सरकारबाट हुत्तिएपछि सिताङ्ग बनेको कांग्रेसभित्र आन्तरिक एकता सुदृढीकरणकाे दबाब – Nepal Press

सरकारबाट हुत्तिएपछि सिताङ्ग बनेको कांग्रेसभित्र आन्तरिक एकता सुदृढीकरणकाे दबाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाएपछि बदला लिन वैकल्पिक गठबन्धन बनाउने प्रयास तत्काल असम्भव भएपछि नेपाली कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । सदनमा खरो रुपमा प्रस्तुत हुँदै पार्टी निर्माणको कामलाई पनि सँगै अघि बढाउनेगरी कांग्रेस अघि बढेको हो ।

गठबन्धन हुँदा दुई थरि धारणा राख्दै आएको नेताहरु टुटेपछि पनि केही समयसम्म विभाजित देखिए । कांग्रेसले गठबन्धन टुटाएर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो ।

तर, अहिले कांग्रेसको आन्तरिक एकता बलियो भएको विश्लेषण हुन थालेको छ । जुन कुरा प्रधानमन्त्री प्रचण्डले सदनमा पनि भनेका थिए, ‘कांग्रेसभित्रको एकताको कारक बन्न पाउँदा खुसी छु ।’

कांग्रेसले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै रोकिएको अभियान अगाडि बढाउने तयारी गरेको छ । त्यसका लागि शीर्ष नेताहरुले आन्तरिक तयारी थालेका छन् । गठबन्धन टुट्नुअघि महामन्त्री गगन थापासहित युवा नेताहरु सभापति देउवाबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको प्रयासमा थिए ।

तर, गठबन्धन भत्किएपछि कांग्रेस हालै सम्पन्न महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै १५औं महाधिवेशन केन्द्रित भएको छ । महासमिति बैठकबाट प्राप्त सुझाव समेटेर केन्द्रीय समितिले निर्णयको अन्तिम रूप दिँदै पार्टीलाई एकताबद्ध बनाउनेतर्फ शीर्ष नेतृत्व अघि बढेको छ । उनीहरु गठबन्धन टुटेपछि आफूले नेतृत्व गरेको प्रदेश सरकार जोगाउने प्रयासमा पनि एकमत भएका छन् ।

कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘प्रतिपक्षले जनताको आवाजलाई संसदमा मुखरित गर्छ । अब हामीले सरकारमा बसे जस्तो यो गर्छौं भन्न मिल्दैन । सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गर्ने, प्रतिवाद गर्ने । अब पार्टीको संगठन विस्तार र सदृढीकरणमा लाग्छौं । पार्टी कार्यालय संगठन सुदृढ गर्नेतर्फ लाग्छ । सांसदले जनताका सवालहरुलाई सदनमा प्रस्तुत गर्दै खबरदारी गर्छन् ।’

नेता विश्वकर्माले पूर्वसूचित कार्यक्रमलाई अघि बढाइने बताए ।

‘अब समुदायमा कांग्रेस अभियानलाई निरन्तरता दिन्छौं । सदस्यता वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउने कामका लाग्छौं । यसलाई निरन्तरता दिन्छौं’, उनले भने, ‘महासमितिपछि पार्टीको बैठक बसेको छैन । महासमितिको निर्णयलाई परिमार्जनसहित अनुमोदन गरेर पूर्वतयारी गरेका कार्यक्रम अघि बढाउँछौं । कोशी प्रदेश तत्काललाई इलाम- २ को उपनिर्वाचनमा केन्द्रित हुन्छ, अन्य प्रदेश अब पार्टीको काममा लाग्छ ।’

उनले पहिले पनि पार्टीभित्रको एकता कमजोर नभएको बताए ।

‘कांग्रेसको कुनै पनि बैठकमा अहिलेसम्म कुनै पनि समानान्तर प्रस्तावहरु आएका छैनन् । सबै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । कांग्रेस बहुलवादमा विश्वास गर्ने र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्ने पार्टी भएकाले फरक विचार उठ्छन्’, नेता विश्वकर्माले भने, ‘तर, पार्टी एक ढिक्का हुन्छ । विभिन्न किसिमको असन्तुष्टि जाहेर गरेर निर्वाचनमा हुने घात अन्तरघातलाई व्यवस्थापन गर्दै जानुपर्नेछ ।’

केन्द्रीय सदस्य नैनसिंह महर पनि गठबन्धन भत्किनुको दोष प्रचण्डको टाउकोमा मात्रै हालेर पार्टीका पदाधिकारीहरु उम्किन नमिल्ने तर्क गर्छन् ।

उनले भने, ‘गठबन्धन पार्टी पदाधिकारीको सर्वसम्मत निर्णयबाट भएको हो । उहाँहरुले पार्टीलाई जवाफ दिनुपर्छ । त्यसका लागि पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ । राजनीतिक पाटो फेरिएपछिको अवस्थाबारे विमर्श गर्न आवश्यक छ ।’

पार्टीले संसदमा उठाएको विषयमा पनि एउटै धारणा बनाउन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेर छलफल गरेर पार्टीको धारणा र आगामी रोडम्याप तयार गर्न आवश्यक रहेको केन्द्रीय सदस्य महरले बताए ।

उनले भने, ‘अब हामी सत्ताको लुछाचुँडीभन्दा पनि जनतासँग जोडिने माध्यम बनेको छ प्रतिपक्षमा बसेर । पार्टीभित्रका आन्तरिक र सांगठनिक, भ्रातृ संस्थाको अधिवेशन र महाधिवेशनको कुरा छन् । सबै विषयको सबै वडामा संगठनलाई अपडेट गर्नुपर्छ । अबको चुनावमा कांग्रेसको एकल बहुमत ल्याउनेगरी अगाडि बढाउन जरुरी छ । अब सत्ताको पछि लागरे हुँदैन ।’

नेता महरले सत्ता गठबन्धन हावाको महल जस्तै भएकाले जुनसुकै बेला भत्किनसक्ने बताए । पार्टीभित्र पनि आचरण र नैतिकताको विषय हेर्नुपर्ने उनको भनाइ थियो ।

उनले थपे, ‘गठबन्धन भत्किनुलाई कांग्रेसले ठूलो कुराको रुपमा लिनुहँदैन । यो संविधानभित्रै रहेर अर्को गठबन्धन बनेको हो । लोकतन्त्रको सुन्दर पक्ष नै स्वीकारोक्ति हो । त्यो स्वीकानुपर्छ ।’

गठबन्धन भत्किएपछि पार्टीको सबै ध्यान अब संगठन निर्माणमा लगाउनुपर्नेमा नेता गुरुराज घिमिरे जोड दिन्छन् ।

उनले भने, ‘सदन चलेको बेलामा कार्ययोजना बनाएर मुख्य प्रतिपक्ष दलको भूमिका निर्वाह गर्छ नै । पार्टी र पार्टीका भ्रातृ संस्थाहरुलाई सृदृढ बनाउनुपर्छ । आन्तरिक अव्यवस्थालाई हटाएर हामी अगाडि बढ्नुपर्छ । पार्टीलाई सुदृढ बनाउन पार्टी सभापतिसहित शीर्ष नेताहरु बसेर परिस्थितिको वस्तुनिष्ट मूल्यांकन गर्नुपर्छ । पार्टीका आमसाथीहरुको सुझावलाई लिएर हिँड्नुपर्छ ।’

समुदायमा कांग्रेस अभियान र महासमितिको बैठकमा आएका सुझावहरुलाई लिएर पार्टीलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

नेता घिमिरे भन्छन्, ‘पार्टीभित्र आन्तरिक एकता बलियो बनाउनुपर्छ । पार्टीभित्रको एकतामै समस्या छ । नेताहरुबाट नै विभिन्न धारणा आउँछन् । पार्टी सञ्चालन गर्ने विषयमै कुरा मिलिरहेको छैन । पार्टी सभापति केन्द्रित भयो भन्दै पदाधिकारीहरुकै कुरा आइरहेका छन् । पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पहिलो शर्त हो । त्यसका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।’

कांग्रेसले गठबन्धन बनाएर निर्वाचनमा गएपछि सकेसम्म टिकाउनुपर्ने उनको भनाइ थियो ।

‘त्यसमा प्रचण्डलाई मात्रै दोष दिएर हुँदैन । हाम्रो पनि कमीकमजोरी छन् । यो गठबन्धनलाई विश्वासिलो जगमा उठाएर प्रचण्डसँग पनि सघन रुपमा कुराकानी गरेर आधार बलियो बनाएर गठबन्धनलाई पाँचै वर्ष निरन्तरता दिनुपर्थ्यो, त्यो नसकेकै हौं । अब भत्किसकेपछि रुवाबासी गरेर हुँदैन’, नेता घिमिरेले भने ।

उनले अब पार्टीलाई आफ्नै कार्ययोजनासहित अघि बढाउने मौका मिलेको उल्लेख गरे ।

नेता घिमिरेले भने, ‘गठबन्धनमा हुँदा माओवादीले के भन्छ, अरुले के भन्छन् भनेर हामी अलमलिरहेका थियौं । अब त्यो छैन । त्यसैले अब पार्टीलाई आफ्नै मार्गचित्रमा अगाडि बढाउने मौका मिलेको छ । त्यसलाई सदुपयोग गरेर अघि बढ्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *