माओवादी-नेसपा एकताको ‘होमवर्क’: वार्ता समितिले स्वीकार्‍यो ‘नेकपा’, के गर्लान् बाबुराम ? – Nepal Press

माओवादी-नेसपा एकताको ‘होमवर्क’: वार्ता समितिले स्वीकार्‍यो ‘नेकपा’, के गर्लान् बाबुराम ?

काठमाडौं । २०७२ सालमा माओवादी छाडेपछि डा. बाबुराम भट्टराईले कम्युनिष्ट विचारधारा पनि त्यागेको घोषणा गरेका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई भत्केको घरको संज्ञा दिँदै अब नफर्किने बाचा गर्दै हिँडेका बाबुराम अहिले त्यही पार्टीसँग एकताको तरखरमा छन् ।

माओवादी छाडेपछि नयाँ शक्ति, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका बाबुरामलाई पार्टीभित्रबाटै माओवादीसँग एकता गर्न दबाब बढेको छ । माओवादीसँग एकता नगरे पार्टी नै विभाजन हुने परिस्थिति बन्दै गएपछि थप दबाबमा छन् उनी ।

आइतबार बसेको माओवादी र नेसपाको वार्ता समितिले तत्काल पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रचण्ड र बाबुराम नेतृत्वमै एकता संयोजन समिति गठन गर्न सुझाइएको छ ।

‘पार्टी एकता संयोजन समिति गठन गर्ने, समितिले दुवै पार्टीले उठाएको वैचारिक र नीतिगत विषयमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । एकतापछि पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायत विषयमा सहमति खोज्ने’ विज्ञप्तिमा भनिएको छ ।

वार्ता समितिको सुझावसँगै पार्टी एकताका लागि दबाब बढेपछि बाबुरामले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक राखेका छन् । काठमाडौंमा बस्ने बैठकले माओवादीसँग एकताको विषयमा निर्णय लिने नेसपा नेता रोशन पोखरेलले बताए ।

बाबुराम तत्काल माओवादीसँग एकता नगर्ने मनस्थितिमा छन् । गत निर्वाचनमा माओवादीसँग एउटै चुनाव चिन्हबाट लडे पनि अहिले उनी प्रचण्डसँग रुष्ट छन् । बाबुराम रुष्ट बनेपछि प्रचण्डले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताको लागि पत्र पठाएका थिए । त्यसपछि बाबुराम थप चिढिएका थिए ।

त्यसो त अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरु तत्काल माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । उनीहरु माओवादीसँग भएको सहमतिबाट ब्याक हुन नहुने पक्षमा छन् । तर, बाबुराम भने अझै सकारात्मक बनेका छैनन् ।

पार्टीभित्र दबाब बढेपछि अध्यक्ष भट्टराई शुक्रबार प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा अध्यक्ष भट्टराईले पार्टी एकताभन्दा पनि समाजवादी ध्रुवीकरणमा पहल गर्ने कुरामा जोड दिएको नेता पोखरेलले बताए ।

उनले भने, ‘माओवादीसँग पार्टी एकता गर्ने विषय अगाडि आएको छ । पार्टीको बैठक बस्छ । वार्ता समिति गठन गरेसँगै हामीले ९ बुँदे प्रस्ताव दिएका थियौं । त्यसबारे उहाँहरु पनि अध्ययन गर्दै हुनुहुन्छ ।’

उनले अब उच्चस्तरीय वार्ता समितिले मात्रै सैद्धान्तिक र वैचारिक हिसाबले टुंग्याउने ल्याकत राख्ने भएकाले दुई अध्यक्षको नेतृत्वमै गठन हुनसक्ने बताए ।

शुक्रबारको भेटमा प्रचण्डले पनि वामपन्थी र समाजवादीहरुबीचको ध्रुवीकरण आजको आवश्यकता भएकाले एकै ठाउँमा उभिने प्रस्ताव गरेको नो पोखरेलले बताए ।

अध्यक्ष भट्टराईसँग प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘ढिलोचाँडो सबै हामी एकतामा आउनैपर्छ । समाजवादमा जान हामी एकजुट भएर सन्देश दिऔं । हामीले नै यसको पहलकदमी गर्दै वातावरण बनाउँदै जानुपर्छ ।’

उनले दुई पार्टीबीच वार्ता सकारात्मक रुपमा अघि बढेकाले पार्टीको बैठकअघि नै फेरि दुई अध्यक्षबीच वार्ता हुनसक्ने बताए । त्यसो त बाबुरामले अहिले पनि आफू कम्युनिष्ट विचारधारामा नफर्किने अडान कामयै राखेका छन् । पार्टीको नामको अगाडि नेकपा राख्न नहुनेमा उनले अझै अड्डी कसिरहेका छन् । तर, पार्टीभित्र अधिकांश नेताहरु नेकपा स्वीकार्न तयार भएपछि उनी अप्ठेरोमा फसेका छन् ।

त्यसबारे नेता पोखरेल भन्छन्, ‘अहिले पार्टी एकताको लागि नामको मात्रै कुरा होइन । नामको विषय ठूलो होइन । तर, त्यसले मुलुकको समस्या समाधान गर्न पार्टीले के दृष्टिकोण बनाउने भन्ने मुख्य हो । माओवादी त उहाँहरुले पहिल्यै छाडिसक्नुभएको हो । पछि अदालतको फैसलापछि न उहाँहरु फेरि त्यहाँ फर्किनुभएको हो । त्यसमा समस्या भएन । नाम, झण्डा र चुनाव चिन्ह भनेको टेक्निकल पाटो हो । हामीले वैचारिक र सैद्धान्तिक विषयमा चाहिँ कुरा मिल्नुपर्‍यो भनेका हौं ।’

वैचारिक र सैद्धान्तिक कुरा मिलेमा नामको अगाडि नेकपा राख्ने वा नराख्ने भन्ने कुरा मेजर नबन्ने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो पनि एमालेलाई बाहिर राखेर अर्को नेकपा उही बाजेको पेडा टाइपको हुन्छ । जनतामा कन्फ्युजन नबनाऔं भन्ने हाम्रो कुरा हो । त्यसमा छलफल हुन्छ । त्यो बाधक बन्दैन । मेन राजनीतिक, सैद्धान्तिक र वैचारिक विषय के हुन्छ भन्नेमा निर्धारण गर्छ ।’

‘नेकपा’मा वार्ता समिति सहमत

वार्ता समितिले पार्टी एकताका लागि सिफारिस गरिसकेपछि अब प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले बताए ।

उनले भने, ‘पार्टी एकताका लागि बनेको वार्ता टोलीले पहिले नै छलफल गरिसकेको विषय थियो । यो निर्वाचनपछि हामी छलफलमा बसेका थिएनौं । अहिले हामीले संयुक्त बैठक बसेर पार्टी एकताको लागि अगाडि बढाउनुपर्छ भनेर वार्ता टोलीले सिफारिस गरेको छ । अब दुवै पार्टीको माथिल्ला निकायले स्वीकार्नुपर्‍यो ।’

दुवै पार्टीले वार्ता समितिको निर्णय स्वीकारेपछि थप जिम्मेवारी पार्टीका शीर्ष नेताहरु आफैंले लिनसक्ने उनले बताए ।

उनले भने, ‘पार्टी एकता संयोजन समिति पनि बन्नसक्छ । त्यसले सूक्ष्म ढंगले अध्ययन गरेर कति सदस्यीय बनाउने, आएको टेक्निकल कुरा मिलाउने, कमिटीहरुलाई माथिदेखि तलसम्म एकरुपता कायम गर्ने जस्ता विषय हुन्छन् । माथिल्ला तहका कमिटीहरुले त्यसलाई स्वीकारेपछि कसरी जाने भन्ने टुंग्याउन बाँकी छ ।’

हिजोको बैठकले पार्टी एकता गरेर जानुपर्छ भन्ने सन्देश दुवै पार्टीको तल्लो तहसम्म प्रवाह गरेको उपमहासचिव पोखरेलले बताए ।

उनले वार्ता समितिमा पार्टीको नामको अगाडि नेकपा राख्ने भन्ने विषयमा सहमति भइसकेको दाबी गरे । उनले भने, ‘हामीले पहिले नै नेकपा छाड्न सक्दैनौं भनिसकेका थियौं । नेकपाको पछि के राख्ने भन्नेबारे छलफल गर्नसक्छौं भनेका छौं । पार्टी एकता र वार्ता टोलीबीच नेकपा राख्ने विषयमा सहमति भइसकेको छ । अहिलेसम्म पछाडि के राख्ने भन्ने टुंगिएको छैन ।’

त्यसो त माओवादीले भदौ २५ मा बसेको बैठकले पार्टी एकतालाई सफल पार्न नामको पछाडि कोष्टमा रहेको माओवादी केन्द्र हटाउन तयार रहेको निर्णय गरेको थियो । अहिले नेसपासँग एकताको लागि नेकपा समाजवादी नाम राख्नेमा दुवै पार्टीका अधिकांश नेताहरु सहमत रहेको बताइन्छ ।

माओवादीका महासचिव देव गुरुङले पनि पार्टी एकताको विषयमा दुवै पार्टीका शीर्ष तहबाट पहल भइरहेको बताए । यता, आइतबार रुकुम पूर्व पुगेका प्रचण्डले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भइरहेको बताए ।

‘नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहानमात्रै छलफल भएको थियो । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ । माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प छैन’, उनले भनेका थिए ।

प्रचण्डले बाबुरामसँग मात्रै नभएर विप्लव नेतृत्वको नेकपासँग पनि एकताको पहल गरिरहेका छन् । उनी अहिले समाजवादी मोर्चामा पनि सामेल छन् ।

नेसपाको त्यो ९ बुँदे प्रस्ताव

त्यसो त गत चैतमा नै बाबुरामले वार्ता टोलीका संयोजक श्रेष्ठमार्फत् माओवादीलाई ९ बुँदे प्रस्ताव पठाएका थिए । पार्टी एकतापछिको सैद्धान्तिक र वैचारिक विचारधारा, पार्टीको संरचनाको आधारलगायतको विषय समेटेका थिए ।

पार्टीभित्र समावेशी, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हुने नेसपाले माओवादीलाई पठाएको पत्रमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्र अल्पमतका विचारहरु राख्ने, फरक मत दर्ता गर्ने र कमिटीको निर्णयानुसार बहस चलाउने अधिकार हुनेछ । बहुमत विचारलाई कार्यान्वयन गर्न सहयोग गर्नु अल्पमत पक्षको कर्तव्य हुनेछ । त्यसैगरी कार्यान्वयन गर्दा अल्पमत विचारको सम्मान गर्नु बहुमत पक्षको कर्तव्य हुनेछ ।’

राज्यको कुनै पनि पद तथा जिम्मेवारीमा उम्मेदवार छनोट गर्दा समानुपातिक समावेशी मान्यताका आधारमा सदस्यहरुबीचको सहमतिमा वा आवश्यक परे आन्तरिक निर्वाचन गरिने भनिएको छ ।

पार्टीमा सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । तर, आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्नसक्ने प्रस्तावमा छ ।

त्यसबेला नै बाबुरामले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह परिवर्तन हुनुपर्ने सुझाएका थिए । पत्रमा भनिएको छ, ‘नाम र झण्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रुपबीच तादात्म्यता हुनुपर्दछ । त्यसैले नाम, झण्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ ।’

एकतापछि अध्यक्षपछि दोस्रो वरियतामा एक सहअध्यक्षको व्यवस्था गर्नुपर्ने, मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तिमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव छ ।

केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरुलाई स्थायी समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति)मा समायोजन गर्नुपर्ने, राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने प्रस्ताव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *