लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्क गर्न आव्हान – Nepal Press

लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्क गर्न आव्हान

काठमाडौं । ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ता तथा ऋणीलाई सम्पर्कमा आउन भनेको हो । लालीगुराँसलाई फागुन २९ गते समस्याग्रस्त घोषणा गरिएको थियो । सो पश्चात् उक्त सहकारीको सम्पत्ति तथा दायित्वको भुक्तानी कार्य सम्बन्धीको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई दिइएको हो ।

कर्मचारी तथा सञ्चालकलाई उक्त सहकारीको कागजात पेश गर्न कार्यालयले भनेको छ । यस्तै ऋणीलाई पनि कार्यालयमा आएर ऋण चुक्ता गर्न र बचतकर्तालाई बचत फिर्ताको आवेदन माग भए पनि आवेदन दिई बचत फिर्ता लिन पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले भनेको छ ।

सहकारीले जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर सहकारी विभागले १५ माघमा स्पष्टीकरण सोधेको थियो ।

तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो ।

मन्त्रालयले फागुन २९ गते समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई आवश्यक काम कारबाहीको जिम्मा दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर