राष्ट्रियसभामा जान गठबन्धन दलमा शीर्ष नेताहरूकै भागदौड, अध्यक्षमा तीन दलकै ‘लबिङ’ – Nepal Press

राष्ट्रियसभामा जान गठबन्धन दलमा शीर्ष नेताहरूकै भागदौड, अध्यक्षमा तीन दलकै ‘लबिङ’

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनाव मिलेर जान सहमत छन् । तर, सीटको बाँडफाँटमा कुरा मिलेको छैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले राष्ट्रियसभामा साझा उम्मेदवार खडा गर्दैछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ सांसदको पदावधि सकिएर रिक्त हुन लागेको स्थानमा निर्वाचन हुँदैछ । त्यस्तै राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिँदैछ । एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र एक सांसद बिदा हुँदैछन् ।

गठबन्धन दलबीच आफ्नो कायम सीटबाहेक एमालेको ९ सीटमा भागबन्डा गर्ने सहमति छ । १९ सीटमध्ये कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई १ सीट दिने गठबन्धनमा प्रारम्भिक प्रस्ताव छ । त्यसो हुँदा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट पनि कांग्रेसकै हुनेछ ।

तर, जसपा र नेकपा एसले थप एकएक सीट पाउनुपर्ने अडान राखेका छन् । चार ठूला दलहरु राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरुले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

दलहरुबीच सीट बाँडफाँटको आन्तरिक गृहकार्य भइरहे पनि गठबन्धनमा भने थप छलफल नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म गठबन्धन दलका नेतृत्वबीच साझा उम्मेदवार बनाएर जाने भन्नेबाहेक थप छलफल भएको छैन । कति संख्या कसले कहाँको लिने भन्नेबारेमा छलफल अगाडि बढेको छैन ।’

उनका अनुसार सबै दलहरुले आआफ्नो सीट कायम राखेर विपक्षीको सीटलाई हैसियतअनुसार बाँड्ने तयारी छ ।

यता गठबन्धन दलबीच सीटको भागबन्डा नटुंगिँदै कांग्रेस, माओवादी र नेकपा एसमा राष्ट्रियसभाको सदस्य बन्न पार्टीका शीर्ष नेताहरुकै दौडधूप छ।

कांग्रेसबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, गोविन्द पोखरेल, फरमुल्ला मन्सुर, महालक्ष्मी उपाध्याय डीनालगायत दर्जन बढी नेताहरुले आन्तरिक तयारी थालेका छन् ।

कांग्रेसले उम्मेदवार चयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ। तर, त्यहाँ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो हिंस्सा लिने निर्णय गरिसकेको छ । तर, देउवाले यस पटक आफूलाई महाधिवेशनमा सहयोग गरेका पार्टीका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने प्रयास गरेका छन् ।

तर, इतर पक्षको बैठकले समानुपातिकमा बसेका र निर्वाचन हारेका व्यक्तिलाई ल्याउन नहुने निष्कर्ष निकालेको छ । अहिलेको आवश्यकतालाई हेरेर उम्मेदवार चयनमा निश्चित मापदण्ड बनाउनुपर्नेमा जोड दिन्छन्, नेता अर्जुनसिंह केसी ।

उनी भन्छन्, ‘हिजो चुनाव लडेका, समानुपातिकमा बसेकाहरूलाई अवसर दिने कि नदिने भन्ने विषयमा पनि छलफल गर्नुपर्छ । तर, एउटा निश्चित मापदण्ड होस् भन्ने हाम्रो चाहना हो । भागबन्डाको नाममा जजसलाई जोजो मनपर्छ, त्यो राख्न हुँदैन । योग्य व्यक्तिलाई मात्रै ल्याउनुपर्छ ।’

कांग्रेसमा मात्रै नभइ माओवादीमा पनि लबिङ गर्ने नेताहरुको उस्तै लर्को छ । माओवादीबाट महासचिव देव गुरुड, डोरप्रसाद उपाध्याय, चक्रपाणि खनाल, मातृका यादव, हरिबोल गजुरेल, गणेश शाह, रामनारायण बिडारीलगायतले आकांक्षा व्यक्त गरेका छन् ।

तर, माओवादीमा सबै निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा हुने भएकाले नेताहरु धेरै खुलेका छैनन् । राष्ट्रियसभामा जान समानुपातिक सूचीमा रहेका, चुनाव हारेका, सचिवालयदेखि केन्द्रीय समितिमा रहेका नेताहरुको दौडधूप रहेको एक पदाधिकारीले बताए ।

‘अहिले राष्ट्रियसभामा जान धेरै दोडिरहेका छन् । समानुपातिक सूचीमा रहेका, चुनाव हारेका, सचिवालयदेखि केन्द्रीय सदस्यहरुका नेताहरु दौडिरहेका छन् । हाम्रो सबै जिम्मेवारी अध्यक्षकै हुन्छ । उहाँले ककसलाई लानुहुन्छ भन्ने थाहा हुँदैन । हाम्रोमा के मापदण्डको कुरा हुन्थ्यो र ?’, ती पदाधिकारीले असन्तुष्टि पोख्दै भने ।

यस्तै माधव नेपाल नेतृत्वको नेकपा एसमा पनि राष्ट्रियसभामा जान धेरै नेताहरुले आकांक्षा व्यक्त गर्दै आएका छन् । यतिबेला अध्यक्ष नेपाललाई पार्टीमा नेताहरु जोगाउँदै व्यवस्थापन गर्न चुनौती छ ।

नेकपा एसबाट प्रमेश हमाल, गंगालाल तुलाधर, गणेश विके, रामचन्द्र झा, सावित्री भुसाललगायत नेताहरु राष्ट्रियसभामा जाने चर्चा छ ।

राष्ट्रियसभा निर्वाचनको लागि गठबन्धन दलसँग छलफल गरेर अघि बढ्ने भन्ने भए पनि अहिलेसम्म नटुंगिएको सचिव जीवनराम श्रेष्ठले बताए ।

उनले भने, ‘त्यो वियषमा आएको सचिवालय बैठकमा छलफल भएन । हामीले यसअघि नै गठबन्धन दलबीच मिलेर जाने सहमति गरेका थियौं । त्यसबारे थप निर्णय भएको छैन । गठबन्धन दलबीच छलफल गरेर अघि बढ्छौं ।’

गठबन्धनबाट निर्वाचनमा होमिँदा जित सुनिश्चित भएकाले नेताहरुले तीव्र आकांक्षा राखिरहेका छन् । गठबन्धन दलमा नेताहरुले आकांक्षा राखेर शक्ति केन्द्र धाइरहँदा एमालेले अहिलेसम्म खासै तयारी थालेको छैन । निर्वाचनबाट आउने नतिजा प्रष्ट भएकाले एमालेले अहिले राष्ट्रियसभा निर्वाचनभन्दा पनि पार्टीको अभियानलाई चासो दिएको बताइन्छ ।

अध्यक्षमा तीन दलकै दाबी

यता, राष्ट्रियसभाको अध्यक्षमा कांग्रेससहित माओवादी र नेकपा एसले पनि दाबी गरेका छन् । एमालेबाट निर्वाचित अध्यक्ष तिमल्सिना बिदा भएपछि अहिले उपाक्ष्यक्ष रहेकी माओवादीकी उर्मिला अर्यालले अध्यक्षमा दाबी गरेकी छन् ।

अध्यक्षको बारेमा अहिलेसम्म गठबन्धनमा कुनै सहमति नभएकाले माओवादीको दाबी स्वाभाविक भएको सचिव गणेश शाह बताउँछन् ।

उनले भने, ‘अहिलेसम्म कुनै सहमति भएको छैन । अध्यक्षमा दाबी गरिरहेका छौं । अब कसको बल पुग्छ, हेरौं ।’

तर, कांग्रेस ठूलो र अहिलेसम्म संवैधानिक पदहरुमा आफूहरु कहीं पनि नभएकाले दाबी स्वाभाविक भएको प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् ।

उनी भन्छन्, ‘अध्यक्षमा कांग्रेस ठूलो र अहिलेसम्म संवैधानिक पदहरुमा कहीं पनि नभएकाले हामीले पाउनुपर्छ भन्ने बुझाइसकेका छौं । माओवादी र नेकपा एसले दाबी गर्नु स्वाभाविक हो । तर, उहाँहरुले कांग्रेसले दाबी गरिसकेपछि बुझेर निर्णय गर्नुहुन्छ भन्ने लाग्छ ।’

राष्ट्रपति कांग्रेस, माओवादीबाट प्रधानमन्त्री, एमालेबाट सभामुख भएपछि आफ्नो पार्टीबाट राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने माधव नेपालको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *