यूएईमा राधिकाको मृत्युपछि पक्राउ परेका थानेश्वर रिहा, भन्छन्- दिदीकाे लास देखेर भागेँ – Nepal Press

यूएईमा राधिकाको मृत्युपछि पक्राउ परेका थानेश्वर रिहा, भन्छन्- दिदीकाे लास देखेर भागेँ

यूएई । यूएईको अजमानमा राधिका घिमिरेको रहस्यमय मृत्युलाई लिएर प्रहरी नियन्त्रणमा रहेका शानेश्वर घिमिरे रिहा भएका छन् । पाणिनी-५ मैदान अर्घाखाँचीका थानेश्वर घिमिरे राधिकाको भाइ पर्छन् । राधिकाको मृत्युको विषयमा उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि डराएर भागेका थानेश्वर आइतबार दिउँसो आफैँ प्रहरी कार्यालयमा पुगेको बताए ।

दिदीले काममा लगाइदिने भनेर भिजिट भिसामार्फत यूएई आएका थानेश्वरले सुरूमा आफू डराएर भागेको तर आफ्नै दिदीको मृत्‍युमा विना गल्ती किन भाग्ने ? भनेर आफैँ प्रहरीकहाँ पुगेको बताएका थिए । आफू छुटेको विषय उनले फेसबुकमा पनि लेखेका छन् ।

‘भिजिट भिसामा आएको एक साता पनि भएको थिएन, दिदीको लास देखेपछि डराएर भागेँ, सारजाह गएर होटलमा कोठा लिएर बसेँ तर निदाउन सकिनँ, दुबईमा रहनुभएका अर्का दिदी भिनाजुकोमा ब्याग राखेर फेरि राधिका दिदीको मृत्यु भएको कुरा नजिकै प्रहरी चौकीमा म आफैँ पुगेको हुँ’, थानेश्वरले भने ।’

यो पनि पढ्नुहोस्- छोरीको उपचारका लागि नेपाल आउन लागेकी राधिकाको यूएईमा रहस्यमय मृत्यु, घटनालगत्तै पति सम्पर्कविहीन

बुधबार बिहान प्रहरीले रिहा गरेपछि नेपाल प्रेससँग कुरा गर्दै घिमिरेले घटनाबारे थाहा भएसम्मको विवरण प्रहरीलाई सुनाएको बताए ।

थानेश्वरले राधिकाको हत्या भए/नभएको बारे आफूलाई प्रहरीले केही नभनेको तर उनका श्रीमान् नेत्रप्रसाद कहाँ छ भनेर आफूलाई सोधेको र आफू पहिले नै घटनास्थलबाट डराएर भागेको बताएको उल्लेख गरे । भिनाजु नेत्रप्रसाद पक्राउ भए या भएनन् आफूलाई थाहा नभएको उनले सुनाए ।

‘घटना अघिसम्म आफू दिदी भिनाजुसँगै रमाइलो गरिरहेको थिएँ । दिदी-भिनाजुबीच सामान्य भनाभन हुँदा आफूलाई असहज लागेर उठेर बाथरुम गएँ, निस्किँदा दिदीलाई नदेखेर खोज्ने क्रममा दिदीको शव घरको तल हेर्नै नसकिने अवस्थामा देखेपछि म भागेँ ‘, उनले भने ।

राधिका रोजगारीका लागि १३ महिना अघि यूएई आइपुगेकी हुन् । उनको मृत्युपछि पति टीकापुर-७ कैलालीका नेत्रप्रसाद न्यौपाने फरार छन् । उनी अजमानकै एउटा मोटरपार्ट्ससम्बन्धी कम्पनीमा कार्यरत् थिए ।

राधिकाको माइतीले घटना शंकास्पद मानेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *