पक्राउ परेका दुर्गा प्रसाईंका आन्दोलनकारीहरूलाई रिहा गर्न सरकारसँग राप्रपा नेपालको माग – Nepal Press

पक्राउ परेका दुर्गा प्रसाईंका आन्दोलनकारीहरूलाई रिहा गर्न सरकारसँग राप्रपा नेपालको माग

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता वसन्तमान सिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।

एनसेल शेयर खरिद बिक्रीमा अर्बौं रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानूनविपरीत हुने गरी शेयर खरिद-बिक्री भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो, यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

दुर्गा प्रसाईंले गत मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु गरेको शान्तिपूर्ण जनप्रदर्शनका क्रममा मंसिर ८ गते स्वतन्त्र नागरिकका हकहितलाई बेवास्ता गर्दै संविधान र कानूनविपरीत पक्राउ गरिएका श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई हालसम्म थुनामा राखी यातनासहित अमानवीय व्यवहार गरिएको भन्दै रिहा गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर