बाबुरामकै लागि पार्टीको ‘ब्रान्डेड’ नाम फेर्न किन तयार भयो माओवादी ? – Nepal Press

बाबुरामकै लागि पार्टीको ‘ब्रान्डेड’ नाम फेर्न किन तयार भयो माओवादी ?

नेताहरू भन्छन्- धेरैलाई समेट्न उदार भएका हौं

काठमाडौं । नेकपा माओवादी केन्द्रको गत भदौ २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय थियो- कम्युनिष्ट घटकहरूसँगको पार्टी एकतालाई सफल तुल्याउन नेकपाको पछाडि कोष्ठमा रहेको नाम फेर्ने ।

यो निर्णय बैठकले गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेर पार्टी पंक्तिमा सर्कुलर जारी गरे ।

निर्णयमा भनिएको थियो, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ ।’

अहिले माओवादी केन्द्र ‘जनतासँग माओवादी’ अभियानमा केन्द्रित छ । पार्टीलाई नयाँ ढंगले लैजाने निष्कर्षसहित रुपान्तरण अभियान थालेको माओवादीले समान विचारधाराका कम्युनिष्ट घटकहरुसँग समेट्दै जाने लक्ष्य अख्तियार गरेको छ ।

त्यही रणनीतिस्वरूप अहिले माओवादीले आफ्नो नेतृत्वमा समाजवादी मोर्चा बनाएको छ । त्यसमा माओवादीसहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा छन् ।

अहिले मोर्चामा नअटाएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको गृहकार्य थालेको छ । यसअघि मोर्चा गठनको बेलामा प्रचण्डले सत्ता टिकाउन संसदीय अंकगणितलाई ख्याल गरेर बाबुरामलाई बाइपास गरेका थिए ।

मोर्चाको सूत्रधार आफैं नअटाएपछि प्रचण्डसँग बाबुराम टाढिएका थिए । तर, अहिले उनी एकता संयोजन समिति बनाएर पार्टी माओवादीमा बिसाउन तयार भएका छन् ।

बाबुराम नेतृत्वको नेकपासँग एकता गर्न माओवादी आफ्नो ब्राण्ड त्याग्न तयार छ । नेसपासँग एकतापछि नेकपा (समाजवादी) नाम राख्ने दुई दलबीच सहमति बनिसकेको छ ।

तर, माओवादीले जनस्तरसम्म आफ्नो ब्राण्ड बनिसकेको नाम बाबुरामसँग एकता गर्नमात्रै नभएको नेताहरु बताउँछन् । अध्यक्ष प्रचण्डले नेकपा एस, विप्लव, जसपासहित मोर्चामा आबद्ध भएका दललाई पनि एकताको लागि नाम बाधक नबनोस् भन्ने रणनीति राखेर पार्टीको नाम फेर्न तयार भएका हुन् ।

नेकपा एसले यसअघि नै माओवादीसँग एकता गर्न गृहकार्य थालेको थियो । त्यसबेला नामको विषयलाई लिएर नेकपा एसका सम्मानित नेता झलनाथ खनालसहित अधिकांश नेताहरूले विमति राखेका थिए । त्यसैले माधव नेपाललाई पनि प्रचण्डसँग पार्टी एकताको लागि नाम फेरे ढोका खुला रहने माओवादी नेताहरुको बुझाइ छ ।

तर, नाम फेर्ने निर्णय आगामी महाधिवेशनबाट मात्रै टुंग्याउने तयारी छ । माओवादीले अन्य दलसँग पार्टी एकता गर्नुअघि मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्मको तयारीलाई हेर्दा त्यो सर्ने निश्चितप्राय देखिन्छ ।

गत साउनमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा विधान सम्मेलन गरेर त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, मंसिरमा हुने सम्मेलनबारे पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।

पार्टीको नाम फेर्नेबारे लामो समयदेखि छलफल चलिरहेको सचिव दिनानाथ शर्मा बताउँछन् । उनले भने, ‘पार्टीको नाम फेर्नेबारे छलफल भइरहेको छ । पार्टीको नाम फेरे एकता गर्न सहमत छौं भन्ने कुरा एकतामा आउन चाहने दलहरुबाट आएको छ । नाम फेर्नेबारे पदाधिकारीको बैठकले आवश्यक निर्णय गरिसकेको छ ।’

माओवादी जनताको बीचमा स्थापित भइसकेको इतिहास बोकेको नाम भएको उनी स्वीकार्छन् । सचिव शर्मा भन्छन्, ‘माओवादी एउटा इतिहास बोकेको नाम हो । यो पदाधिकारी र अध्यक्षले मात्र चाहेर फेरिने कुरा होइन । यसलाई सामूहिक रुपमा नै छलफलमा लैजान्छौं । तल कार्यकर्ता तहबाट पनि यसमा सहमति आयो भने परिवर्तन हुनसक्छ, नभए हुँदैन ।

जिल्ला र प्रदेश सम्मेलन हुँदै सबैको राय र सुझावलाई लिएर केन्द्रीय महाधिवेशनले निर्णय गर्ने उनको भनाइ छ ।

कार्यालयका मुख्य सचिव तथा कोषाध्यक्ष श्रीराम ढकाल पनि नाम फेर्नेबारे पार्टीमा बहस भइरहेको बताउँछन् ।

माओवादी एउटा ब्राण्ड भइसकेको इतिहास बोकेको नाम किन फेर्न तयार हुनुभयो भन्ने जिज्ञासामा ढकाल भन्छन्, ‘सार र रुपको द्वन्द्वात्मक सम्बन्ध हुन्छ नै । तर, मुख्य कुरा सार हो । अरु वैचारिक विषयमा कुरा मिलिसकेपछि रुपमा त सोच्न सकिने कुरा भयो । तर, यो अध्यक्षले पनि एक्लै निर्णय गर्ने कुरा रहेन । केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने हो ।’

अहिले पार्टीमा छलफलको विषय रहेकाले विमति नरहेको उनको जिकिर छ ।

केन्द्रीय सदस्य रञ्जित तामाङ पनि पार्टी एकताको बेलामा नाम, झण्डा फेर्ने, विचार सिद्धान्त मिलाउने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने तर्क गर्छन् । उनले भने, ‘प्राविधिक हिसाबले सबैको अपनत्व र सबैको अस्तित्व समेटिने वातावरण बनाउनुपर्छ भने त्यसलाई ठूलो बनाउनुको अर्थ हुँदैन । नाम परिवर्तन हुनसक्छ, त्यसमा आपत्ति छैन ।’

उनले पार्टीको नाम जे भए पनि काम, विचार र एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताउँछन् । उनले थपे, ‘एकता गर्दा दुवै पार्टीको पुरानो नामको अस्तित्व झल्कियो कि झल्किएन भनेर हेर्ने गरिन्छ । तर, अहिले त्यसो गर्नु जरुरी छैन ।’

माओवादी एउटा ब्राण्डको रूपमा यहाँसम्म आइसकेको तामाङको भनाइ छ । उनले माओवादी नाम छोड्नु हुँदैन भन्ने मत पनि पार्टीभित्र रहेको स्वीकार गरे ।

नेता तामाङ भन्छन्, ‘हामीले यो नामलाई त कहिले माओवादी केन्द्र, कहिले नेकपा बनाएर पनि गयौं । त्यसैले नाममा समस्या हुँदैन । माओवादीको मूल नेतृत्वले गर्ने काम के हो भन्ने कुराले महत्व राख्छ । कम्युनिष्ट पार्टी त्यसमा पनि पछिल्लो राजनीतिक रुपान्तरणको नेतृत्व गरेको हुनाले सकेसम्म नाम यही राख्नुपर्छ भन्ने पनि छ ।’

कसैले देश र जनताको पक्षमा काम गर्न तत्परता देखाउँदा समेट्नुपर्ने उनको बुझाइ छ । तामाङले भने, ‘देशको पक्षमा काम गर्न तयार हुने, तर पार्टीको नाम र झण्डाको कारणले असहमति राख्छ भने त्यसबेला हेर्न सकिन्छ । त्यसलाई एकताको बाधक बनाउन हुँदैन ।’

माओवादीका महासचिव देव गुरुङले पूर्वमाओवादी घटकको एकता गर्ने विषयमा छलफल चलिरहेको बताए ।

रुकुम पश्चिम पुगेका उनले भने, ‘पूर्वमाओवादी घटकहरूबीच एकताको कुरा चलिरहेको छ । समाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ ।’

जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “बाबुरामकै लागि पार्टीको ‘ब्रान्डेड’ नाम फेर्न किन तयार भयो माओवादी ?

  1. जति मिले पनि यिनलाई जनताले अब कहिल्यै पत्याउनेवाला छैनन । यी विदेशीका सेवकलाई पत्यायो भने देश सकिन्छ । त्यसैले यी मिलुन कि फुुटुन त्यो जनताको सरोकारको कुरा रहेन । काम गर्नु छैन खालि कहिले गठबन्धन, कहिले मोर्चा कहिले एकता कहिले फुट भनेर जनता झुक्याएर यसो लुटन पाईन्छ कि भनेर हिडेको छ माओवादी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *