नेपाललाई देउवाको आग्रह- हतारमा सरकारमा नजानुस्, हामी चार दल मिलौं – Nepal Press

नेपाललाई देउवाको आग्रह- हतारमा सरकारमा नजानुस्, हामी चार दल मिलौं

देउवाले भने- प्रचण्डले धोका दिए यार, नेपालले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसत्तासहयात्री दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट धोका पाएको गुनासो गरेका छन् । उनले माओवादीले कित्ता फेरे पनि पूर्वगठवन्धनका अन्य चार दल ‘मिलेर जानुपर्ने’ बताए ।

आज आफ्नी पत्नी आरजुलाई पनि लिएर देउवा नेपाल निवासमा पुगेका थिए । भेटवार्तामा देउवासँग कांगे्रस नेता रमेश लेखक सहभागी थिए भने नेकपा एसबाट प्रवेश हमाल, गंगालाल तुलाधारलगायतका नेताहरू बसेका थिए । स्रोतकाअनुसार भेटको सुरूमा देउवाले प्रचण्डको विषयमा लामै गुनासो गरे ।

‘प्रचण्ड विश्वासयोग्य मान्छे होइन रहेछन्, नराम्ररी धोका दिए यार,’ देउवाले भने, ‘हामी सबैलाई गुमराहमा राखेर धोकाधडी गरे ।’

देउवाको भनाइमा नेपालले पनि समर्थन जनाएका थिए । यस विषयमा आफूले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरिसकेको उनले सुनाए ।

त्यसपछि देउवाले माओवादीले गठवन्धन तोडे पनि पूर्वगठबन्धनका अन्य दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले सीधै नयाँ गठवन्धनको प्रस्ताव भने नराखेको स्रोतको भनाइ छ । उनले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिए ।

‘प्रचण्डले जे मन लाग्यो त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाउँ । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस्,’ उनले भने ।

यसमा नेपालले ठोस जवाफ दिएनन् । उनले आज पार्टी सचिवालयको वैठक बोलाएको र त्यसमा छलफल हुने बताए ।

‘उताबाट प्रस्ताव आएको छ । तपाईंको कुराप्रति पनि म सकारात्मक नै छु । अब पार्टी बैठकले जे निर्णय लिन्छ त्यही हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकपछि कांग्रेस नेता रमेश लेखकले छलफल सकारात्मक भएको र यसलाई निरन्तरता दिइने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर