मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, २ बजेका लागि प्रदेशसभा बैठक डाकियो – Nepal Press

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, २ बजेका लागि प्रदेशसभा बैठक डाकियो

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आइतबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका निमित्त सचिव अरूण कुमार झाले सूचना जारी गरेका छन् ।

जसपा संसदीय दलका नेता यादव सुरुमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकार छाड्यो र कांग्रेस सरकारमा सहभागी भयो । एमाले सरकार छाडेपछि मुख्यमन्त्री यादव दोस्रो पटक विश्वासको मत लिएका थिए ।

आज उनी तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपछि उनलाई पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

पहिलो र दोस्रो पटक पुरा सदनले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । कांग्रेस र एमाले प्रतिपक्षमा रहेका बेला पनि उनी विश्वासको मत पाएका थिए ।

मधेश प्रदेशमा १०७ सांसद छन् । स्रोतका अनुसार सबभन्दा ठूलो दल एमालेले अब मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बुझिएको छ । एमालेका एक सांसदले विश्वासको मत दिने/नदिने अहिले भन्न नसकिने बताए ।

मुख्यमन्त्री यादवको कार्यशैलीले सत्ता गठबन्धनकै दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका सांसदहरू असन्तुष्ट छन् । तर गठबन्धनका केन्द्रीय नेताहरूको दबाबमा मुख्यमन्त्री यादवलाई सत्तारुढ सबै दलले विश्वासको मत दिने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर