लिग-२ अघि आत्मविश्वासी नेपाल, बेन्च पनि बलियो – Nepal Press

लिग-२ अघि आत्मविश्वासी नेपाल, बेन्च पनि बलियो

काठमाडौं । सन् २०२३ मा उत्कृष्ट छाप छोड्न सफल नेपाली क्रिकेटले सन् २०२४ मा पनि शानदार सुरुवात गरेको छ । क्यानडासितको एक दिवसीय खेलको मैत्रीपूर्ण श्रृंखला क्लीन स्वीप गर्दै घरेलु मैदानमा नेपाल आफ्नो साख जोगाउन सफल भयो ।

सन् २०२३ मा नेपाली टीमले ओडीआई स्टाटस बचाउनेदेखि एसिया कप हुँदै टी-२० विश्वकपसम्मको यात्रा तय गरेको थियो । यो वर्ष पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । सन् २०२४ मा नेपालले टी-२० विश्वकप खेल्नेछ भने आईसीसी लिग-२ का श्रृंखलाहरुमा पनि प्रतिस्पर्धा गर्नेछ । लिग-२ अन्तर्गत नेदरल्याण्ड र नामिबियाविरुद्धको सिरिज बिहीबार काठमाडौंमा सुरु हुँदैछ ।

लिग-२ को तयारीस्वरूप आयोजना गरिएको ओडीआई सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शनमात्र गरेन, सिनियर टोलीको ब्याकअपसमेत तयार गर्‍यो । क्यानडाविरुद्धको सिरिजमा नेपालले तीन नियमित खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीलाई अवसर दिएको थियो ।

क्यानडाविरुद्ध अलराउन्डर दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र तीव्र गतिका बलर करण केसीले खेलेका थिएनन् । ४ युवा खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए । पहिलो पटक राष्ट्रिय टीमबाट खेलेका उनीहरु अपेक्षित सफल पनि भए । आवश्यक परेको बेला सिनियर खेल्न तयार भएको उनीहरुले सङ्केत गरे ।

डेब्यु गरेका तीव्र गतिका बलर रिजन ढकाल, आकाश चन्द र हेमन्त धामीले पाएको अवसरलाई राम्ररी सदुपयोग गरेर देखाए । बायाँ हाते स्पिनर सूर्य तामाङको प्रदर्शन भने सोचेअनुरूप रहन सकेन । सूर्यले प्रधानमन्त्री कपमा सर्वाधिक ३० विकेट लिएका थिए । तर, उनले क्यानडाविरुद्ध सुरुवातका दुई खेलमा लय समात्न सकेनन् र उनलाई तेस्रो खेलमा विश्राम दिइयो ।

दक्षिण अफ्रिकामा भएका यू-१९ विश्वकप क्रिकेटमा नेपालबाट उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा अवसर पाएका आकाश र हेमन्तले अवसरलाई भरपुर सदुपयोग गरे । दुई खेलमा मौका पाएका आकाश र अन्तिम खेलमा मौका पाएका हेमन्तले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रिजन, आकाश र हेमन्तले नेपालको ‘ए’ टीममा आफ्नो स्थान लगभग पक्का गरेका त छन् नै, भविष्यमा करण केसी र सोमपाल कामीको विकल्प बन्नसक्ने सन्देश पनि दिएका छन् ।

लिग २ को स्क्वाडमा पहिले समावेश भए पनि रिजनले आफ्नो स्थान गुमाएका छन् । अनिल शाह र देव खनाललाई समावेश गर्नुपर्ने भएकाले दुई जना खेलाडीलाई हटाउनुपर्ने अवस्था आउँदा रिजन अभागी बने ।

क्यानडाविरुद्धको श्रृंखलामा कप्तान रोहित पौडेल र भीम सार्कीबाहेक सबै खेलाडीलाई कम्तीमा एक खेलमा विश्राम दिइयो । कप्तान रोहितको प्रदर्शन निकै उत्कृष्ट रह्यो । पहिलो र दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेका रोहितले तेस्रो खेलमा बलिङ र ब्याटिङ दुवै गरेनन् । पहिलो र दोस्रो खेलमा लामो इनिङ खेल्न नसकेका भीमले तेस्रो खेलमा भने करियरकै पहिलो शतक प्रहार गरे । उनी अनिलकुमार साहसँग कीर्तिमानी साझेदारीसमेत गर्न सफल भए ।

सिरिजमा देव खनाल र अनिलकुमार साहको पुनरागमन शानदार रह्यो । यू-१९ टोलीका कप्तानसमेत रहेका देवले दोस्रो खेलमा अवसर पाएका थिए । उनले उक्त खेलमा ७६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तेस्रो खेलमा भने ब्याटिङ गर्ने पालो नै आएन ।

लामो समय राष्ट्रिय टीमबाट टाढा रहेका अनिलले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपछि यो सिरिजमा मौका पाएका थिए । टीमले जुन विश्वास गरेर उनलाई भित्र्याएको थियो, उनले प्रमाणित गरिदिए । उनले मौका पाएको दुई खेलमा एक शतक र एक अर्धशतक प्रहार गरे ।

केही वर्षयता नेपालको ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्दै आएका छन् । तर, यो सिरिजमा ओपनिङ पनि परीक्षण भयो । पहिलो खेलमा कुशल र आसिफले ओपनिङ गरेका थिए । दोस्रो खेलमा अनिल र आसिफ तथा तेस्रो खेलमा अनिल र कुशलले गरेका थिए ।

ओपनिङ आक्रामक सुरुवात गर्ने कुशलको ब्याटिङ कायम रहँदा आसिफको ब्याट चल्न सकेन । पहिलो र दोस्रो खेलमा चल्न नसक्दा उनलाई तेस्रो खेलमा विश्राम दिइयो । क्यानडाविरुद्ध गरेको प्रदर्शनले अनिल र देवलाई लिग-२ मा समावेश गर्न क्यान बाध्य भएको छ । अनिल ओपनिङमा आसिफको विकल्प बन्न सक्छन् । देवले मध्यक्रममा मौका पाउन सक्छन् ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका पवन सर्राफ क्यानडाविरुद्ध चल्न सकेनन् । ब्याटिङ र बलिङ दुवैमा अवसर पाएका पवनको प्रदर्शन खास रहन सकेन । अब उनलाई लिग-२ मा आफूलाई प्रमाणित गर्ने अवसर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *