टीओआरमा सहमति जुटाउन कार्यदललाई सकस, सत्तापक्ष र कांग्रेस छुट्टाछुट्टै छलफलमा – Nepal Press

टीओआरमा सहमति जुटाउन कार्यदललाई सकस, सत्तापक्ष र कांग्रेस छुट्टाछुट्टै छलफलमा

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन सत्तापक्ष र प्रतिपक्षको छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक घण्टा छलफलपछि सत्तापक्ष र कांग्रेसले बेग्लाबेग्लै छलफलमा थालेको हो ।

अहिले सत्तापक्ष कानूनमन्त्री पदम गिरीको कोठामा आन्तरिक छलफलमा छन्। सत्तापक्षबाट मन्त्री गिरीसहित एमालेका प्रमुख सचेतक महेश बर्तौँला र रास्वपा सांसद शिशिर खनाल सहभागी छन्।

बैठक कक्षमा कांग्रेसका तर्फबाट सहभागी ज्ञानेन्द्र कार्की र जीवन परियार बेग्लै छलफलमा छन्। आजको बैठकलाई दुवै पक्षले निर्णायक ठानेको छ।

बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत हुन नसक्दा सहमति जुट्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर