माओवादी केन्द्रीय समितिमा ब्रिफिङ-२०८४ मा तेस्रोबाट पहिलो पार्टी बन्ने आधार तयार भयो – Nepal Press

माओवादी केन्द्रीय समितिमा ब्रिफिङ-२०८४ मा तेस्रोबाट पहिलो पार्टी बन्ने आधार तयार भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकको पहिलो दिनमा सबै प्रदेशका इन्चार्ज र अध्यक्षले पार्टीको अभियानको बारेमा जानकारी गराएका छन् ।

बैठकको पहिलो दिन प्रवाससहित सबै प्रदेश र आयोगबाट जानकारी राख्ने क्रम सकिएको हो । अब बैठक सोमबार विहान ११ बजे बस्ने गरी स्थगित भएको पार्टी प्रवक्तासमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीकासचिव समेत रहेका कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनालले अभियानले केही आशावादी बनाएको बताए । सबै नेता कार्यकर्ता सोँचेजस्तै गरी अभियानमा नखटे पनि ६० प्रतिशत नेता कार्यकर्ता अभियानले उत्साहित भएको भेटिएको जानकारी गराए ।

प्रदेशका ११५७ वटै वडामा अभियानका संचालन गरिएको बताउँदै उनले सात जना नेता अभियानमा नखटिएको बताउँदै उनीहरुमाथि कारवाही गरिने बताए । कोशी प्रदेशकै अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) अभियान सापेक्षित रुपमा सफल भएको बताए । उनले अभियानको क्रममा २६३९ टोल, १७१३ सेल कमिटी गठन भएको बताए । उनले कामको आधारमा नेताको श्रेणी निर्धारण गरिएको पनि जानकारी गराए ।

पार्टी सचिव नै रहेका मधेस प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले बाराबाट स्वाभिमानको आन्दोलन सुरु भएको बताउँदै मधेस पार्टी निर्माणको आधारभूमी भएकाले त्यहीअनुसारको कार्यक्रम तय गर्नुपर्ने बताए । उनले मधेसमा संगठन निर्माण, सदस्यता नविकरण कार्य जारी रहेको जानकारी गराए ।

पार्टीका उपमहासचिवसमेत रहेका बामगती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीप्रतिको शहरिया मनोविज्ञान बुझ्न अभियानले सहयोग गरेको बताउँदै अब कार्यक्रम तय गर्न सजिलो हुने बताए । अभियानमा पूरै खट्ने, आधा खट्ने र जाँदै नजाने गरी तीन श्रेणीमा कार्यकर्तालाई विभाजन गरी मूल्यांकन गरिएको बताए ।

उनले अभियानमा खट्नेलाई सम्मान र नजानेलाई कारवाही गरिने बताए । आधारभूत वर्गमा पार्टीप्रतिको आशा र भरोसा बढेको बताउँदै प्रभाकरले जनताका समस्या समाधानको लागि पार्टीले पहलकदमी लिनुपर्ने बताए ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले ११९ पालिकामध्ये ११५ मा सम्मेलन सम्पन्न भएको जानकारी गराए । अभियानको क्रममा ३५२९ टोल कमिटी, १०८४ जबस कमिटी गठन भएको बताउँदै सहयात्रीले जमेको पोखरीमा ढुंगो हानेजस्तै तल्लो कमिटीसम्म तरंग ल्याएको बताए । उनले वैचारिक, वर्गीय दृष्टिकोणभन्दा बढी व्यक्तिगत सोँच भावी भएका कारण पार्टीमा समस्या देखा परेको बताए ।

त्यसैगरी पार्टीकै उपमहासचिव रहेका उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले नेता कार्यकर्तामा जनयुद्धकालिन केन्द्रीकृत योजना र विकेन्द्रीत परिचालनको मनोविज्ञान रहेको बताए । उनले केन्द्रबाट योजना बनाए नेता कार्यकर्ता खट्न समस्या नहुने अभियानले देखाएको बताए ।

पार्टी विभाजनपछि कमजोर भएको पार्टी पुनः उही अवस्थामा लाग्न समय लाग्ने भन्दै पुनले एमालेलाई पुरानै अवस्थामा पुग्न दुई दशक र नेपाली काँग्रेसलाई एक दशक लागेको बताउँदै माओवादीले पनि एक दशक पूरा गरिसकेको बताउँदै अब २०६४ कै अवस्थामा फर्काउन सकिने सम्भावना देखा परेको बताए । माओवादीको क्षयीकरण सहरिय क्षेत्रमा भए पनि ग्रामिण क्षेत्रमा लोकप्रियता बढ्दो रहेको तथ्यांकले देखाएको प्रतिवेदन प्रस्तुत गरे ।

सोही प्रदेशका अध्यक्ष जगत सिंखडाले अहिले पनि मध्यम वर्गले माओवादीलाई निरुत्साहित गरिरहेको बताए । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीसँग दलाल र माफियाका सजिलै पहुँच पुग्ने तर नेता कार्यकर्ताको भनेको काम नहुँदा जनतामा निरासा बढेको बताए ।

पार्टीका सचिवसमेत रहेका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले गुटबन्दी गर्ने प्रवृति निरास भएको इमान्दार नेता कार्यकर्ता उत्साहित भएको बताए । अभियानले जनतामा आशा र भरोसा बढेको बताए ।

अभियानको क्रममा २९ हजार सदस्यता नविकरण भएको ६ हजार नयाँ सदस्यता वितरण भएको प्रतिवेदन प्रस्तुत गरे । प्रदेश अध्यक्ष गायत्री गुरुङले कार्यक्षेत्रमा नजाने र शक्तिकेन्द्र धाउने प्रवृतिकै कारण पार्टीमा समस्या पैदा भएको भन्दै अभियानले त्यसमा झट्का दिएको बताइन् ।

पार्टी सचिव नै रहेका लुम्बिनी प्रदेशका इञ्चार्ज हितमान शाक्यले अभियानको क्रममा ९७ वडा कमिटी गठन भएको, पालिकास्तरमा जबसका ९२५ कमिटी निर्माण भएको बताए । अभियानको क्रममा १९१५ वटा जनपरिचालनका कार्यक्रम भएको शाक्यले प्रतिवेदन प्रस्तुत गरे ।

उनको अभियानको क्रममा विभिन्न पार्टीबाट ५१७८ जनाले पार्टी प्रवेश गरेको बताए । सोही प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी वडामा पुगेपछि माओवादी फर्कियो भनेर जनता उत्साहित भएको बताए ।

पार्टीका उपमहासचिवसमेत रहेका कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले ६२२ स्थानबाटै एकैसाथ अभियान सुरु गरिएको बताउँदै पार्टी काममा हाम फाल्ने कर्णालीको विशेषताअनुसार अधिकांश नेता कार्यकर्ता अभियानमा खटिएको प्रतिवेदन पेश गरे । प्रदेश अध्यक्ष विमला केसीले अभियानको क्रममा ५० हजार सदस्यता नविकरण गरिएको र ६२६४ नयाँ सदस्यता वितरण गरिएको बताइन् ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले प्रवेशमा ८० वटा अभियान टोली बनाएर खटिएको बताउँदै आवधिक समिक्षासम्म आइपुग्दा अभियान तीब्र गतिमा बढेको तर, त्यसपछि सोँचेजस्तै बन्न नसकेको बताए । प्रदेशका ८८ वटै पालिकामा कमिटी निर्माण भएको अध्यक्ष चौधरीले प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी पार्टीसचिवसमेत रहेको प्रवास प्रदेशका इन्चार्ज राम कार्कीले रोजगारीको क्रममा विदेशिने संख्या बढ्दै गएको बताउँदै प्रवास विशेष कार्यक्रमसहित संगठित गर्नुपर्ने देखाएको बताए । प्रवासमा रोजगारी गर्ने अहिले राजनीतिप्रति चाँसो राख्ने भएकोले घरको भोटलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको बताए ।

प्रवास प्रदेशका अध्यक्ष ओम शर्माले नेपालमा पार्टीमा इमान्दारितापूर्वक काम गर्ने नेता कार्यकर्तालाई विदेश भ्रमण गराउने बताए । उनले भूकम्प प्रभावितलाई राहतमा प्रवासले सहयोग गरेको बताए ।

बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्ष कुबेर ओलीले पनि अभियानमा आयोगले गरेको कामबारे जानकारी गराएका थिए ।

बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक जानकारी गराएका थिए । उनले ६८ प्रतिशत नेता कार्यकर्ता अभियानमा खटेको बताए । अभियानको क्रममा पार्टी ६ लाख मतदातासम्म पुगेको बताउँदै २०८४ मा पहिलो पार्टी बन्ने आधार तयार भएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर