सरकारको लगानी सम्मेलनकै बीच एनसेलको शेयर बेच्दै आजियाटा : कसले किन्दैछ शेयर ? यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया – Nepal Press

सरकारको लगानी सम्मेलनकै बीच एनसेलको शेयर बेच्दै आजियाटा : कसले किन्दैछ शेयर ? यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको मिति तय गरेसँगै एनसेल आजियाटा लिमिटेडले नेपालबाट बाहिरिने घोषणा गरेको छ । मलेसियाको आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ । एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बुझिएको छ ।

एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर हो । भेन्चरको २० प्रतिशत शेयर रहेको छ । स्रोतका अनुसार ५ महिनाको छलफल र तयारीपछि भेन्चरले नै आजियाताको ८० प्रतिशत शेयर किन्ने भएको छ ।

अर्थ मन्त्रालयले मंसिर १० गते पत्रकार सम्मेलन गरेर नेपालमा लगानी भित्र्याउन तेस्रो लगानी सम्मेलन गर्ने निर्णय सार्वजनिक गरेको थियो । सरकारले आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका थिए ।

लगानी सम्मेलन आयोजना गर्न मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहनेछ ।

निजी क्षेत्रले भने सरकारले लगानीको वातावरण बिग्रिँदा पनि ध्यान नदिँदा विदेशी लगानी नेपालबाट बाहिरिन थालेको दाबी गर्छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले तेस्रो लगानी सम्मेलन गर्ने घोषण भएको बेला आजियाटा कम्पनीले नेपालमा रहेको एनसेलबाट लगानी फिर्ता लाने कुरा दुःखद रहेको बताए ।

उनले भने, ‘नेपालमा विदेशी लगानी बढ्दै जानुपर्ने बेलामा भएको विदेशी लगानी फिर्ता जाँदा विश्व बजारमा राम्रो सन्देश जाँदैन । राज्यले पनि नीति निर्माण गर्दा यस्ता कुरा ध्यान दिनु आवश्यक छ । भएको लगानीलाई कसरी जोगाउने र नयाँ लगानी कसरी भित्र्याउने भनेर लगानीको लागि केन्द्रित हुनुपर्ने हो । तर, लगानी सम्मेलनको घोषण भएपछि एनसेलको शेयर बिक्री गरेर जानु राम्रो होइन । यसले लगानी आकर्षण गर्दैन ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आजियाटा एनसेलको लगानीबाट फिर्ता हुने निर्णयले नेपालमा लगानीको वातावारण नभएको देखिएको बताए ।

उनले भने, ‘विदेशीले नेपालमा गरेको लगानी त्यसै त फिर्ता लाँदैनन् । केही समस्या परेर नै आफ्नो शेयर बिक्री गरेर फर्किने निर्णय गरेको हो । हामीले देशको अर्थतन्त्र मन्दीमा गयो, सुधार गरौं भन्दा राज्यले सुनेन । आर्थिक मन्दी देखेर नै आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरेको होला । आर्थिक मन्दीका कारण उद्योगधन्दा चलाउन नसकिने अवस्था आइसकेको छ । राज्यलाई जति भने पनि सुन्दैन । विदेशी कम्पनीले आफ्नो लगानी फिर्ता लानु भनेको लगानी सम्मेलनमा आकर्षणभन्दा पनि विकर्षण हुनु हो ।’

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले भने विदेशी कम्पनीले नाफा कमाएर फर्किनु नेपालको लागि राम्रो भएको बताए । यसले नेपालमा लगानी गरेपछि नाफा कमाउन सकिन्छ भन्ने देखाएको उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *