श्रममन्त्री अर्यालको निर्देशन- विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको तथ्यांक उपलब्ध गराउनू – Nepal Press

श्रममन्त्री अर्यालको निर्देशन- विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको तथ्यांक उपलब्ध गराउनू

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएक छन् ।

गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको समेत तथ्यांक उपलब्ध गराउन मन्त्री अर्यालले वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएका छन् ।

वैदेशिक रोजगार बोर्डसँग सोमबार भएको छलफलमा उनले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताए । श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन उनले निर्देशन दिए ।

सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलनपछि उद्धार तथा समस्या समाधानको योजना बनाइने उनले बताए ।

उनले भने, ‘विदेशी अस्पतालमा रहेका श्रमिकलाई नेपालमै उपचार गरुने व्यवस्था मिलाइनेछ । बन्दीगृहमा रहेका श्रमिकलाई कानूनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौं । विदेशमा रोकिएका शव पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिनेछ ।’

मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बीमा सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए ।

उनले भने, ‘विदेशी मुलुकले आप्रवासी श्रमिकलाई बीमा सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुनसक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट वञ्चित भएको सुनेको छु । यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बौं रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु ।’

छलफलमा श्रम सचिव केवलप्रसाद भण्डारीले बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन आग्रह गरे ।

मन्त्री अर्यालले सोमबार नेपालका श्रम गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको विषयमा भर्चुअल छलफलसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर