भारतीय चुनावमा ‘मतपत्र’ पुन:स्थापनाको माग बढ्दै, विद्युतीय मेसिनमा यसरी हुन्छ हेराफेरि – Nepal Press

भारतीय चुनावमा ‘मतपत्र’ पुन:स्थापनाको माग बढ्दै, विद्युतीय मेसिनमा यसरी हुन्छ हेराफेरि

काठमाडौं । भारतमा विद्युतीय भोटिङ मेसिनको विश्वसनीयतालाई लिएर राष्ट्रिय बहस फेरि थालिएको छ । अप्रत्याशितरूपमा भारतीय जनता पार्टीले चुनाव जितेलगत्तै केही विज्ञले तथ्य र तर्कसहित ईभीएम ह्याक गरिएको पुष्टि गर्न खोजेपछि यो बहसमा ठूला नेतासमेत सामेल भएका छन् ।

सत्तारुढ भाजपाबाहेक अन्य प्रायः सबै दल ‘ब्यालेट पेपर’ को पक्षमा उभिएका छन् । सत्तारुढ भाजपाले योजनाबद्धरुपमा ईभीएम हेराफेरि गरेको दाबीमा दलहरू समेत सहमत हुन थालेका छन् । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले लोकतन्त्रप्रति जनताको विश्वास पुनःस्थापना गर्न ब्यालेट पेपरबाटै मतदान गराइनुपर्ने बताएका छन् ।

डीएस फोर न्युज च्यानलमा एकजना विज्ञ दाबी गर्ने व्यक्तिले के कति कारणले ईभीएम ह्याक गरियो र कुन अवस्थामा नतिजा हेरोफेरि हुन्छ भन्ने तर्कसहितको भिडिओ शेयर गर्दै यादवले कागजी मतपत्रको आवश्यकता रहेको बताएका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका यादवले लोकतन्त्रमा जनतालाई सरकार चुन्ने अधिकारमात्र नभएर सरकार चुन्ने तरिका समेत चुन्ने अधिकार रहेको भन्दै ईभीएमको बारेमा जनमत लिन आवश्यक रहेको बताएका छन् ।

विश्वका कतिपय देशमा जनताको राय लिएर ईभीएमको साटो मतपत्र प्रयोग गरिएको भन्दै भारतमा ब्यालेट पेपर नै निर्वाचनको सत्यता मापन गर्ने सबुत हुनसक्ने बताएका छन् ।

प्रमुख विपक्षी कांग्रेसले पनि ईभीएममा हेराफेरि भएको आशंका गर्दै ब्यालेट पेपरको पक्षमा अभिमत जाहेर गरेको छ । तृणमूल कांग्रेसले समेत ब्यालेट पेपर पुनस्र्थापनाको पक्षमा आफूलाई उभ्याएको छ ।

कसरी हुन्छ हेराफेरि ?

अखिलेश यादवले जुन भिडिओ अन्तर्वार्ता शेयर गर्दै ईभीएमको निष्पक्षतामाथि प्रश्न उठाएका छन् सो भिडिओमा एक व्यक्तिले पर्याप्त तर्क पेश गरेका छन् । उनले विपक्षी दलहरूलाई गरिबी, बेरोजगारी, विकासका सबै एजेण्डा छाडेर मतपत्रको एजेण्डा उठाउन समेत उक्साएका छन् ।

उनका अनुसार निर्वाचनको मतगणना गर्न जति ढिला गरिन्छ त्यस्तो बेला ईभीएममा हेराफेरि हुन्छ । त्यसरी ढिला भएका ठाउँमा मात्र बीजेपीले जित्ने गरेको र मतदान भएलगत्तै गणना गरिएका ठाउँमा कांग्रेस वा अन्य दलले जित्ने गरेको उदाहरण पेश गरेका छन् ।

उनको दाबी छ, ‘सन् २०२२ मा उत्तर प्रदेशमा ८ चरणको चुनाव ७ फेब्रुअरीमा सकियो तर मतगणना १० मार्चमा भयो । नतिजा बीजेपीको पक्षमा गयो । उत्तराखण्डमा १५ फरवरीमा निर्वाचन भयो, मार्च १ मा गणना गरियो र नतिजा बीजेपीको पक्षमा गयो । गोवा र मणिपुरमा पनि १५ दिनदेखि १ महिनाको ग्याप राखियो नतिजा बीजेपीको पक्षमा गयो । कर्नाटकमा १० मे मा निर्वाचन भयो ३ दिनपछि १३ मे मा गणना भयो, त्यहाँ कांग्रेसले जित्यो । किनकी ३ दिनको बीचमा हेराफेरि गर्न सम्भव हुँदैन । अहिले मध्यप्रदेश, छत्तिसगढ, राजस्थानमा त्यही समय राखियो जबकी तेलंगनामा मतदान भएको ३ दिनपछि नै गणना भयो र त्यहाँ कांग्रेसले जित्यो ।’

उनले मत प्रशितको आँकडासमेत चुनाव आयोगले एक साताअघि र पछि गरेर १० प्रतिशत फरक पार्दा निर्वाचनको परिणाम हेराफेरि भएको र एक्जिट पोलहरू समेत फ्लप खाएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर