केन्द्रपछि कोशीमा पनि गठबन्धनको ‘ढोक्सा राजनीति’ सफल- जिल्लियो एमाले – Nepal Press

केन्द्रपछि कोशीमा पनि गठबन्धनको ‘ढोक्सा राजनीति’ सफल- जिल्लियो एमाले

काठमाडौं । गत पुस १० गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाँपझाँप पर्दै बालकोट पुगेर एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बने । बालकोटले प्रधानमन्त्री बनाए पनि प्रचण्ड एमालेसँगको सहकार्य दुई महिनामै टुंग्याएर पुरानै गठबन्धनमा फर्किए ।

माओवादीले प्रधानमन्त्री लिएपछि राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान थियो । तर, प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्दै पुरानो गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेललाई बनाइदिए । केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेसँग प्रचण्ड तर्किएपछि एक थान सभामुखमा मात्रै चित्त बुझाउन बाध्य भयो ।

प्रचण्डको यो कमदलाई एमालेले ‘अवसरवादी’ को संज्ञा दियो । तर, माओवादी नेताहरु त्यो कुरा स्वीकार्न तयार छैनन् । अहिले केन्द्रको सोही परिदृश्य कोशीमा देखिएको छ ।

कांग्रेसभित्र सहमति जुटाउन नसकेका देउवाले माओवादीलाई मुख्यमन्त्री दिएपछि डा. शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसँग सहकार्य गरेको थियो । तर, एमालेको समर्थनमा मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएपछि गठबन्धनले पनि ढोक्सा थापेर विश्वासको मत दियो ।

अहिले मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवासहित शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको छ ।

यद्यपि, अहिलेसम्म एमालेले समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्की सहमतिको सरकार बनाउने पक्षमा देखिएका छन् । तर, एमाले गठबन्धनसँगै बस्ने पक्षमा छैन । एमालेले सरकार छोडे पनि सरकारलाई दिएको समर्थन नछाडेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

बिहीबार प्रदेशसभाको बैठकमा उनले भनेका थिए, ‘खोलो तरेर लौरो बिर्सिएको छैन । मैले एमालेसँगको सहकार्य छोडेको पनि छैन । एमाले आफैं प्रतिपक्षमा गएर बसेको हो । सरकार छाडेको छैन ।’

त्यसो त कोशीमा एमालेले समर्थन फिर्ता लिने अवस्थामा राप्रपाको सहयोग लिएर सरकार टिकाउने गठबन्धनको तयारी छ । त्यसमा राप्रपाबाट ग्रीन सिग्नल प्राप्त भएको गठबन्धनका नेताहरुले दाबी गरिरहेका छन् । राप्रपालाई सभामुख दिएर मनाउन सकिने उनीहरुको विश्वास छ ।

त्यसो त राप्रपामा अहिले कोशीमा मात्रै नभएर संघमा पनि प्रचण्ड नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा बहस चलिरहेको छ । अध्यक्ष राजेन्द्र लिङदेनलगायतका केही नेताहरु सरकारमा जाने पक्षमा छन् । तर, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षका नेताहरु अहिले सरकारमा जान नहुने पक्षमा छन् ।

यसअघि अध्यक्ष लिङदेन नेतृत्वमा प्रचण्ड सरकारमा गएकोप्रति पनि मिश्र सन्तुष्ट थिएनन् । अहिले पनि प्रधानमन्त्री प्रचण्डसहित गठबन्धनका नेताहरु राप्रपासँग निरन्तर संवादमा रहेको बताइन्छ ।

त्यसो त सरकार गठनमा मात्रै नभएर एमालेले गत मंसिरको निर्वाचनमा जसपासँग गठबन्धन गरेर अशोक राईसहितका नेताहरुलाई जितायो । तर, अहिले जसपा गठबन्धनको सरकारमा छ । राई आफैं प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्री छन् ।

एकपछि अर्को गर्दै पार्टी नेतृत्वले चालेको कदम असफल भएपछि पार्टी पंक्तिमा असन्तुष्टि बढेको छ । तर, पार्टी अध्यक्ष ओलीको निर्णयविरुद्ध कसैले बोल्दैनन् । गठबन्धन भत्काउन कोशीमा गरेको प्रयास पनि विफल भएपछि एमाले अहिले मिसन २०८४ मा केन्द्रित छ । आगामी निर्वाचनबाट पार्टीको एकल बहुमत ल्याउने लक्ष्यसाथ विभिन्न अभियान चलाएर पार्टीको संगठनलाई सक्रिय बनाइरहेको छ ।

पुसमा निर्वाचित संसदबाट सरकार बन्न नसक्ने परिस्थिति बनेपछि एमालेले प्रचण्डलाई समर्थन गरेको एमालेका सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘पुसमा सरकार गठन गर्न राष्ट्रपतिबाट आह्वान भएको बेलामा गठबन्धनबाट सरकार बन्ने स्थिति नभएपछि एमालेले पहल अगाडि बढाएको थियो । प्रचण्डले विगतका कमजोरी स्वीकारेर आएपछि कम्युनिष्ट सरकार पनि बन्छ र नयाँ सहकार्यको ढोका खुल्छ भन्ने विश्वासले हामीले प्रधानमन्त्री बनायौं । तर, उहाँले धोखा दिनुभयो ।’

प्रचण्ड सहमतिअनुसार नचलेपछि आफूहरु नै सरकारबाट बाहिरिनुपर्ने स्थिति बनेको उनले स्मरण गरे ।

‘यो राजनीतिक प्रणालीमा कसैले बहुमत ल्याउने स्थिति छैन, मिलेर सरकार बनाउनुपर्नेछ । उहाँहरु उपयोगको नीतिमा लाग्नुभयो । तर, हामीले देशको समस्या समाधान होस् भन्ने कोणबाट बुझ्यौं’, उनको भनाइ छ ।

उनले कोशीमा पनि एमालेले मध्यावधि टार्न कांग्रेसका केदार कार्कीलाई समर्थन गरेको बताए ।

नेता बर्तौलाले भने, ‘हामीले मध्यावधि निर्वाचन हुनबाट रोक्न अरुलाई समर्थन गर्नुपर्ने थियो । हामीले बहुमत जुटाउन नसकेपछि नेतृत्वमा दाबी गर्ने स्थिति भएन । कांग्रेसको तर्फबाट केदार कार्कीले अपिल गरेपछि हामीले समर्थन गरेका थियौं । उहाँले एमाले-कांग्रेसको सरकार बनाएर जाने सहमति गर्नुभएको थियो । त्यो अवस्था निर्माण हुन सकेन ।’

अहिले क्षणिक लाभ भए पनि राजनीतिक कोर्समा ठूलो नोक्सानी पुग्ने उनको भनाइ छ । आज प्रचण्ड र कोशीका मुख्यमन्त्री कार्कीबाट भएको धोखाले एमालेलाई कुनै घाटा नपुगेको उनले दाबी गरे ।

बर्तौलाले भने, ‘जसले हामीलाई प्रयोग गरेर ब्याक हट्नुभयो, यसले राजनीतिमा गम्भीर अर्थ राख्छ । यो गठबन्धन देश हितमा छैन । समृद्धि, सुशासन, विकास र सामाजिक न्यायको पक्षमा छैन । सबै कोणमा असफल र अयोग्य हो । देश नै असफल हुने पथमा छ ।’

यो सत्ता समीकरण फेरबदलमात्रै नभएर देशका लागि बहिर्गमन आवश्यक भएको बताए ।

‘निर्वाचन प्रणालीको कारणले तत्काल सम्भव छैन । संसदको ठूलो दल कांग्रेस अहिले प्रचण्डको असिस्टेन्ट बनेको छ । कांग्रेसले देशको जटिलता बुझेर आएमा स्थिर सरकार निर्माणको आधार तय हुन्छ । त्यसैले तिहारलगत्तै सरकार निर्माणको नयाँ राजनीतिक कोर्समा पुग्न जरुरी छ’, उनले थपे ।

उनले कांग्रेस प्रचण्डको असिस्टेन्ट बन्न छाडेर संवादमा आए तिहारपछि अझै सहकार्यको सम्भावना बन्नसक्ने सुनाए ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य गठबन्धन सरकारले काम गर्न नसकेपछि परिस्थिति जटिल बन्दै गइरहेकाले एमालेले कोर्स परिवर्तनको प्रयास गरेको बताउँछिन् ।

उनले भनिन्, ‘सत्ता समीकरणको खेलमा मात्रै लागेर भएन भनेर एमालेले राजनीतिक कोर्स परिवर्तनको प्रयास गरेको हो । गठबन्धन कायम भएसम्म देश बर्वादीतर्फ जाने भयो भनेर सत्ता समीकरण फेर्न सकिन्छ कि भनेर जोड गरेका हौं । तर, त्यो सफल भएन ।’

गठबन्धन भत्काउन गरेको एकपछि अर्काे प्रयास असफल हुनुमा नेतृत्व जिम्मेवार नरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘यसरी चल्दैन भनेर एमालेले प्रयास गरेको हो । अहिले एमालेलाई एक्ल्याउनुपर्छ भनेर सबै लागेको देखिन्छ । एमालेदेखि आतंकित भएका छन् । एमालेलाई अलग राखेर भागबन्डाको राजनीतिमा केन्द्रित छन् । कुर्सीमा बसेर आफ्नोमात्रै स्वार्थ हेर्नेभन्दा अहिले अरु कुनै काम भएको छैन ।’

संघीयता र गणतन्त्रको रक्षाको लागि पनि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

‘देशको अवस्था झन् बिग्रिँदै गएको छ । एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले सत्ता परिवर्तनको खेलमा नयाँ ढंगले जानुपर्छ भनेर सोचेर कांग्रेससँग पनि कुरा गरेका हौं । तर, अहिले हामी त्यता केन्द्रित छैनौं । कोशी सरकार गठनपछि हामीले केही प्रयास गरेका हौं’, उपाध्यक्ष शाक्यले थपिन् ।

जनमत र जनादेशको विपरीत खडा गरिएको गठबन्धनले देशलाई बर्बादीतर्फ लगेपछि विकल्प दिन एमालेले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए ।

उनले भने, ‘एमालेले गठबन्धनको विकल्प दिन खोजेको हो । हामीलाई सरकारमा जान कुनै रहर पनि छैन । हतारो पनि गरेका छैनौं । हामीलाई निर्वाचनले पनि सरकारमा जान बहुमत दिएन । गठबन्धलाई पनि बहुमत नदिएपछि हामीले परिवर्तन गर्न खोजेका थियौं । तर, प्रचण्डको चरम अवसरवादी र सत्तालोलुप चरित्रको कारणले त्यो प्रयास सफल भएन ।’

प्रचण्डले विदेशी शक्तिको दबाबमा एमालेसँगको सहकार्य तोडेको आरोप भट्टराईले लगाए । उनले राष्ट्रपति एमालेबाट बनाउन इन्कार गर्नु, गठबन्धनको तर्फबाट बनेको राष्ट्रपतिले भारत भ्रमणअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर लिएर जानु, छिमेकी मुलुकको प्रधानमन्त्री जानकारीविना आफ्नो भूमिमा आउँदा एउटा नोटसमेत पठाउन नसक्नुले थप पुष्टि गरेको उनको भनाइ छ ।

संघ र कोशीमा एमालेले गरेको प्रयास विफल भए पनि उनी त्यसलाई असफलता ठान्दैनन् ।

नेता भट्टराई भन्छन्, ‘निर्वाचनको बेलामा बहुमतको आकांक्षा गरेर गएका थियौं, त्यसबेला असफलता प्राप्त गरेका हौं । तर पनि हामी जनतालाई फेरि एकचोटी अर्को निर्वाचनमा संगठित गरेर एमालेको एकल सरकारको प्रयास गर्छौं ।’


प्रतिक्रिया

2 thoughts on “केन्द्रपछि कोशीमा पनि गठबन्धनको ‘ढोक्सा राजनीति’ सफल- जिल्लियो एमाले

  1. बेईमान गर्ने अरू असफल एमाले ? दलाली पत्रकारिता नगरौं न ।

  2. प्रचण्ड दहिचिउरे भए । केदार कार्कीले बोली फेरे । सबैभन्दा त दुवै दिल्लीको आदेशपालक भए । दिल्लीलाई तह लगाउने नेपालमा एमाले मात्र छ । दिल्ली नेपाललाई मुठ्ठीमा राख्न खोज्छ । गठबन्धन त उसैले जन्माएको दफालहरूको झुण्ड हो । देशै बेच्न पनि तयार छन् । तर एमालेसँग तिनलाई डर छ । बदमासी र दलाली गर्ने अरू अनि जिल्लियो एमाले ? वाहियात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर