ओलीको टिप्पणी- रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो – Nepal Press

ओलीको टिप्पणी- रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् ।

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए । उनले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाए ।

उनले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे । उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए । उनले कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाए । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताए ।

अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सांसद डा.शुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताए । न्यायको अगाडि सबै बराबर रहेको बताए ।

यस्तो छ ओलीको भनाइः

राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्छ । राजनीतिक क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि जानु हुँदैन । एक पल्ट एउटा कुरा अर्को पल्ट अर्को कुरा । त्यही परिस्थिति एक समय एकदम उचित, अर्को समय अनुचित यस्तो पनि हुनु हुँदैन ।

अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध काँग्रेस खनिएको छ । काँग्रेस जस्तो पार्टी रवि लामिछानेका बिरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले ।

तर नेपाली काँग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ । एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने । उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने । यो त सत्य हो नि त । यस्तो गर्नु हुँदैन । रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग । अलि मिलेन ।

एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।

कैलाश सिरोहिया कान्तीपुर भन्ने पत्रिकाका सञ्चालक उहाँलाई नागरिकताको विषयमा उहाँको नागरिकता झुटो नागरिकता भयो, कीर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा नै आए । तर त्यसको छानबिन सरकारले गर्यो ।

अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ ।

अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर