हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक – Nepal Press

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।

एघार सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झूटो बोलिरहेको छ’ लेखिएको छ ।

समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा बन्धकले दबाबमा बोल्दै गरेको देखाइएको छ । यो गाजामा बन्दी बनाएको एक महिनाभन्दा कम समयमा जारी गरिएको तेस्रो फुटेज थियो ।

अप्रिल २७ मा समूहले जारी गरेको एउटा भिडियोमा दुई बन्धक किथ सिगल र ओमरी मिरानलाई जीवित देखाइएको थियो । यसको तीन दिनअघि समूहले अर्को प्रसारण गरेको भिडियोमा बन्धक हर्श गोल्डबर्ग-पोलिनलाई जीवित देखाइएको थियो ।

अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब २५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूक अनुसार तीमध्ये १२८ जनालाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १७० भन्दा बढी इजराइली र विदेशीहरूको मृत्यु भएको आधिकारिक इजराइली आँकडाले बताएको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा ३४ हजार ९७१ जनाको मृत्यु भएको छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर