‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले माग्ने बुढालाई दिए जन्मदिनको शुभकामना – Nepal Press

‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले माग्ने बुढालाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आज आफ्नो जन्मदिन मनाउँदैछन् । माग्ने बुढालाई बिहानैदेखि जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ ।

यसैबीच अभिनेता दीपकराज गिरीले पनि माग्ने बुढालाई केही रोचक ढंगले जन्मदिनको शुभकामना दिएका छन् । आफूहरुको दोस्ती सम्झिँदै माग्ने बुढासँगका केही किस्सा दीपकले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

‘ये दोस्ती हम नहीं तोडेंगे’ भन्दै दीपकले लेखेका छन्,

‘स्कुल पढ्दै थिएँ । त्यतिबेला हिन्दी फिल्म ‘शोले’ को चर्चा खुब सुनिन्थ्यो । धर्मेन्द्रको फिल्म नेपालमा अघोषित प्रतिबन्ध जस्तै थियो । त्यसैले यो फिल्म हेर्न रक्सौल पुगें । हलबाट निस्कँदा एउटा गीत मुखमै झुन्डियो- ‘ये दोस्ती हम नहीं तोडेंगे’। त्यतिमात्रै होइन, आफूलाई बिरू सम्झेर जय जस्तै साथी भए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । तर, पाइएन । आजकलको स्वार्थी संसारमा साथीको लागि सिक्का टस गर्दै आफूलाई मृत्युको मुखमा पार्ने साथी कहाँ पउनु ? पछि उमेर बढ्दै गयो । महसुस हुन थाल्यो कि ठ्याक्कै जय जस्तै साथी पाउन त म पनि बिरू जस्तै निस्वार्थी हुन जरूरी थियो ।

फिल्मको पर्दामा देखिए जस्तै जय र बिरू नपाए पनि काम गर्दै जाँदा करिब करिब त्यस्तै लाग्ने साथीहरू भेटिँदोरहेछ । विगत ११ वर्षदेखि माग्ने बुढा ‘केदारप्रसाद घिमिरे’ र म ‘हामी’ भएर निरन्तर काम गरिरहेका छौं । हामी एक-अर्काका धेरै कमी-कमजोरीहरू र स्वार्थहरू पनि होलान् । तर, निरन्तर सहकार्य गरिरहेका छौं, अघि बढिरहेका छौं । संयोग पनि कस्तो ? फिल्म हेरेर कल्पना गरेको जय र बिरू आखिर फिल्म निर्माणकै क्रममा भेटियो । मेरो प्रिय भाइ, प्रिय साथी केदार, जन्मदिनको हार्दिक शुभकामना । ये दोस्ती हम नही तोडेंगे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *