पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छ : राजकिशोर यादव (भिडिओ) – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छ : राजकिशोर यादव (भिडिओ)

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालिन योजना बिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताए ।

उनले बिना योजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरु विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे । सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । उनले कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने भन्दै उनले यस्तो बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए । उनले पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको भन्दै फाइलहरुको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए ।

उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए । उनले विकास बिरोधी र मधेस बिरोधी चिन्तन भएकाहरु काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको बताए ।

उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताए । उनले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्नको लागि हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचिबाट हट्न नसकेको प्रति दुःख व्यक्त गरे ।

यस्तो छ यादवको भनाइः

उड्डयन भनेको नेपालको लागि नेपाललाई आर्थिक रुपमा समृद्ध, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हो भने यो क्षेत्रमा विकास गर्न सकियो भने नेपालको जिडिपीमा सबै भन्दा ठूलो योगदान पुग्नसक्छ भने रोजगारीको क्षेत्रमा पनि ठूलो भुमिका खेल्नसक्छ ।

यसको सुधारको लागि हामी सबैले के गर्यौं भन्ने विषयमा आफैँले आफैँलाई मूल्याङ्कन गर्न जरुरी छ । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थलको कुरा गर्दा निजगढ विमानस्थलसँग जोडिदिने काम भइरहेको छ । जुन एउटा विकास बिरोधी र अर्को मधेस बिरोधी चिन्तन रुपमा काठमाडौंको पाँचतारे होटलमा बसेर बहस गर्ने काम भएको छ ।

पोखरा विमानस्थल बनाउँदा दीर्घकालिन योजना थियो की थिएन । आज किन विमानस्थल चलेन भनेर उनीहरुलाई सोध्नुपर्ने हो । आज चलने भनेर उम्कन पाउँछ । ती सबै जना दोषीको भागिदार हुनुपर्छ । नत्र काराबाही गर्नुपर्छ । कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गरिँदैन ।

थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठूलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न,यसको पछाडि क–कसको स्वार्थ छ, समितिले अध्ययन गर्दैछ । पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको छ, यथार्थ छानविन हुन्छ र दोषीलाई कारबाही हुन्छ ।


प्रतिक्रिया

One thought on “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छ : राजकिशोर यादव (भिडिओ)

  1. विमानस्थल चलाउन प्रयास गर्नु्पर्छ । पोखरालाई जानिजानि असफल बनाउन लाग्ने र यो योजनाको विरोध गर्ने भारतीय दलाल हुन् । अहिले सरकार नै दिल्लीका दलालहरूको भएपछि कहाँ चलाउछन् त ? अनि अर्को दलालले आज के भन्यो त्यसको के अर्थ हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर