झापाको जनलहरले उत्साहित राप्रपा : सबै राजावादी शक्तिलाई एकजुट गरेर सडकमा जाने गृहकार्य – Nepal Press

झापाको जनलहरले उत्साहित राप्रपा : सबै राजावादी शक्तिलाई एकजुट गरेर सडकमा जाने गृहकार्य

पुस १, २ र ३ गते बस्ने कार्यसमिति बैठकले आन्दोलनबारे निर्णय लिने

काठमाडौं । काठमाडौंमा दुर्गा प्रसाईँले हजारौँको प्रदर्शन गरेर गणतान्त्रिक शक्तिलाई लल्कारेको दुई दिनपछि राप्रपाले झापामा आफ्नो शक्ति प्रदर्शन गर्‍यो । पार्टीले संयोजन गरेको पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा देखिएको जनसहभागिताले राप्रपा निकै उत्साहित बनेको छ ।

झापाको कार्यक्रमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको मात्र नभएर आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषयसमेत बनाएका थिए । आफ्नो गृह जिल्लामा पूर्वराजालाई भव्य स्वागत गर्न उनी डेढ हप्तादेखि झापामा खटिएका थिए ।

यता काठमाडौंमा नव राजावादी दुर्गा प्रसाईँले राजतन्त्रको पक्षमा भीड जम्मा गरिरहँदा लिङ्देनलाई वास्तविक राजावादी शक्ति राप्रपा नै भएको पुष्टि पनि गर्नु थियो । र, उनी यसमा सफल भए ।

झापाको प्रदर्शनमा करिब ३० हजार जनता सहभागी भएको राप्रपाको आन्तरिक मूल्यांकन छ । पूर्वराजाको स्वागतमा गरिएको मोटरसाइकल र्‍यालीमा मात्रै पाँच हजारभन्दा बढीले भाग लिएका थिए । एउटा जिल्लाको कार्यक्रममा नै यतिको उपस्थिति हुनुले देशमा राजतन्त्रको एजेन्डा बलियो रुपमा स्थापित भइरहेको आँकलन राप्रपा नेताहरूले गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्, ‘राजा सिधै खालमै खेल्न नआउँदा त यस्तो छ । देशैभरि यस्तै छ । जनताले साँच्चिकै ‘नलिखुट्टा’ बजाउँदै राजालाई ‘खालमै खेल्न’ उतारेको दिन के होला ?’

कांग्रेस महामन्त्री गगन थापाले हिजो पूर्वराजालाई अरूलाई सडकमा उतारेर च्याखे थापनुको साटो आफैँ खालमा आउन चुनौती दिए । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनअघि ‘नलिखुट्टा फुकेर राजतन्त्र ल्याउन खोज्नेहरू चेतना नभएका मूर्ख हुन्’ भन्ने टिप्पणी गरेका थिए । मिश्रले दुवैलाई यो स्टाटसबाट जवाफ दिएका हुन् ।

तर, काठमाडौं र झापाको प्रदर्शनपछि अब के त भन्ने प्रश्न राप्रपातर्फ सोझिएको छ । राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि ‘निर्णायक’ आन्दोलनका लागि गृहकार्य गरेको धेरै भइसकेको छ । तर, अहिलेसम्म त्यसका लागि निर्णय भइसकेको छैन । कतिपयले चाहिँ राप्रपा अझै पनि सत्तामा जान कुनाबाट च्याँखे थापिरहेको हुँदा आन्दोलनमा उत्रिने सम्भावना नरहेको टिप्पणी गर्ने गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भने सबै राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर गणतन्त्र ढाल्ने गरी आन्दोलनमा जान राप्रपा आन्तरिक तयारीमा रहेको बताउँछन् । पार्टीको आउँदो केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा घनिभूत छलफल गर्ने उनको भनाइ छ ।

‘ढिलो चाँडो सबै राजावादी शक्तिहरू एक ठाउँमा आउँछन् र त्यसमा राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकपछि हामी ठोस निष्कर्षमा पुग्छौँ ।’

राप्रपा केन्द्रीय कार्यसमिति बैठक पुस १, २ र ३ गते बस्दैछ । यसअघि मंसिरमै बस्ने भनिएको बैठक पूर्वराजाको झापामा कार्यक्रम तय भएपछि पुसमा सारिएको हो । उक्त बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उनले आफ्नो प्रतिवेदनमा राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउने र आन्दोलनको नेतृत्व गर्ने विषयमा आफ्नो प्रस्ताव अघि सार्ने छन् र त्यसै बमोजिम राप्रपाले कार्यनीति बनाउनेछ ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा जनदबाब बढिरहँदा अब नयाँ सम्झौता गरेर जानुको विकल्प नरहेको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘यो मुद्दा अब गणतन्त्रवादी दलहरूले पन्छाउन नसक्ने गरी बलियो भइसकेको छ । कसैलाई पनि निषेध नगर्ने गरी राजासहित सबैलाई स्पेस दिन नयाँ सम्झौता गरेर जानु नै समयको माग हो । यसमा दलहरूले जति ढिला गर्छन्, उनीहरूलाई नै बढी क्षति हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर