मर्यादित महिनावारी मर्म: बिदा कि सम्मानजनक कार्यस्थल ? – Nepal Press

मर्यादित महिनावारी मर्म: बिदा कि सम्मानजनक कार्यस्थल ?

यही मंसिर २१ गते लुम्बिनी प्रदेशसभाले पारित गरेको प्रदेश निजामती सेवा ऐनले महिला कर्मचारीहरुका लागि ‘महिनावारी (पिरियड्स) बिदाको व्यवस्था पारित गरेको खबर सार्वजनिक भएपछि मर्यादित महिनावारीको बहस थप व्यापक बनाउन आवश्यक देखिएको छ ।

नेपालमा महिनावारीको समयमा बिदा आवश्यक छ वा बिदालाई विकल्पमा राखेर सम्मानजनक कार्यस्थल बनाउनु आवश्यक हो ? मर्यादित महिनावारीको थप बहसमा सम्मानजनक महिनावारी भन्ने मर्म के हो वा हाम्रो स्थानीय स्तरमा महिनावारीको सवाल के हो ? यसबारे छलफल गरौं ।

नेपालको संविधान त्यसअन्तर्गत बनेको फौजदारी संहितासमेतले एक स्तरमा महिनावारी विभेदको अवस्थालाई सम्बोधन गरेको छ । तर, घरघरका आमा, छोरीहरु महिनावारी हुँदा उनीहरुलाई न्यूनतम आवश्यकताका कुराहरु परिपूर्ति गर्ने र सम्मानजनक व्यवहार गर्ने कुरा कसरी भएको छ भन्ने कानूनले हेर्दैन ।

तर, हाम्रा प्रदेशस्तरका सरकार भने महिनावारी बिदाको अभ्यासमा जाने नीतिगत व्यवस्थातर्फ गइसकेको छ ।

महिनावारी महिलाको प्रजननसँग जोडिएको सबैखाले अवस्थाको पहिलो कुरा हो, मूल कुरा हो । अझ भन्दा मानव सृष्टि रचनाको मूल नै महिनावारी हो । हामी महिनावारीको रगतलाई शुद्ध भनिरहेका छौं । महिनावारीको अवस्था सबैभन्दा सुन्दर समय पनि हो । महिलाको मर्यादा र आत्मबलसँग जोडिएको विषय पनि हो यो ।

अब जाऔं, महिनावारी र शारीरिक अवस्थामा । महिनावारीमा सबैलाई बराबरी पेट दुःख्दैन । स्वास्थ्य विज्ञानले पनि भन्छ कि महिनावारी भएका १०० महिलामध्ये ५ जनालाई मात्रै बेस्सरी पेट दुःख्छ ।

महिलाको महिनावारीको करिब २४ घण्टा अघि ८५ प्रतिशत पेट दुःखाइ स्वास्थ्य विज्ञानले नै सामान्य मान्ने गरेको छ । १०० मध्ये ९५ जना महिलालाई महिनावारी भएको केही घण्टामा हराएर जाने सामान्य पेट दुःखाइ हुने गर्छ । यसबारे अझ थप यस महिनावारीः दुःखाइको सामाजिकीकरण आलेखमा हेर्नुहोस् ।

तर, महिनावारीमा सबैको रगत बग्छ । रगतको मात्रा धेरै वा थोरै व्यक्तिअनुसार होला । अनि महिनावारी प्याड सबै महिलालाई चाहिन्छ । महिनावारीले कार्यालय समय वा कार्यालय बाहिरको समय भन्दैन । जुन बेला पनि महिलाको महिनावारी हुनसक्छ ।

एक पटक सोचौं त । एउटी महिला कार्यस्थलमा हुँदाहुँदै महिनावारी भइन् । त्यही दिन झोलामा प्याड बोकेर हिँड्न बिर्सिइन् । उनको योनीबाट महिनावारी रगत बग्यो । उनलाई प्याडको खाँचो छ । यस्तो अवस्थामा प्याड पहिलो आवश्यकता हो कि बिदा ?

अर्को तरिकाले पनि सोचौं । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले महिला औसतमा १३ वर्ष ६ महिनामा महिनावारी हुने भनेको छ । महिनावारी भएको उमेरदेखि रजनोवृत्तिसम्म पुग्दा महिलाले फरक फरकखाले शारीरिक अप्ठेरा भोग्ने गरेका छन् । रजनोवृत्तिको अवस्थामा त झन् हर्मोनहरुको परिवर्तनको कारणले चिडचिडाहटदेखि गम्भीर स्वास्थ्य समस्यासम्म भोग्ने गरेका उदाहरणहरु पाइएका छन् । उनलाई योनीबाट रगत बग्ने ३ वा ५ दिनभित्रै भन्दा पनि अघि वा पछिको समयमा उपचार अनि सहजीकरण चाहिएको छ ।

तर, हामी ३ दिने बिदामा महिनावारीको सवाल त सकाउँदै छैनौं ?

अब महिनावारीलाई मर्यादित दृष्टिकोणबाट हेरौं । एउटा कार्यालय जहाँ चाहिएको बेलामा महिनावारी प्याड उपलब्ध छ । महिलालाई महिनावारी हुनुअघि वा हुँदाको समयमा शारीरिक समस्या आएमा सहकर्मी, सिनियरले उसको शारीरिक अवस्था बुझ्छन् । सफा पानी आउने, प्याड व्यवस्थापन गर्न सकिने गरी शौचालयको व्यवस्था छ । ढाड कम्मर दुख्दा केही घण्टा आराम गर्ने कक्ष छ ।

सहकर्मीहरु उनको महिनावारी अवस्थाको अघिदेखि हुने अप्ठेरोमा कामको चाप घटाउन वा सहज वातावरण बनाउन सहयोगी छन् । त्यतिबेला अधिक पेट नदुःख्ने वा शारीरिक र मानसिक रुपमा उपचारमा नै जानुपर्नेबाहेकलाई बिदा आवश्यक पर्ला त ?

नेपालमा मर्यादित महिनावारीको सुरुवातकर्ता राधा पौडेल पनि महिनावारी बिदा असफल अभ्यास भएको बताउँछिन् । उनका अनुसार महिनावारी र रजनोवृत्तिको क्रममा सबैलाई गम्भीर समस्या देखिँदैन । तर, जसलाई समस्या हुन्छ, उसलाई उपचार र सहजीकरणको जरुरत हुन्छ, उसले सहज सुविधा पाउनुपर्छ, मर्यादित महिनावारीयुक्त कार्यस्थल हुनुपर्छ ।

त्यसैले स्थानीयता र आवश्यकता बुझेरमात्रै यस्ता अभ्यासहरु कानूनमा स्थापित गर्नुपर्छ भन्ने उनको तर्क छ । पौडेल यस्तो बिदाले महिनावारी विभेदलाई बढावा गर्नसक्ने चेतावनी पनि दिन्छिन् ।

हामी महिनावारीको स्थानीय सवाल के हो भनिरहेका छौं । एक पटक सोचौं त महिनावारीलाई मात्रै हामीले प्रयोग गर्ने भाषा कस्ता छन् । बाहिर सरेको, छुइ भएको, महिना बारेका वा यस्तै यस्तै । प्रदेश सरकारले त नेपालको सरकारी अभ्यासमा नै नभएको अंग्रेजी शब्द पिरियड्स पनि प्रयोगमा ल्याएको छ ।

सबैभन्दा पनि कार्यस्थलको सम्मानजनक महिनावारी व्यवहार हेरौं । यो महिनावारी बिदाले समस्यामा रहेकाबाहेकका महिलालाई महिनामा ३ दिन (यद्यपि ऐनमा दिन उल्लेख छैन) घर बसाएर उनको महिनावारी समय मर्यादित बन्ला त ?

निजामती कर्मचारीहरुको बढुवा मापदण्डमा उसको कार्यकुशलतालाई समेत अंकभार मापन गर्ने गरिन्छ । यो ३ दिन बिदाले महिनावारीमा सहज प्याड फेर्ने वातावरण भए पुग्ने महिलालाई साँच्चिकै कार्यकुशलता कमजोर बनाउने माध्यम त बन्दैन ? त्यसैले महिनावारी बिदा आवश्यक छ कि छैन व्यवहारिक भएर सोचौं । आवश्यकअनुसार मर्यादित महिनावारी अभ्यास गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *