सुहाङकाे उम्मेदवारी दर्ता- प्रस्तावक रवीन्द्र र समर्थक धीरेन्द्र (भिडिओ) – Nepal Press

सुहाङकाे उम्मेदवारी दर्ता- प्रस्तावक रवीन्द्र र समर्थक धीरेन्द्र (भिडिओ)

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् ।

एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकांक्षी थिए । यस्तै धीरेन्द्र माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।

सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका छन् । उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डाकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् ।

यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा गौतम नेपाली कांग्रेस (बीपी)बाट इलाम- २ मै उम्मेदवारी दिएका थिए । उनले ५४ मत प्राप्त गरेका थिए ।

पहिचानवादीका तर्फबाट डाकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।

थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । त्यस्तै एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । त्यस्तै नेपाली कांग्रेसले पनि मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर