वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति एक वर्षमा ३ खर्ब रुपैयाँले बढ्यो – Nepal Press

वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति एक वर्षमा ३ खर्ब रुपैयाँले बढ्यो

काठमाडौँ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे २४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले गरेको एउटा सर्वेक्षणले वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेको देखाएको हो ।

२०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक सम्पत्ति रहेको थियो । त्यसको एक वर्षमा (२०८० असार मसान्त) २४.५ प्रतिशतले बढेर १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको विदेशी बैंकमा बचत हुने भएकाले उनीहरूको सम्पत्ति बढेको देखिने बताए । विशेष गरी विदेशी मुद्रा, एलसी खोल्नुपर्ने रकम लगायत विदेशी बैंकमा हुने गरेको छ ।

केन्द्रीय बैंक, निक्षेप सङ्कलन गर्ने बैंक तथा वित्तीय संस्थाहरू (क, ख र ग वर्ग) र गैर–बैंकिङ वित्तीय संस्थाको वासलातका आधारमा मौद्रिक र वित्तीय तथ्याङ्क म्यानुअल र कम्पाइलेशन गाइड, २०१६, आइएमएफ अनुसार यस्ता संस्था बीचको कारोबारलाई निटिङ गरी एकीकृत रूपमा तयार पारिन्छ ।

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको वासलातका आधारमा बैङ्क तथा वित्तीय संस्था सर्वेक्षण तयार गरी प्रकाशन गर्दै आइरहेको छ ।

अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति भने ऋणात्मक छ । २०७९ असार मसान्त १ अर्ब ७० करोडले ऋणात्मक रहेको वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ । अन्य वित्तीय संस्थाको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १ अर्ब १८ करोड र २०७७ असार मसान्तमा २ अर्ब १ करोडले ऋणात्मक रहेको थियो ।

अन्य वित्तीय संस्थाहरूमा बचत परिचालन गर्ने बीमा कम्पनीहरू, कर्मचारी संचयकोष, नागरिक लगानी कोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र लघुवित्त वित्तीय संस्थाको वासलातका आधारमा अन्य वित्तीय संस्था सर्वेक्षण गरिँदै आएको केन्द्रिय बैंकले जनाएको छ । तर अन्य वित्तीय संस्थाको भने विदेशमा सम्पत्ति नहुने बरु उनीहरुले विदेशी बैंकबाट केही ऋण ल्याउने गरेकाले उनीहरुको वैदेशिक सम्पत्ति ऋणात्मक भएको श्रेष्ठले बताए ।

यस्तै वित्तीय क्षेत्रको आन्तरिक दाबी अर्थात् आन्तरिक उठाउनुपर्ने रकम २०७९ असार मसान्तमा ६३ खर्ब ५ अर्ब ८१ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भएर २०८० असार मसान्तमा ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रहेको थियो ।

वित्तीय क्षेत्रले नेपाल सरकारबाट माथिको उठाउनु पर्ने रकम (खुद दाबी) ३५.८ प्रतिशतले वृद्धि भएर २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ । २०७९ असार मसान्तमा यस्तो दाबी ७ खर्ब ५३ अर्ब २८ करोड रहेको थियो । वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५ खर्ब ९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब २६ करोड रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर