२०४६ कि दुर्गा, २०६२ कि दुर्गा, अहिलेकी दुर्गा – Nepal Press

२०४६ कि दुर्गा, २०६२ कि दुर्गा, अहिलेकी दुर्गा

काठमाडाैं । आजभन्दा ठीक ३४ वर्ष पहिलाको चैत २६ गते एउटा ऐतिहासिक दिन थियो, जुन दिन जनताका सामुन्ने राजतन्त्र झुक्न बाध्य भयो । झण्डै दुई महिनासम्म चलेको आन्दोलनपछि लच्किएर राजा वीरेन्द्रले प्रजातन्त्र पुनःस्थापना गरेका थिए ।

रातको ११ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरेर प्रजातन्त्र घोषणा गरिएपछि देशभरि उत्सव मनाइएको थियो । सडकमा आगो बालेर आन्दोलन गरिरहेका जनताले २९ वर्षे पञ्चायती व्यवस्था ढलेपछि उत्सव मनाएका थिए ।

चैत २७ गते देशभर विजयोत्सव मनाइयो । काठमाडौंको खुलामञ्चमा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए । लाखौं जनता खुलामञ्चमा ओइरिएका थिए । त्यही लाखौंको भीडमा एक थिइन् २२ वर्षीया दुर्गा थापा !

भिडमा ‘इन्कलाव जिन्दावाद’, ‘प्रजातन्त्र ल्याउँछौं ल्याउँछौं’ भनेर नारा लगाइरहेकी दुर्गा अचानक उत्साहित भइन् । भीडबाट फुत्त उफ्रिएर खुसी मनाइन् । यही क्षण क्यामेराको लेन्स तेर्साएर भीडलाई खिचिरहेका फोटो पत्रकार मीनरत्न बज्राचार्यको क्यामेरा दुर्गातिर सोझियो ।
मीनरत्नले दुईचार स्न्याप लिए ।

अन्ततः त्यही फोटो २०४६ सालको जानआन्दोलनमा जनताको शक्ति देखाउने आइकोनिक फोटो बन्न पुग्यो । मीनरत्नको फोटोग्राफी करियरको टर्निङ बनेको त्यो फोटोकी दुर्गा अहिले मनोसामाजिक बन्दी अस्पताल नख्खु कारागारमा सरकारी अधिकृतको रुपमा काम गरिरहेकी छन् ।

२०४६ सालको त्यो आन्दोलनताका दुर्गा पद्मकन्यामा आईए पढिरहेकी थिइन् । सानैदेखि आफ्नो विचार प्रष्टसँग राख्ने दुर्गा एसएलसीमा थर्ड डिभिजनमा पास भएपछि पद्मकन्या छिरेकी थिइन् । दुर्गा सम्झिन्छिन्, ‘पद्मकन्यामा साडी चोलो लगाएर पढ्न जाँदा गौरव र शान नै अर्कै हुन्थ्यो ।’

क्याम्पसमा एक दिन दुर्गाले स्ववियु भनेर लेखिएको देखिन् ।

तर, उनलाई स्ववियुबारे केही थाहा थिएन । स्ववियुले गर्ने कामबारे पनि थाहा थिएन । बुझ्दै जाँदा स्ववियुले विद्यार्थीको पिर मर्का सम्बोधन गर्छ भन्ने थाहा पाइन् । दुर्गाको कलेज दिउँसोको थियो । जागिर पनि गर्नुपर्ने बाध्यता भएकाले उनलाई बिहानको कक्षामा सर्न पाए सजिलो हुन्थ्यो भन्ने लागिरहेको थियो ।

एक दिन एक विद्यार्थी नेतालाई भनिन्, ‘दिदी मेरो पढाइ बिहानीमा सारिदिनुपर्‍याे ।’

दुर्गा सम्झिन्छिन्, ‘उहाँले मेरो पढाइ बिहानमा पनि सारिदिनुभयो । छात्रावृत्ति पनि दिलाइदिनुभयो । छात्रवृत्ति भनेको बानेश्वरबाट बागबजारसम्म आउने जाने खर्च हुन्थ्यो त्यसवेला । यसपछि मैले अलिअलि स्ववियुबारे पनि थाहा पाएँ । कमला पन्त, महालक्ष्मी अर्याल डिना, अञ्जनी श्रेष्ठ, समीता खड्गीलगायत नेताहरुसँग परिचय भयो । म त्यहीबाट नेविसंघमा आबद्ध पनि भएँ ।’

माघ ५ गते गणेशमान सिंहको घर चाक्सीबारीमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर आन्दोलनको घोषणा गरिएको थियो । त्यो घोषणाका लागि दुर्गालगायत धेरै विद्यार्थी स्वयंसेवक बनेर गए । ठाउँ सफा गर्ने, विदेशी पाहुना बस्ने ठाउँ मिलाउनेलगायत काममा सक्रिय भइन् । फागुन ७ गतेबाट आन्दोलन सुरु भयो ।

‘त्यतिवेला म करारमा एउटा प्रोजेक्टमा काम गर्थें । पञ्चायती सत्ताले प्रजातन्त्रवादीहरुलाई सघाउँछन् भनेर टुँडिखेलमा हाजिर गर्न जानुपर्ने नियम ल्याएको थियो । आन्दोलनकारीको मूलबाटो भने थापाथली थियो । अनि हामी टुँडिखेल नरोजी थापाथलीतिर लाग्यौं’, दुर्गा भन्छिन्, ‘त्यहाँ पुग्दा ढुंगामुढा भयो । प्रहरीद्वारा लाठी प्रहार भयो । हामी ठाउँ ठाउँमा पर्चा टाँस्दै हिँड्थ्यौं । ब्ल्याकआउट गर्थ्याैं । नाराजुलुस गर्थ्याैं । कोणसभा गर्थ्याै‌ ।’

२०४६ साल चैत २४ गतेबाट आन्दोलनलाई निस्तेज पार्न पञ्चायती सरकारले कर्फ्यु जारी गर्‍यो ।

यसवेलासम्म दुर्गा एउटा मोर्चामा थिइन् । दुर्गाको मोर्चा नाराजुलुस लगाउँदै दरबारमार्गको महेन्द्र सालिकसम्म पुग्यो । महेन्द्र सालिकमा प्रजातन्त्रको सिम्बोल राख्न केही मान्छे चढे । त्यहीवेला गोली चल्यो ।

यसवेला पद्मकन्या क्याम्पसको पर्खाल चढेर प्रहरीले गुलेली हानेकाले रामकुमारी झाँक्री चर्चामा थिइन् । दुर्गा भने प्रहरीलाई ढुंगा हान्दै आन्दोलन गरिरहेकी थिइन् । महेन्द्र सालिकमा पनि त्यही क्रम दोहोरियो ।

तर, बन्दुकको अगाडि ढुंगाको के काम ! जसोतसो भागेर दुर्गालगायत केही आन्दोलनकारीले ज्यान जोगाए । घण्टाघरको पछाडिबाट भित्रतिर मानन्धर थरका व्यक्तिको घरभित्र लुके । कतिलाई गोली लाग्यो, कतिलाई वीर अस्पताल लगियो, कतिलाई के गरियो, दुर्गालाई जानकारी नै थिएन ।

‘एकैछिनमा सन्नाटा छाउँथ्यो । एकैछिनमा आन्दोलन जाग्थ्यो । प्रहरीले पक्रेर कहिले महेन्द्र पुलिस क्लब लान्थ्यो, कहिले सिंहदरबार त कहिले जनसेवामा लिएर जान्थ्यो’, दुर्गा आन्दोलनको समय सम्झिन्छिन्, ‘प्रहरीहरुको खाकी रङको ड्रेस हुन्थ्यो । आन्दोलनकारीलाई समाउन त्यसवेलाको अञ्चलाधीशको कार्यालय अगाडि रानीपोखरीमा मालबाहक ट्रकहरु राखिन्थे । हाम्रो काम चाहिँ ट्रक नगुडोस् भनेर पांग्राको हावा फुस्काउने थियो । एउटा ट्रकको हावा फुस्काउँदै थिए, हावा फुस्कँदा आवाज आउँदो रहेछ, अनि पुलिसले झण्डै मारेन नि !’

दुर्गाको घर बानेश्वरमा थियो । बेलुका भयो, छोरी बेपत्ता ! बिहान भयो, यसो दायाँबायाँ गरेर फेरि बेपत्ता । जुलुस कहाँ छ, त्यही पुग्थिन् ।

प्रहरीलाई ढुंगाले हानेर वकिटकी खोस्ने आन्दोलनकारीको मुख्य योजना हुन्थ्यो । कतिले खोस्न सक्थे, कतिले सक्दैन थिए ।

दुर्गा सुनाउँछिन्, ‘वकिटकीमा एफएम सुनिन्थ्यो । तर, खोस्न साह्रै गाह्रो । पुलिसले कति पिट्थ्यो । भुताल्थ्यो ।’

दुर्गा मोर्चा मोर्चामा हिँड्थिन् । नेताहरुलाई भाषण गराउन कहिले वसन्तपुर पुर्‍याउनुपर्ने, कहिले नक्साल पुर्‍याउनुपर्ने । यसका लागि तीनचार जना अगाडि हुन्थे, बीचमा नेता र दुईतीन जना पछाडि हुन्थे । सबैको दुरी १०-१५ मिटरमा रहेर नेताहरुको स्कर्टिङ हुन्थ्यो ।

‘पुलिसबाट छल्दै उहाँहरुलाई कोणसभास्थलमा लानुपर्थ्यो । उहाँहरुले बोलिसकेपछि अर्को ठाउँमा लानुपर्थ्यो । उहाँहरुले तिमीहरु नेपालको नक्सा हौ, सुरक्षा कवच हौ भनेर हामीलाई हौस्याउनुहुन्थ्यो’, दुर्गा सम्झिन्छिन् ।

चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो ।

त्यो क्षण दुर्गाको आँखामा अझै पनि झलझली छ । दुर्गालगायत ‘प्रजातन्त्र आयो’ भनेर चिच्याउँदै सडकमा हिँडे । दुर्गाले चिनेका एक जना वामपन्थी युवक उत्साहित भएर ‘आयो आयो’ मात्रै भनेर उफ्रिएर हिँड्डा खुट्टा नै भाँचिएको थियो । भन्छिन्, ‘उसले आयो आयो मात्रै भनिरह्यो, प्रजातन्त्र आयो भन्न पनि नभ्याएको खुसी थियो त्यो । त्यस्तो दुःख गरेर ल्याएको हो प्रजातन्त्र ।’

भोलिपल्ट २७ गते दुर्गाको टोली बानेश्वरबाट खुलामञ्चका लागि हिँड्यो । दुर्गालाई बानेश्वर प्रहरी वृत्तले पक्राउ पुर्जी पनि काटेको थियो । ‘तर त्यस दिन आँट के आयो भने अब यसले समाउँदैन भन्ने भयो, अनि सबैले देख्ने गरी हिँडेर रत्नपार्क हुँदै खुलामञ्च पुगें’, दुर्गा भन्छिन् ।

खुलामञ्चमा लाखौं जनता भेला भएका थिए । सबै नेताले सम्बोधन गरे ।

दुर्गा फोटोको प्रसंग कोट्याउँछिन्, ‘हामी इन्कलाब जिन्दावाद, प्रजातन्त्र ल्याउँछौं ल्याउँछौं भनेर नारा लगाइरहेका थियौं । कतिवेला म उत्साहित भएर उफ्रिएछु । त्यो वेला मीनरत्नले फोटो खिच्नुभएको रहेछ । तर, मलाई चाहिँ फोटो खिचिएको थाहा थिएन । पछि मात्रै थाहा पाएकी हुँ ।’

२०६२/६३ सालको दोस्रो जनआन्दोलनमा पनि मीनरत्नले दुर्गाको फोटो खिच्न भ्याए ।

त्यसवेला दुर्गा सरकारी जागिरे भइसकेकी थिइन् । तर, आन्दोलनमा होमिइन् । रामशरण महतले सम्हालेको महाराजगञ्ज क्षेत्रको मोर्चामा थिइन् उनी । बानेश्वरमा कर्मचारी युनियनले गरेको सत्याग्रहमा सरिक भइन् ।

दुर्गाको अनुभवले भन्छ, ‘उपत्यका बाहिरका मान्छे त सचेत हुने नै भए । काठमाडौं, ललितपुर र भक्तपुरका लोकल मान्छेले इन्फरमेसन पनि अलि पछाडि पाउँछन् । तर, उनीहरु उठे भने यहाँ कसैको केही लाग्दैन । २०६२/६३ मा पनि त्यस्तै भएको थियो ।’

त्यही वेला आफूले थापाथलीमा पुनर्जीवनसमेत पाएको बताउँछिन् ।

बानेश्वरबाट हिँडेको आन्दोलन थापाथली पुगेको थियो । दुर्गाले कलेजी रङको कुर्ता लगाएकी थिइन् । त्यसवेला उनलाई एक पत्रकारले सोधे, ‘तपाई दुर्गा थापा होइन ?’ दुर्गाले ‘हो’ भन्दै उठ्दाखेरि उनको कम्मर छेवैबाट गोली गयो ।

‘उहाँलाई अहिले चिन्दिनँ । सायद जनआस्थाको पत्रकार हुनुपर्छ । उहाँ धन्यवादको पात्र हो । म उठेकीले गर्दा बाँचेकी थिएँ’, दुर्गा भन्छिन् ।

अनि अहिले ३४ वर्षअघिको त्यो फोटो हेर्दा चाहिँ दुर्गालाई कस्तो महसुस हुन्छ ?

दुर्गा भन्छिन्, ‘फोटो हेर्दा लाज लाग्छ । त्यतिवेला पनि लाग्थ्यो, अहिले पनि लाग्छ । खै किन हो किन, मान्छेहरुले ‘त्यो फोटोको मान्छे तपाईं नै हो’ भनेर सोध्दा हुनसक्छ भन्दिन्छु ।’

यसरी खिचेका थिए मीनरत्नले दुर्गाको त्यो आइकोनिक फोटो

फोटो पत्रकार मीनरत्न भन्छन्ः

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि झण्डै दुई महिना आन्दोलन भएको थियो । चैत २४ गतेदेखि कर्फ्यु लागेको थियो । तर, चैत २६ गते राजा वीरेन्द्रले कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनालीलाई बोलाएर आफू संवैधानिक राजतन्त्रमा रहने बताए ।

राजाले २६ गते राति नै नेपाल टेलिभिजनबाट सम्बोधन गरेका थिए । त्यही रातिबाट छिटफुट विजयोत्सव मनाउने क्रम सुरु भएको थियो । २७ गते भने विशाल र्‍याली सुरु भयो । खुलामञ्चमा विभिन्न नेताहरुले भाषण गर्ने सिलसिला चल्यो । तर, मेरो ध्यान भने मास कभरेज गर्नेमा केन्द्रित थियो ।

मासलाई कभरेज गर्ने क्रममा पश्चिमदेखि उत्तर–पूर्वको टुक्रा जोड्छु भनेर फोटो खिच्दै थिएँ । एक जना महिला भीडबाट उफ्रेर प्रजातन्त्रको उदय वा विजय त्यस्तै नारा लगाउनुभयो । त्यो नारा लगाएको वेला तीनचार स्न्याप लिएँ । त्यसपछि उहाँलाई भीडले बसायो । अनि कोही पनि उफ्रेनन् । लक्कीली त्यो फोटो मेरो क्यामेरामा कैद भयो ।

त्यसवेला मलाई यो फोटो यति ऐतिहासिक हुन्छ भन्ने थिएन । मुमेन्ट क्याप्चर गर्ने ध्याउन्नमा खिचेको थिएँ । त्यसवेलाका पत्रकार, सम्पादकहरुले घरमै फोटो लिन आउनुभयो ।

हरिहर विरही आफैं आएर फोटो छान्नुभयो । उहाँले ‘गणेशमान, मंगलादेवी, सहाना ठीक छ’ भनेर छान्नुभयो । तर, सँगै एउटा सेतो अनुहार टिलिक्क टल्केको, तेल दलेर मजाको ह्याण्डसम नेताको फोटो चाहिँ यतिकै छाड्नुभयो । भोलिपल्ट त्यही फोटो फेरि लिन आउनुभयो । त्यो फोटो झलनाथ खनालको थियो । किनभने त्यही राति अन्तरिम सरकार गठन भयो । उहाँ मन्त्री हुनुभएको थियो ।

अलिपछि २०४८ सालमा मानव अधिकार सर्वेक्षण मञ्चको टीम फोटो हेर्न आए । फोटो कोठाभरि छरपस्ट थिए । टीममा जर्मन पत्रकार थोमस बंकर भन्ने पनि आएका थिए । उनले यो फोटो देख्नासाथ ‘वाउ, दिस इज ह्वाट एक्जाक्टली वी आर लुकिङ फर मीन’ भनेर छान्नुभयो । यही फोटो कभरका लागि ठीक छ भनेर लिएर जानुभयो ।

पछि डन अफ डेमोक्रेसी भन्ने किताबमा यो कभर फोटो छापियो ।

पछि सन् १९९३ को चैत महिनामा कान्तिपुरमा यही फोटो छापियो । त्यो दिन मच्छिन्द्र वहालमा रक्तदान कार्यक्रम थियो । नेता गणेशमान र निस्कँदै थियो, उहाँ महिला (दुर्गा केसी) पो फटाफट आएर गणेशमानलाई ‘जय नेपाल दाइ’ भन्दै आइन् । त्यसवेला उहाँ पीके क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुँदो रहेछ । पछि कांग्रेसको तरुण दल, ट्रेड युनियनतिर पनि छिर्नुभयो क्यार ।

पछि २०६२÷६३ सालको जनआन्दोलनमा पनि उहाँको फलोअप भयो । एक जना भाइले मेरो जीवनमाथि डकुमेन्ट्री बनाइरहेका थिए । म मिनिबसमा बसेर आन्दोलनको दृश्य खिचिरहेको थिएँ । माथिबाट हेर्दा उहाँलाई ठ्याक्क देखें । देख्नासाथ मिनिबसबाट झरेर उहाँलाई पछ्याउँदै गएँ । बानेश्वर नपुग्दै उहाँको मुखको मुमेन्ट खिचें ।

२०४६ सालमा खिचेको मुखको मुमेन्ट र २०६२/६३ मा खिचेको मुखको मुमेन्ट मिलेपछि सम्पादक कुन्द दीक्षितलाई फोन गरेर यसबारे भनें । पछि फोटो डाउनलोड गरेर लगेपछि उहाँले भन्नुभयो, ‘थ्यांक यु मीन, यु सेभ द आवर्स एण्ड आवर्स टाइम टु मेक द कभर स्टोरी ।’


प्रतिक्रिया

3 thoughts on “२०४६ कि दुर्गा, २०६२ कि दुर्गा, अहिलेकी दुर्गा

  1. अनि के लोक्तियो ?
    – प्रजातन्त्रको लागी अरे ?
    – आर्थिक र बौद्धिक क्रान्ति पछि भयेको परिवर्तन मात्र सार्थक र फलदायी हुन्छ
    – ती पत्रकार र मानव अधिकारवादी भनाउदा पृथ्विका भारहरु अहिले कुन दुलामा लुकेका छ्न?

  2. अनि के लोक्तियो ?
    – प्रजातन्त्रको लागी अरे ?
    – आर्थिक र बौद्धिक क्रान्ति पछि भयेको परिवर्तन मात्र सार्थक र फलदायी हुन्छ
    – ती पत्रकार र मानव अधिकारवादी भनाउदा पृथ्विका भारहरु अहिले कुन दुलामा लुकेका छ्न?
    – कुशासनले सिङ्गो एउटा पुस्ता आशै आशमा तड्पी तडपिकन अस्ताउनलाग्दा के घण्टा हेरेर बसेका छन?

  3. कथित प्रजातन्त्र वा षडयन्त्रको उपज गणतन्त्रले नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान वा रुसी सेनामा भर्ना हुन किन बाध्य पार्यो त?!!😡😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर