कर्णाली: कीर्तिमानी खेलाडी छन्, छैन खेलकुद पूर्वाधार – Nepal Press

कर्णाली: कीर्तिमानी खेलाडी छन्, छैन खेलकुद पूर्वाधार

सुर्खेत । नेपाली खेलकुदमा विश्व कीर्तिमान राख्ने खेलाडीहरु कर्णाली प्रदेशका पनि छन् । तैपनि खेलकुदमा कर्णाली सबैभन्दा पछाडि छ ।

कर्णाली खेलकुद पूर्वाधार विकासमा पनि पछि नै छ । जसका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली पछाडिबाट पहिलो भयो । यस प्रदेशका १० जिल्लामा कर्णाली खेलकुद विकास परिषद्को नाममा करिब ५० रोपनीमात्रै जग्गा छ ।

खेलकुद र यसको पूर्वाधारमा कमजोर देखिएपछि कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा प्रदेश रंगशाला निर्माण गरिरहेको छ । २०७८ साल मङ्सिर २० गते निर्माण सुरु गरिएको कर्णाली रंगशालाको हाल ७५ प्रतिशत भौतिक प्रगति भएको परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

उक्त रंगशाला २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी धमाधम काम भइरहेको छ । प्रदेश सरकारले रंगशाला निर्माण गर्न १ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा कभर्ड हल र सेमि-कभर्ड हल छन् । यसको परिषद्ले पुनर्निर्माण तथा स्तरोन्नति गरिरहेको छ । सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा खेलकुदको राम्रो पूर्वाधार छैन । प्रदेशको सल्यान, जाजरकोट र मुगुमा हालसम्म कुनै खेल पूर्वाधार निर्माण भएको छैन ।

परिषद्का अनुसार कालीकोट र जाजरकोटमा कभर्डहल निर्माण गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहुवर्षीय कार्यक्रम स्वीकृतिका लागि प्रस्ताव पेस गरिएको छ । उक्त प्रस्ताव स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढाइने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को नाममा दैलेखमा १ हजार ५४० वर्गमिटर, रुकुममा २० रोपनी र डोल्पामा २७ रोपनी जग्गा दर्ता छ । जुन पूर्वाधार बनाउन पर्याप्त छ । तर, पूर्वाधार बन्ने कहिले ?

कर्णाली खेलकुद विकास परिषद्का सदस्यसचिव संज्यालले राष्ट्रिय खेलकुद परिषद्को नाममा रहेका जग्गा देश संघीय संरचनामा गइसक्दा पनि प्रदेशलाई हस्तान्तरण हुन नसक्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताए ।

उनका अनुसार कालीकोट, दैलेख, जुम्ला र पश्चिम रुकुममा रहेका जीर्ण कभर्ड हल १०औं राष्ट्रिय खेलकुदका लागि मर्मतसम्भार भइरहेको छ । संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ मा हरेक स्थानीय तहमा एक खेल मैदान र प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको सुविधासम्पन्न एक रंगशाला निर्माण गर्ने योजना ल्याएको थियो । तर, कर्णालीमा प्रदेशस्तरको रंगशाला निर्माण गर्न संघीय सरकारले लगानी नगरेको सरोकारवालाहरुको आरोप छ । यहाँ प्रदेश सरकार आफैंले लगानी गरेर कर्णाली रंगशाला बनाइरहेको छ ।

बन्दैछ क्रिकेट मैदान

प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली रंगशालासँगै क्रिकेट मैदान पनि बन्दैछ । वीरेन्द्रनगरस्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माणको गत पुस २ गते शिलान्यास गरिएको थियो । उक्त मैदान चैतसम्म सम्पन्न हुने परिषद्ले जनाएको छ ।

९८ लाख रुपैयाँ लागत इस्टिमेट रहेको उक्त क्रिकेट मैदान निर्माण गर्न ठेकेदार कम्पनीले ७३ लाख १८ हजार ३३७ रुपैयाँमा सम्झौता गरेको थियो । कर्णालीमा बन्ने यो नै पहिलो क्रिकेट रंगशाला हो ।

हुम्लामा १ करोड ५१ लाख रुपैयाँ लागतमा कभर्डहल निर्माण भइरहेको छ । साथै, हक्की मैदानको ठेक्का आह्वान भएर सम्झौता प्रक्रियामा रहेको परिषद्का सदस्य सचिव संज्यालको भनाइ छ ।

उनका अनुसार जुम्लामा रहेको भलिबल खेल मैदानमा प्याराफिट निर्माण हुँदैछ । ४८ लाख रुपैयाँमा उक्त काम अगाडि बढेको छ ।
करिब ७ करोडको लगानीमा जाजरकोटमा खेल मैदान निर्माणको बहुवर्षीय योजना स्वीकृतिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । योजना स्वीकृत भएर आएलगत्तै ठेक्का प्रक्रिया अगाडि बढ्ने सदस्य सचिव संज्यालले बताए ।

मुगुमा भने जग्गा व्यवस्थापन नहुँदा खेल पूर्वाधार नै निर्माण हुन सकेको छैन । तर, जिल्ला खेलकुद विकास समितिले करिब १० लाख रुपैयाँमा रारामा कबड्डी मैदान निर्माण गर्न प्रस्ताव दिएको परिषद्ले जनाएको छ ।

भौगोलिक विकटताका कारण डोल्पामा हालसम्म कुनै पनि खेल पूर्वाधार निर्माण भएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले जग्गा हस्तान्तरण नगर्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । सल्यानमा पनि जग्गा नहुँदा पूर्वाधार बन्न सकेको छैन ।

बजेट अभावले अधिकांश रंगशाला अलपत्र

बजेट अभावले कर्णालीका अधिकांश जिल्लामा रंगशाला अलपत्र छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका- ३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माण गर्न डीपीआर बनाइएको ५ वर्ष भइसक्यो । आर्थिक वर्ष २०७७/७८ मा रंगशाला निर्माण थालिए पनि अहिले अलपत्र अवस्थामा छ । डीपीआरअनुसार रंगशाला बनाउन २८ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

संघीय सरकारको बजेटमा रंगशालाको काम सुरु भएको थियो । हालसम्म ८७ लाख रुपैयाँ खर्च भए पनि रंगशालाले आकार लिएको छैन ।

यस्तै कालीकोटको सदरमुकाम मान्ममा खेल मैदान भर्ए पनि व्यवस्थित हुन सकेको छैन । जिल्ला समन्वय समितिको खाली ठाउँलाई मैदान बनाइए पनि व्यवस्थित हुन नसकेको हो ।

कालीकोटको रास्कोट नगरपालिकामा ५ वर्षअघि निर्माण सुरु भएको रास्कोट रंगशाला पनि अलपत्र छ । निर्माण उपभोक्ता समितिको विवादले रंगशाला अलपत्र परेको हो । विवादका कारण आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरिएको ५० लाख रुपैयाँसमेत फ्रिज भएको थियो । तैपनि रंगशाला निर्माणमा आर्थिक वर्ष २०७५/७६ मा १ करोड र आर्थिक वर्ष २०७६/७७ मा थप १ करोड गरी २ करोड खर्च भइसकेको उपभोक्ता समितिले बताएको छ ।

मुसीकोट- २ पानीढुगांमा ११ वर्षअघि थालिएको रंगशालाको काम पनि अलपत्र छ । सुरुमा संसद विकास कोषमार्फत रंगशाला निर्माण गर्न करिब ६५ लाख रुपैयाँ खर्च गरिएको थियो । अहिल चौरजहारी नगरपालिका- २ मा प्रादेशिक रंगशाला निर्माणको योजना अघि सारिएको छ । करिब ८५ करोड रुपैयाँ लागत इस्टिमेटसहित बहुवर्षीय योजनाका रूपमा रंगशाला निर्माणको हाल ठेक्का सम्झौताको प्रक्रियामा रहेको छ ।

जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया चलिरहेकाले रंगशालाको निर्माण सम्झौतामा ढिलाइ भएको प्रदेश खेलकुद परिषद्ले बताएको छ ।

दैलेखको नारायण नगरपालिका- २ मा २०६६ सालमा रंगशाला निर्माण थालिएको थियो । जिल्ला खेलकुद विकास समितिले माल्ली वन उपभोक्ता समितिसँग रंगशाला निर्माण गर्न ३ रोपनी जग्गा ५ लाख रुपैयाँमा किनेको थियो । तर, रंगशाला निर्माण हुन सकेन ।

राम्रो खेलकुद पूर्वाधार नहुँदा खाली चौर र विद्यालयका मैदानहरुमा अभ्यास तथा प्रतियोगिता नै खेल्नुपर्ने बाध्यता रहेको खेलाडी पवन शाही बताउँछन् ।

‘सुविधा सम्पन्न कर्भड हल वा खेल मैदान नभएपछि हामी कसरी खेलकुदमा अगाडि हुन्छौं र’, उनको प्रश्न छ, ‘कर्णाली त्यसै तच पिछडिएको खेलकुदमा पछाडि पर्दा कसैलाई के नै पीडा होला र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर