सुदूरपश्चिम माओवादीमा तरङ्ग : संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन प्रदेश पार्टीको निर्देशन – Nepal Press

सुदूरपश्चिम माओवादीमा तरङ्ग : संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन प्रदेश पार्टीको निर्देशन

कैलाली । शुक्रवार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले संसदीय दलको नेता हटाएको विषयले अहिले पार्टी भित्र तरङ्ग पैदा भएको छ ।

माओवादी प्रदेश कमिटीले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ ।

धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशन समेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ ।

प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

संसदीय दलका उपनेता रावल पार्टीका प्रदेश उपाध्यक्ष पनि हुन् । उनकै अध्यक्षतामा बसेको बहुमतको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो ।

खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एक जना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवी माल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् । अहिले उक्त निर्णयले माओवादी भित्र तीव्र विवाद उत्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर