मोहीको ब्रान्डिङ सुरु, प्रतिलिटर ५० रुपैयाँ – Nepal Press

मोहीको ब्रान्डिङ सुरु, प्रतिलिटर ५० रुपैयाँ

काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरीले मोहीको ब्रान्डिङ सुरु भएको छ । कपिलवस्तुमा बुद्धभूमि नाम दिएर मोहीको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

नेपाल डेरी एसोसिएसन लुम्बिनीका अध्यक्ष तथा ग्लोबल डेरी उद्योगका सञ्चालक थानेश्वर न्यौपानेले वैशाख १ गतेदेखि मोहीको व्यावसायिक उत्पादन सुरु गरेको बताए ।

उनले भने, ‘अहिले हामीले दैनिक ८ सयदेखि १ हजार लिटर मोही उत्पादन गरेर विक्री गरिरहेका छौँ । विक्री सुरु गरेको १ महिना हुँदा राम्रो प्रतिक्रिया पाएका छौँ । नेपालमै पहिलो पटक लेभलिङ र बोतलिङ गरी मोहीको व्यावसायिक उत्पादन सुरु भएको हो । बुद्धभूमि ब्रान्ड बनाएर प्रतिलिटर ४० रुपैयाँमा पसल–पसलमा विक्री गरिरहेका छौँ । पसलेले ग्राहकलाई ५० रुपैयाँमा १ लिटर मोही विक्री गरिरहेको छ । बोतलिङ गरेको ७ दिनसम्म मोही प्रयोग गर्न सकिने छ । हामीले ५ दिन भित्र नै प्रयोग गरिसक्न वा विक्री गरिसक्न पसललाई भनेका छौँ । हाल उत्पादनको चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका मोही विक्री भइरहेको छ । कोक, फेन्टा र स्पाइट लगातका पेय पदार्थको विकल्पमा प्रयोग गर्न सकिने छ ।’

अहिले बजारमा ६० देखि ८० रुपैयाँमा मोही विक्री भइरहेको छ । तर, बुद्धभूमि उत्पादन गरेको मोही सिधै पसलमा लाने भएकाले डिलर लगायतको शुल्क नभएकोले प्रतिलिटर ५० रुपैयाँमा विक्री गर्न सकिएको न्यौपानेले बताए ।

नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालले पेय पदार्थको रूपमा मोही प्रयोग गर्दा स्वदेशी बस्तुको उपभोग वृद्धि हुने र स्वास्थ्यलाई पनि राम्रो गर्ने बताए ।

उनले भने, ‘हामीले मोही प्रयोग प्रोत्साहनको लागि अभियान नै चलाइरहेका छौँ । विभिन्न बिहे र विभिन्न पार्टीहरूमा अन्य पेय पदार्थको सटट मोही प्रयोग गरौँ भनिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *