुष ५४ केजी तौल समूहमा गुणराजले इटालीका खेलाडीलाई हराएर स्वर्ण जितेका थिए । मुआथाईलाई थाई बक्सिङ पनि भन्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर