पूर्वराजदूत झा हत्या प्रकरण : प्रहरीले हत्यारा दाबी गरेका भान्से दुवै अदालतबाट निर्दोष ठहर, अनुसन्धानको बाटो बन्द – Nepal Press

पूर्वराजदूत झा हत्या प्रकरण : प्रहरीले हत्यारा दाबी गरेका भान्से दुवै अदालतबाट निर्दोष ठहर, अनुसन्धानको बाटो बन्द

काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्यामा प्रहरीले दाबी गरेका आरोपीले दुई तहको अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले आरोपी सानु कान्छा तामाङ्गलाई निर्दोष ठहर गरेको हो । जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले सदर गरेको छ ।

५२ वर्षे तामाङ झाको काठमाडौं बबरमहलस्थित घरमा भान्से र गार्डका रूपमा काम गर्थे । २०७५ साल भदौ ४ गते बिहान घरको ग्राउन्ड फ्लोरमा आफ्नै कोठामा सुतिरहेको अवस्थामा झाको शव घाँटी रेटिएको साथै शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको अवस्थामा भेटिएको थियो ।

घटना भएको रात झा, उनकी श्रीमती ज्ञानु र तामाङमात्र त्यस घरमा थिए । श्रीमती पहिलो तलामा सुतेकी थिइन् । बिहान श्रीमान्‌लाई चिया खान बोलाउँदा नउठेपछि ज्ञानुले तामाङलाई लिएर कोठामा हेर्न पुगेकी थिइन् । खुला कोठाभित्र सुतिरहेकै ठाउँमा झा मृत भेटिएको जाहेरीमा उल्लेख थियो । बेलुका झा कोठाभित्र कुकर छेउमा राखेर सुतेका थिए ।

ज्ञानुले आफ्नो जाहेरीमा लेखेकी छन्, ‘मेरो घरमा भित्र छिर्न दुईवटा बाटाहरू प्रयोग हुन्थ्यो । एउटा भान्सा कोठामा बाहिरबाट जाने बाटो र अर्को मूल ढोकाको बाटो, तर सुत्दा राति मूल ढोका बन्द हुन्छ र भान्सा कोठामा कामदार सानुकान्छाले बाहिरबाट ताला लगाएर साचो लिई सुत्न जाने गर्थे । घरको बारेमा के गर्ने कसो गर्ने भनी सम्पूर्ण कुराको जानकारी विपक्षीलाई हुने गरेको, मूल ढोकाबाट पस्दा र भान्साबाट पस्दा सबै कोठाहरूमा आरामसाथ जान मिल्छ । उक्त ढोकाहरूको चाबीहरू विपक्षीको साथमा हुने, घटनास्थल वरपरसमेत सबै बन्द हुने, किचनमा प्रयोग हुने चक्कुसमेत विपक्षीलाई थाहा हुने हुँदा मेरो छोरा किरणराज झा समेतले ल्याइदिएको कुकुरलाई दिने विस्कुट विपक्षीबाहेक अन्य कोही कसैलाई नदिएको, सबै जानकारी सानु कान्छालाई मात्र थाहा भएको, घटना भएको दिन मृतक सुत्ने ओछ्यानभरी यताउता सोही विस्कुट छरिएको, मृतकको शरीरको अनुहारको भागमा छोपिएको सिरानी अन्यत्रबाट ल्याएको, उक्त सिरानीको बारेमा सानुकान्छालाइ मात्र जानकारी हुने भएको’ भन्दै सानुकान्छाले हत्या गरेको आरोप लगाउँदै घटना भएको झन्डै एक वर्षपछि उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

घटनालगत्तै प्रहरीले सानुकान्छालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । हालको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा तत्कालीन अपराध महाशाखाले तामाङलाई पक्राउ गरेर अनुसन्धान गरेपनि संलग्रनता देखिने प्रमाण नभेटेपछि अभद्र व्यवहार कसूरमा हिरासतमा राखिएको थियो । पछि उनलाई सोही कसूरमा धरौटी छाडियो । झन्डै एक वर्षपछि अपराध महाशाखाले सानु कान्छाकै संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो । काठमाडौं जिल्ला अदालतले किटानी जाहेरी, पोस्टमार्टम रिपोर्ट, घटना विवरण कागजका आधारमा तामाङ निर्दोष रहेको भन्ने स्थिति नरहेको भन्दै २०७६ भदौ २५ गते उनलाइ थुनामा पठाउने थुनछेक आदेश गरेको थियो ।

आरोपी तामाङले सरकारी वकिलसँगको बयानमा घटना भएको रात साँझ ८ बजे आफू झासँग केहीबेर कुरा गरेर सुत्न गएको र उक्त रात त्यहाँ कोही आएको नदेखेको बताएका थिए ।

अदालतले लिएको बयानमा उनले भनेका थिए, ‘मैले झाको घरमा काम गर्न थालेको ८ वर्ष भयो । सोही समयबाट निजको परिवारलाई चिन्छु । २०७५ भदौ ३ गते दिउँसो तथा सो दिनको बेलुका तथा राति म झाको घर बबरमहलमा थिए । खाजा खाना बनाउने काम गरी राति सोही घरमा आफू सुत्ने कोठामा सुतेको हो । सोही ४ गते बिहान पानी आउने पालो थियो । म नियमितजस्तै उठेर पानी भर्नतर्फ लागेँ । पानी भरिसकेपछि किचनको चाबी खोली चिया पकाएर ज्ञानु झालाई दिएँ, निज ज्ञानु झाले केशवराज झालाई ए हजुर भनी चिया खान बोलाउनु भएकोमा निज नउठेपछि साहेबको बाथरूममा बत्ती बलेको छ छैन भनी हेर्न पठाउनु भयो । मैले बत्ती बलेको छैन भनेपछि तलको कोठामा हेर्न जाऊ भन्नुभयो । म एक्लै जाँदिनँ भनेपछि ज्ञानु झा र म सँगै कोठामा गयौँ । निज केशवराज झा सुत्ने कोठा खुलै थियो ।’

जिल्ला अदालतले झाको हत्या भएको ठहर गरेपनि आरोपी तामाङ संलग्न भएको नदेखिएको भन्दै उनलाई सफाइ दियो । बद्रिप्रसाद ओलीको एकल इजलासले २०७७ चैत २३ गते तामाङलाई सफाइ दिएसँगै झन्डै २० महिना थुनामा बसेपछि उनी छुटेका थिए।

‘घटनालगत्तै यी प्रतिवादीलाइ पक्राउ गरी सार्वजनिक अपराधको कसुर गरेको भन्ने मुद्दामा पक्राउ गरी हिरासतमा राखिएता पनि उक्त ज्यानसम्बन्धी कसूरमा यी प्रतिवादीको संलग्नता रहे नरहेको भन्ने विषयमा पोलिग्राफ टेस्ट, नार्को टेस्ट गराउनेलगायतका अनुसन्धानका कार्यहरू तत्कालै भएको, तालिमप्राप्त कुकुरबाट अनुसन्धान गर्ने, भौतिक सबुत प्रमाणको परिक्षण गर्ने, सीसीटीभी फुटेज संकलन गर्ने, छरछिमेक बुझ्ने, घर परिवारका व्यक्तिको कागज गराउने समेतका कार्यगर्दा अनुसन्धान अधिकारीले यी प्रतिवादीको उक्त घटना वारदातमा प्रत्यक्ष संलग्रनता नदेखिएको कारण मुद्दा नचलाएकोमा’, फैसलामा भनिएको छ,’ घटना घटित भएको एक वर्षपछि मृतकको श्रीमती ज्ञानुले यी प्रतिवादी उपर यी प्रतिवादीसँग घरको चावी रहेको, घरभित्र यी प्रतिवादी बाहेक अन्य व्यक्ती प्रवेश गर्ने अवस्था नरहेको,मृतकसँगै कुकुर रहने, यी प्रतिवादीबाहेक अन्य व्यक्ति घरभित्र प्रवेश गर्दा कुकुर भुक्नुपर्ने, मृतकलाई मार्न प्रयोग गरिएको चक्कु प्रतिवादीले भान्सामा प्रयोग गर्ने र पन्जा पनि भान्सामा नै प्रयोग हुने पन्जा रहेको भन्ने समेतको आधारमा शंका र अनुमान व्यक्त गर्दै दिएको जाहेरीको आधारमा यी प्रतिवादी उपर ज्यान सम्बन्धी कसूरको अभियोगमा सजाय गरी पाउन वादी नेपाल सरकारको तर्फबाट अभियोग पत्र पेश भएको देखिन्छ । प्रतिवादी आरोपित कसूरमा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दाको अवस्थादेखि नै इन्कार रहेको, अनुसन्धानका क्रममा संकलित भौतिक सबुद प्रमाण जाँचबाट यी प्रतिवादीको मृतक झालाइ कर्तव्य गरी मार्ने कार्यमा प्रत्यक्ष संलग्रता रहेको पुष्टि नभएको, किटानी जाहेरी दिने मृतकको श्रीमती ज्ञानुले घटना वारदातको लगत्तै मौकामा घटना सम्बन्धमा कागज गर्दा वा परिवारका अन्य सदस्यले कागज गर्दा यी प्रतिवादी उपर शंका गरेको नदेखिएको, यी प्रतिवादीले आरोपित कसुर स्विकार नगरेपछि यी यी प्रमाणबाट निजको इन्कारी जिकिर खन्डित हुन गएको भन्न सकिने प्रमाणको अभाव रहेको देखिन्छ। अत मृतक केशव राज झाको मृत्यु कर्तव्य बाट भएको स्थापित भएको, कर्तव्य गर्ने व्यक्तीको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादी बाहेक अन्य व्यक्ति मृतकको घर प्रवेश गर्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भिर फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्दान्तबाट समेत मिल्ने देखिएन ।’

जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो । तर, उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गर्‍यो। सामान्यतया दुई तहको अदालतमा मुद्दा हारेपछि सरकारी वकिल कार्यालय सर्वोच्च अदालत गएको पाइँदैन । प्रहरी र सरकारी वकिलले दाबी गरेका अभियुक्तले सफाइ पाएपछि हत्याजस्तो गम्भीर कसूरमा उनका परिवारले न्याय पाउने सम्भावना पनि सकिएको छ । अब प्रहरीले फेरि अनुसन्धान गर्ने कानूनी व्यवस्था छैन ।

अभियोग पत्रमा तामाङलाई नै किटान गरिएको र अन्य व्यक्तिको संलग्नता हुन सक्नेबारे केही उल्लेख नभएकाले झा हत्या प्रकरण अब कानूनी रुपमा ‘क्लोज’ भएको अनुसन्धान अधिकारी बताउँछन् । एउटै घटनामा एकपटक अभियोग पत्र दायर भएपछि त्यसमा अदालतले फैसला गरेपछि प्रहरीले फेरी अनुसन्धान गरेर अर्को अभियोग पत्र लैजाने कानूनी व्यवस्था छैन । महान्यायधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता सञ्जीवराज रेग्मीले आरोपित व्यक्तिले सफाइ पाएपछि अर्कै व्यक्तिको खोजीका लागि पुन: अनुसन्धान हुने कानूनी व्यवस्था र अभ्यास नरहेको बताए ।

‘तर, मुद्दा चलिरहेकै अवस्था छ र अन्य तथ्य र आरोपीका सम्बन्धमा पूरक अभियोग पत्र चाहीँ लैजान सकिन्छ’, रेग्मीले भने । उनका अनुसार दुई तहको अदालतबाट सफाइ पाएपछि सरकारी वकिल कार्यालय दोहोर्‍याई पाऊँको निवेदन लिएर सर्वोच्च जान सक्छ । स्रोतका अनुसार झाको सन्दर्भमा दोहोर्‍याई पाउँको निवेदन गएन ।

तामाङले सफाइ पाएपछि काठमाडौं प्रहरीले हालैमात्र अनुसन्धान प्रतिवेदनको पुन: अध्ययन गरेको थियो ।

‘ घटना तामाङबाहेकका व्यक्तिबाट भएको अवस्था देखिँदैन । तर, उनीविरुद्ध जुटाउनुपर्ने प्रमाणमा हामीले कम मिहेनत गर्‍यौं कि’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । कर्तव्य ज्यानजस्तो जघन्य कसूरमा हतारमा अभियोग पत्र लैजाँदा वास्तविक दोषी उम्कन सक्ने कानूनविद्हरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर