योजना आयोगमा एमालेको कोटाबाट सिंह र महतको कमब्याक, रास्वपाबाट अरनिकोको इन्ट्री – Nepal Press

योजना आयोगमा एमालेको कोटाबाट सिंह र महतको कमब्याक, रास्वपाबाट अरनिकोको इन्ट्री

काठमाडौं । नेपाल सरकारको आर्थिक सल्लाहकारका रूपमा रहेको राष्ट्रिय योजना आयोगमा सरकारले आज चार जना सदस्यको नियुक्ति गरेको छ । गठबन्धन फेरिएसँगै यसअघिका चार जना सदस्यहरूले राजीनामा दिएपछि ती पद रिक्त थिए ।

आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ माओवादीको कोटाबाट नियुक्त भएका हुन् । त्यसैले गठबन्धन फेरिए पनि उनको पद सकुशल छ । कांग्रेस र जनमतको कोटाबाट सदस्य बनेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले गत २ चैतमा राजीनामा दिएका थिए ।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रा. डा. संगीता सिंह, डा. कुशेन्द्र बहादुर महत (जुम्ला), डा. अरनिको पाँडे (ललितपुर) प्रा. शिवराज अधिकारी (पाल्पा) लाई योजना आयोग सदस्यमा नियुक्त गरेको छ । उनीहरूमध्ये डा. सिंह र महत एमाले निकट हुन् भने पाँडे रास्वपाका हुन् ।

प्रा.डा. संगीता सिंह सहरी योजनामा प्राध्यापक र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ इन्स्टिच्युटको विपद् अध्ययन केन्द्रका उपनिर्देशक छिन् । उनी इन्जिनियरिङ अध्ययन संस्थानको प्रतिनिधित्व गर्ने नेपाल राष्ट्रिय शहरी मञ्चकी संयोजक पनि हुन् ।

उनले शहरी योजनामा पीएचडी, जर्मनीको स्टटगार्ट विश्वविद्यालयबाट इन्फ्रास्ट्रक्चरमा स्नातकोत्तर र सिभिल इन्जिनियरिङमा स्नातक उपाधि हासिल गरेकी छिन ।

पाटन कलेजमा करिब २० वर्ष अध्यापन गराएका प्रा. डा. शिवराज अधिकारी पछिल्लो समय त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रहेका छन् । डा. कुशेन्द्रबहादुर महत कर्णाली प्रदेश सरकारले गठन गरेको कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूहमा परेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालय र डा. केएन मोदी युनिभर्सिटी नेवाइ राजस्थान भारतबाट अध्ययन गरेका हुन् । उनी गोदावरी फरेस्ट होटलका अध्यक्ष, टेक्नोलोजी अप्लाइड सेन्टर (ट्याक) नेपालको प्रमुख सल्लाहकार पनि हुन् । यस्तै पिएचडी सेन्टरका सञ्चालक सदस्य र शेर लक्ष्मी ममोरियल च्यारिटेवल ट्रस्टको अध्यक्ष पनि हुन् ।

अघिल्लो वर्ष एमाले र माओवादीबीच गठबन्धन हुँदा एमालेको कोटाबाट डा. कुसेन्द्रबहादुर महत र प्रा. डा. संगीता सिंह सदस्य नियुक्त भएका थिए । तर छोटो समयमै एमाले सरकारबाट बाहिरिए पनि उनीहरूले पनि राजीनामा दिनुपर्‍यो । अहिले उनीहरूले फेरि कमब्याक गरेका हुन् ।

डा. अरनिको पाँडे भने रास्वपाका केन्द्रीय सदस्य छन् । उनी वातावरणविद् हुन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाँडेले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) बाट विद्यावारिधि गरेका छन् ।

रास्वपाको घोषणापत्र निर्माणमा पनि संलग्न रहेका पाँडेले गत वर्ष भएको संसदीय चुनावमा ललितपुर ३ बाट लड्ने घोषणा गरेका थिए । तर पछि आफैँ ब्याक भए । उनीसँग यूएनडीपी, डब्लुएचओ, यूएनईपी, लगायतका अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेको अनुभव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर