अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टे अन्तर्वार्ता : युक्रेन, नेटो र अमेरिकादेखि चीनसम्म के भने ? – Nepal Press

अमेरिकी पत्रकारसँग पुटिनको दुई घण्टे अन्तर्वार्ता : युक्रेन, नेटो र अमेरिकादेखि चीनसम्म के भने ?

'युक्रेनलाई अमेरिकाले हतियार सहयोग बन्द गरेकाे केही महिनामै युद्ध सकिन्छ'

काठमाडौं । पछिल्लो हप्ता अमेरिकाका चर्चित परम्परावादी (कन्सरभेटिभ) पत्रकार टकर काल्र्सन रुस पुगेको खबर आयो । रुसको राजधानी मस्को पुगेर उनले राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्वार्ता लिएको खबर पनि आयो । उनले लिएको अन्तर्वार्ता भन्दै एआईबाट बनाइएका भिडियो र शब्दहरु आउन थाले ।

दुई दिनअगाडि टकरले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ता लिएको चार मिनेट बढीको भिडियो सार्वजनिक भएपछि खबरले वैधानिकता पायो । आफूले पुटिन मन पराएर होइन अमेरिकी जनता मन पराएर पुटिनको पनि धारणा सुन्न मस्को आएको टकरले तर्क गरेका थिए ।

सन् २०२२ फेब्रुअरीबाट रुसले युक्रेन हमला सुरु गरेपछि पुटिनको अन्तर्वार्ता पश्चिमा मिडियामा आएन । रुसी विश्व च्यानल धेरै देशमा प्रतिबन्धमा पर्‍यो । रुसी धारणाले स्थान पाएन । अमेरिकी र युक्रेनी धारणामात्रै पश्चिमा मूलधारमा चल्यो । यही चिर्न भनेर टकरले पुटिनको अन्तर्वार्ता लिएको तर्क गरेका छन् ।

आज उनले दिएको अन्तर्वार्ता सार्वजनिक भएको छ । २ घण्टा १७ मिनेट १९ सेकेण्ड लामो अन्तर्वार्ता टकरको आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर)मा सार्वजनिक भएको छ । धेरै मिडियामा पुटिनको अन्तर्वार्ता निषेध गरिए पनि एक्सका मालिक एलन मस्कले निषेध नगर्ने वचन दिएको टकरले दुई दिनअगाडि नै सार्वजनिक गरेका थिए ।

टकर मस्को पुगेको, पुटिनको अन्तर्वार्ता गरेको विषयमा उनको बारेमा धेरै आलोचना पश्चिमा विश्वमा आएको छ । उदाहरणको लागि अमेरिकी नेतृत्व हिलरी क्लिन्टनले उनलाई पुटिनको ‘कुकुर’देखि पुटिनले ‘पत्याएको मूर्ख’ भन्दै टिप्पणी गरेकी छन् ।

कतिपयले उनलाई प्रतिबन्ध लगाउनुपर्ने वा पक्राउ गर्नुपर्ने आवाज उठाएका छन् । यी र यस्तै कारणले टकरले लिएको पुटिनको अन्तर्वार्ता बहुचर्चित हुन पुगेको छ । अन्तर्वार्ता एक्समा मात्रै करोडौंले हेरेका छन् ।

मस्कोस्थित पुटिन कार्यालयमा भएको अन्तर्वार्तामा पुटिनले खुलेर कुरा गरेका छन् । कुराकानीमा ईसाई मुद्दादेखि एआईसम्म आएका छन् । राजनीतिदेखि भूराजनीतिक तथा भू-अर्थ नीतिका कुरा आएका छन् ।

युक्रेन हंगेरी र पोल्याण्डको भूमि तानेर बनेको कृत्रिम देश

पुटिनले युक्रेन कृत्रिम देश भएको बताएका छन् । प्राचीन समयमा मस्को बाहिर बस्नेलाई दिइने उपमा युक्रेनली लिएर युक्रेन बनेको बताएका उनले युक्रेनको राष्ट्रिय पहिचानको बहस १९औं शताब्दीमा मात्रै सुरु भएको र त्यो सुरु गर्ने श्रेय अष्ट्रियाका सैन्य नेतामा जाने बताए । १ हजार २०० वर्ष पुरानो एकीकृत रुसमा युक्रेन सधैं अभिन्न अंग भएको पुटिनले बताएका छन् ।

सोभियत संघको समयमा युक्रेनलाई स्थानीयतामा अभ्यास गर्न सन् १९९१ मा देशको जस्तो मान्यता दिएको भन्दै उनले युक्रेन देश भए पनि ९० प्रतिशत रुसी भाषीहरु सोभियतकालमै भएको बताए । सोभियत संघताका आफूले युक्रेनको पश्चिम भागमा पुग्दा युक्रेनी बोर्ड र अक्षर नदेखेको तर रुसी र हंगेरी भाषा देखेको भन्दै पुटिनले पश्चिम युक्रेन हंगेरीको भाग लिएर बनेको बताए ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई आफ्नो भाग लिन किन नभनेको भन्ने टकरको प्रश्नमा पुटिनले हंगेरीका जनतामा त्यो जानकारी हुनुपर्ने तर्क गरे । हंगेरीमात्रै होइन पोल्याण्डका भाग पनि अहिलेको युक्रेनमा भएको पुटिनले बताए ।

अहिलेको युक्रेनको कुनै ऐतिहासिकता नभएको पुटिनले दाबी गरे । सोभियत संघका नेताहरुले युक्रेनलाई टर्कीसँगको युद्धपछि पाएको भूमिको रुपमा मात्रै बुझेको पनि पुटिनले तर्क गरे ।

‘युक्रेन समस्या सन् २००८ बाटै सुरु भएको हो’

सन् २००८ मा उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)ले युक्रेनलाई संगठनमा राख्न सकिने बाटो खुल्ला गरेसगै युक्रेन समस्या सुरु भएको पुटिनले बताएका छन् । सन् १९९१ मा नेटोले सोभियत संघ विघटन भएसँगै एक इन्च पूर्व नबढ्ने भने पनि हालसम्म गरेर नेटो पाँच पटक अघि बढेर रुसी सीमामा आएको उनको भनाइ छ । सन् २०१४ मा डोनबास क्षेत्रमा युक्रेनले बमबारी गरेपछि र क्राइमियालाई धम्की दिएपछि अरु समस्या आएको पुटिनले बताए ।

सन् २०१४ मा चुनावबाट जितेर आएका राष्ट्रपति हटाउन पश्चिमा देश खासगरी अमेरिकाले कू गरेको उनले बताए । सीआईएबाट ५ अर्ब डलर खर्चेर कू भएको उनको भनाइ छ । सन् २०२२ फेब्रुअरीको रुसी हमला युद्धको सुरुवात नभएर अन्त्य गर्न भएको उनले तर्क गरे ।

युक्रेनलाई अमेरिकाले मात्रै ७२ अर्ब डलर दिएको भन्दै पुटिनले अमेरिकी हतियार सहयोग बन्द भएको केही महिनामै युद्ध सकिने बताए । युद्ध भएको केही महिनामै टर्कीको इस्तानबुलमा भएको वार्तामा कुरा मिल्न लाग्दा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आएर बिग्रेको पनि पुटिनले बताए ।

के रुसले युद्धबाट चाहेको पायो त भन्ने टकरको प्रश्नमा पुटिनले त्यो नपाएको बताए । आफ्नो युद्धको उद्देश्य नवनाजीवाद अन्त्य गर्ने भए पनि त्यो सफल नभएको पुटिनको भनाइ छ ।

के हो पुटिनले भनेको नवनाजीवाद ?

टकरले पुटिनलाई नवनाजीवादबारे थप व्याख्या गर्न भनेका थिए । त्यसमा पुटिनले लामो व्याख्या गरे । त्यसमा युक्रेनले राष्ट्रिय पहिचान बनाउने नाममा रुसी, पोलिस तथा यहुदीलाई हिटलरसँग मिलेर सिध्याउनेलाई राष्ट्रिय नायक बनाएको बताए । नाजी सत्ताका सहयोगीलाई नायक बनाइएको र त्यही कुरामा रुसले नवनाजीवाद भनेको पुटिनले बताए ।

युक्रेनी राष्ट्रपति क्यानडा पुग्दा त्यहाँको संसदमा रुससँग युद्ध लडेको भनेर देखाइएका अनुहार नाजीका सहयोगी भएको भन्दै पुटिनले नवनाजीवाद युक्रेनमा भएको बताए । युक्रेनी राष्ट्रपति जन्मको आधारमा नवनाजीवादको पक्षमा भएको उनले बताए ।

कमजोर बन्दै डलर : बलियो बन्दै युआन

विश्वमा डलर क्रमशः कमजोर बनेको र युआन क्रमशः बलियो भएको पुटिनले बताए । अमेरिकाले आफ्नो हातबाटै डलरको हत्या गर्न लागेको बताएका पुटिनले राजनीतिक हतियारको रुपमा डलरको प्रयोग हुनाले अमेरिकी साझेदार देशहरुले पनि क्रमशः डलरको सञ्चिती कम गर्न थालेको बताए ।

रुसमा सन् २०२२ सम्म ८० प्रतिशत डलर सञ्चिती भएकोमा अहिले घटेर १३ प्रतिशत पुगेको तर युआन ३ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको पुटिनले बताए ।

ब्रिक्सको अर्थतन्त्रले जी-७ लाई उछिन्यो

बहु ध्रुवीय विश्व बनेको भन्दै पुटिनले अहिले जी-७ भन्दा ब्रिक्स अर्थतन्त्रमा ठूलो भएको बताए । उनले भने, ‘सन् १९९२ मा जी-७ को अर्थतन्त्र विश्वको ४७ प्रतिशत थियो । अहिले घटेर ३० प्रतिशतमाथि मात्रै छ ।’ ब्रिक्स देशहरुको भने सन् १९९२ मा १६ प्रतिशत भएको अर्थतन्त्र बढेर जी-७ को भन्दा ठूलो भएको पुटिनले बताए । यो युक्रेन युद्धभन्दा अगाडि नै विकास भएको उनले बताए ।

युक्रेन युद्धपछि रुस युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र

सन् २०२३ मा युक्रेन युद्धपछि पनि रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको पुटिनले बताए । उनले पर्चेजिङ पावर प्यारिटीको आधारमा रुस युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भएको बताए । अमेरिकी तथा पश्चिमा अर्थतन्त्रको दबाबले काम नगरेको उनले बताए ।

चीन सम्बन्ध : इतिहास, छिमेकी र शान्तिपूर्ण विदेश नीतिको मानक

चीनको बढ्दो आर्थिक प्रभावले रुसी सार्वभौमसत्तामा परेको प्रभावका बारेमा प्रश्न गरेका टकरलाई पुटिनले त्यो बुगिमन तर्क भएको जवाफ दिए । उनले चीनसँगको हजारौं किलोमिटरको सिमाना, इतिहासबाट बनेको सम्बन्ध र चीनको शान्तिपूर्ण विदेश नीति भएको भन्दै कुनै असर नगर्ने बताए ।

चीन रुसको छिमेकी भएको भन्दै पुटिनले भने, ‘जसरी आफन्त छान्न पाइँदैन, त्यसैगरी छिमेकी पनि छान्न पाइँदैन ।’

चीन अमेरिकाको भन्दा ठूलो आयतन भएको अर्थतन्त्र तथा जनसंख्या भएको मुलुक भन्दै पुटिनले चीनको सकरात्मक चर्चा गरे । चीनको रुससँग मात्रै नभएर युरोपसँग पनि राम्रो व्यापार सम्बन्ध भएको उनको भनाइ थियो । उनका अनुसार युरोपले आफ्नो आर्थिक समस्या अन्त्य गर्न चिनियाँ बजार खोजिरहेको छ । चिनियाँ राष्ट्रपति सी र पुटिनबीच २०० अर्ब डलरको दुई देशको व्यापार बढाउने सम्झौता भएको थियो । तर, त्योभन्दा धेरै २३० अर्ब डलरको व्यापार भएको पुटिनले बताए । चिनियाँ आँकडाहरुमा त त्यो २४० अर्ब डलर भएको समेत पुटिनले बताए ।

युक्रेनको पक्षमा लड्ने भाडाका सिपाहीहरुमा अमेरिकी दोस्रो नम्बरमा

अमेरिकी भाडाका सिपाहीहरु युक्रेनको पक्षमा धेरै लडेको भन्दै पुटिनले अमेरिकी भाडाका सिपाहीहरु सबैभन्दा धेरै हुनेमा दोस्रो भएको बताए । पोल्याण्ड एक नम्बर र जर्जिया तीन नम्बरमा भएको पुटिनले बताए ।

पुटिनले आफू राष्ट्रपति भएको समयमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई रुस नेटोमा जोडिँदा के हुन्छ भन्दा उनले सकारात्मक रुपमा लिएको भने पनि उनको टीमले नकारात्मक रुपमा लिएको उत्तर दिएको पुटिनले बताए । यस्तै अमेरिकी राष्ट्रपति जर्ज बुस सिनियरसँग आफूले संयुक्त रुपमा मिसाइल प्रतिक्षा प्रणालीमा काम गरौं भन्दा अस्वीकार गरेकाले रुसले बाध्य भएर हाइपरसोनिक मिसाइलमा लगानी गरेको र त्यसमा अहिले रुस अरु देशभन्दा अगाडि भएको बताए ।

रुसमाथि अमेरिकाको दबाब रणनीति

रुसमाथि अमेरिकाको तारकातार दबाब नीति आएको पुटिनले बताए । नेटो विस्तार, त्यसमा युक्रेन जोड्ने खेल, संयुक्त मिसाइल प्रतिरक्षामा रुसलाई अलग गर्नेदेखि रुसमा पृथकतावादी र आतंककारी पक्षलाई अमेरिकी प्रायोजन र त्यसका केही उदाहरण भएको पुटिनले बताए । उनका अनुसार नर्ड स्ट्रिम विस्फोटमा घाटा जर्मनीलाई भए पनि उसले कुनै पहल गरेन ।

पोल्याण्ड र युक्रेनको लागि जर्मनीले सहयोग गरे पनि जर्मनीका नागरिक तथा अर्थतन्त्रलाई असर गर्ने ग्याँसको मामिलामा उनीहरुले पोल्याण्ड र युक्रेनसँग बाटो माग्ने र चल्न सक्ने पाइपलाइन चलाउन कुनै पहल नगरेको पुटिनको भनाइ छ । अमेरिकापछि जर्मनी युक्रेनको सबैभन्दा ठूलो सहयोगी भएको उनी बताउँछन् । आफ्नो हितमा नभए पनि जर्मनी नेतृत्वले अमेरिकी र पश्चिमी लाइन लिएर युक्रेनमा पैसा खन्याएको पुटिनले बताए ।

याे पनि पढ्नुस् : सरकारको ‘दबाब’ छल्दै पुटिनको अन्तर्वार्ता लिन मस्को पुगे अमेरिकी पत्रकार

थप याे पनि पढ्नुस् : अमेरिकी पत्रकारले लिएको रुसी राष्ट्रपति पुटिनको बहुप्रतिक्षित अन्तर्वार्ता आज सार्वजनिक हुँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर