श्रोत हेरेर मात्र बजेट बनाउन पूर्वअर्थमन्त्रीहरुको बागमती सरकारलाई सुझाव – Nepal Press

श्रोत हेरेर मात्र बजेट बनाउन पूर्वअर्थमन्त्रीहरुको बागमती सरकारलाई सुझाव

हेटौंडा । नेपाल सरकारका दुईजना पूर्वअर्थमन्त्रीहरुले बागमती प्रदेश सरकारलाइ श्रोत हेरेर मात्र बजेट बनाउन सुझाव दिएका छन् ।

बागमतीको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका विषयमा संघीय सरकारका पूर्वअर्थमन्त्रीहरुसँग गरेको अन्तरक्रियामा पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे र डाक्टर युवराज खतिवडाले श्रोतको सुनिश्चितता भएको विषयलाइ मात्र बजेटमा जोड दिन प्रदेश सरकारलाइ सुझाव दिएका हुन् ।

अन्तरक्रियामा पाण्डेले उत्पादनसँग जोडिएका क्षेत्रहरुमा मात्र लगानी गर्ने कार्यक्रममा जोड दिनुपर्ने भन्दै स्थानीय मागअनुसार ३० प्रतिशत खर्च गरेर बाँकी ७० प्रतिशत संसदबाट पारित गरी रणनीतिक योजनामा खर्च गर्नुपर्ने गरि बजेट निर्माण गरिनुपर्ने बताए ।

उनले दुग्ध क्षेत्रलाई उद्योगसँग जोड्न सरकारले पहलकदमी लिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई आकर्षक बनाउन विभिन्न कार्यक्रमहरू बनाउनुपर्ने र कृषि जनशक्ति स्वयंले तयार गर्नुपर्ने पाण्डेको राय छ । उनले राम्रा योजनाहरूलाई निरन्तरता दिनुपर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

अन्तर्क्रिरयामा पूर्वअर्थमन्त्री डा. खतिवडाले संघीय सरकारको बजेट शीर्षक नदोहोरिने गरी प्रदेश सरकारले बजेट बनाउनुपर्ने बताए । उत्पादनमुखी नभई वितरणमुखी बजेट निर्माणमा प्रतिस्पर्धा भइरहेको भन्दै उनले सरकारी खर्च ससाना काममा मात्र हुँदा अपेक्षा अनुसार आर्थिक विकास हुन नसकेको टिप्पणी गरे ।

खतिवडाले स्थानीय तहमा औद्योगिक ग्रामहरु स्थापना गर्नुपर्ने, पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने र लैङ्गिक असमानताको अन्त्य गर्नुपर्ने बताए । जलविद्युत क्षेत्रमा लगानी बढाउनुपर्ने, युवा, नवप्रवर्तन र कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र बायोग्यास तथा गोबरग्यास उत्पादनलाई प्रोत्साहन गर्ने गरी बजेट आउँदा उचित हुनेमा खतिवडाले सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य एवम् बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटाले आन्तरिक स्रोतको पाटो कमजोर रहेको बताए । आन्तरीक स्रोत दरीलो पार्दै बजेट विनियोजन गर्दा सीमा तोक्नुपर्ने उनको भनाइ छ ।

देवकोटाले सानातिना योजनामा हात नहाल्नुपर्ने र गेमचेन्जर योजनालाई अगाडि बढाउनुपर्ने सुझाव दिए । लगानीकर्तालाई आकर्षण गर्नुपर्ने र करदाताले स्वेच्छा बुझेर कर तिर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले विकासका मोडेलहरू सत्ता र प्रतिपक्षी दुवैको अपनत्व हुनेगरी ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व आर्थिक मामिला मन्त्रीहरु कैलाशप्रसाद ढुंगेल, बहादुर सिंह लामा सहित प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा. नरविक्रम थापा, सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रदिप कुमार मैनाली, निलम ताम्रकार, पूर्व उपाध्यक्ष डा. कृष्ण पन्त, डा.होमनाथ चालिसे, डा. जगत बस्नेत, पूर्व कार्यवहाक उपाध्यक्ष श्याम बस्नेत, पूर्व सदस्य प्रल्हाद लामिछाने, यमूना कँडेलले पनि आफ्नो– आफ्नो सुझाव पेस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *