८ वर्षपछि गुँड फर्किँदै बाबुराम, प्रचण्डपछि दोस्रो वरियता पाउने – Nepal Press

८ वर्षपछि गुँड फर्किँदै बाबुराम, प्रचण्डपछि दोस्रो वरियता पाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रो वरियता दिनेबारे छलफल थालेको छ । नेसपासँग पार्टी एकता गर्ने सहमतिपछि बाबुरामलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको दोस्रो वरियता दिने आन्तरिक तयारी भएको हो ।

अहिले माओवादीमा प्रचण्डपछिको दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ छन् । उनी पार्टीमा वरिष्ठ उपाध्यक्ष छन् । २०७२ सालमा माओवादी छाड्दा प्रचण्डपछिको दोस्रो वरियतामा बाबुराम नै थिए ।

प्रचण्डसँगको तीन दशकको सहकार्य तोडेर हिँडेका बाबुराम अहिले माओवादीसँग जोडिन आएपछि फेरि त्यही स्थान उनलाई दिन प्रचण्ड तयार देखिएका छन् । बाबुरामले कम्युनिष्ट विचारधारादेखि माओवादीलाई भत्केको घरको संज्ञा दिँदै नफर्किने बाचा गरेका थिए ।

माओवादी छाडेपछि नयाँ शक्ति जसपा हुँदै नेसपामा आइपुग्दा पनि पार्टीमा जनआकर्षण गराउन नसकेपछि बाबुराम पुरानै घर फर्किने तयारी गरेका हुन् ।

माओवादीका एक पदाधिकारीले एकतापछि बाबुरामलाई अध्यक्ष प्रचण्डपछिको दोस्रो वरियता दिइने बताए । ती नेताले नेपाल प्रेससँग भने, ‘उहाँलाई वैचारिक क्षेत्रको जिम्मेवारी दिएर सेकेन्ड म्यान बनाउन लागिएको हो ।’

पार्टीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजीको स्थान बाबुरामले लिने ती नेताको दाबी छ । यद्यपि, यस सम्वन्धमा औपचारिक सहमति भइसकेको छैन ।

पार्टी एकतापछि बाबुरामसहित नेसपा नेताहरुलाई उचित जिम्मेवारी दिइने माओवादीका सचिव गणेश शाह बताउँछन् ।

उनले भने, ‘अहिलेसम्म अध्यक्षज्यूले पार्टी बैठकमा यसबारे कुरा राख्नुभएको छैन । पार्टी एकतापछि उहाँको हाइट मेन्टेन गर्नुपर्छ भन्नेमा हामी सहमत छौं ।’

अब चाँडै हुने विशेष महाधिवेशनले नेताहरुको पदबारे विधानमा उल्लेख गर्ने पनि उनले बताए ।

तर, नेसपाका सहअध्यक्ष तथा वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले अहिले नेताहरुको वरियताबारे छलफल नभएको दाबी गरे ।

उनले भने, ‘अब प्रधानमन्त्री कोप-२८ बाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्छ । माओवादीले पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाउँछ । त्यसैले नेताहरुको व्यवस्थापनबारे अहिलेसम्म छलफल भएको छैन ।’

पार्टीको नाम, झण्डा र संगठनात्मक संरचनाबारे संयोजन समितिले निर्धारण गर्ने उनको भनाइ छ । यद्यपि, दुई दलका नेताहरुबीच पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति बनिसकेको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि शीर्ष नेताहरुबीचको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताए । एकता समायोजन समिति बनाएपछि पार्टी संरचनादेखि नेताहरुको जिम्मेवारी टुंगिने उनको भनाइ छ ।

माओवादीसँग एकताको लागि नेसपाले अध्यक्ष भट्टराईकै नेतृत्वमा एकता समिति बनाएको छ । समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन् ।

नेसपा नेता रोशन पोखरेलले दुई पार्टीबीचको संयोजन समितिको बैठक बसेपछि एकताको आधार तय हुने बताए । उनले भने, ‘अहिले नेताहरुको जिम्मेवारीबारे हामीले छलफल गरेका छैनौं । विचार मिल्ने राजनीतिक शक्तिहरूसँग एकता ध्रुवीकरण गर्दै जाने हाम्रो नीति हो । त्यहीअनुसार माओवादीसँग एकताको गृहकार्य अघि बढाएका हौं ।’

गत चैतमा बाबुरामले वार्ता टोलीका संयोजक श्रेष्ठमार्फत् माओवादीलाई पठाएको ९ बुँदे प्रस्तावमा अध्यक्षपछि दोस्रो वरियतामा एक सहअध्यक्षको व्यवस्था हुनुपर्ने उल्लेख थियो ।

मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तिमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव छ ।

पार्टीमा सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । तर, आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्नसक्ने प्रस्तावमा छ ।

केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरुलाई स्थायी समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति)मा समायोजन गर्नुपर्ने, राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्नेलगायतको शर्त माओवादीसँग एकताको लागि राखेको छ ।

तर, एकतापछि भट्टराईलाई प्रचण्डले दोस्रो वरियता दिँदै गर्दा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सन्तुष्ट नहुन सक्छन् । माओवादीमा उनको बेग्लै धार छ । यसअघि महासचिवमा पनि जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेपछि प्रचण्डले देव गुरुङलाई अघि सारेका थिए ।

शर्मा र पुनको आन्तरिक गुट तल्लो तहसम्म फैलिएपछि उनीहरुलाई साइजमा राख्न नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाएर पार्टीमा भित्र्याउन गृहकार्य गरिरहेका छन् ।

प्रचण्डले विप्लव च्यापेपछि शर्मा र पुन एक ठाउँमा उभिन बाध्य भएका छन् । उनीहरुलाई अर्का उपमहासचिव शक्ति बस्नेतले पनि साथ दिएका छन् । विप्लव पनि माओवादीसँग एकता गर्न सकारात्मक छन् ।


प्रतिक्रिया

2 thoughts on “८ वर्षपछि गुँड फर्किँदै बाबुराम, प्रचण्डपछि दोस्रो वरियता पाउने

  1. माओवादी नाममै प्रवेश गरे बाबुराम सकिने माओवादी नाम छोडे प्रचण्ड सकिने ।

  2. बाउराम जी ले एक फन्को मारेर दोस्रो क्रान्ती पनि सम्पन्न गर्नु भो । अब तेस्रो क्रान्तीको लागी मसल बनाउदैहुनुहुन्छ । एउटै मान्छेले एकबार को जुनिमा कतिवटा क्रान्ती गर्न सकेको ? मान्नुपर्छ । बाफ रे बाफ !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *