बाँकेमा भूकम्पका घाइतेको अवस्था : केहीको उपचार हुँदै, केही निको भएर फर्किए – Nepal Press

बाँकेमा भूकम्पका घाइतेको अवस्था : केहीको उपचार हुँदै, केही निको भएर फर्किए

रुपन्देही । भूकम्पमा परी घाइते भएर बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् ।

जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ ।

निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिँदै श्रेष्ठले आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरुलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरेको छ । अस्पताल अहिलेसम्म भूकम्पमा परी घाइते भएकाको सङ्ख्या ४९ पुगेको श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका जाजरकोट, रुुकमपश्चिम र सल्यानका घाइतेको उपचार भइरहेको छ । अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ ।

र्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरुको उपचार गरिरहेको फोकल पसर्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अधिकांश बिरामीको हाडर्जोर्नी भाँचिएको, चर्किएको तथा टुटेको छ ।

अहिलेसम्म भूकम्पमा परी घाइते भएका १० जनाको सफल शल्यक्रिया भएको छ । अस्पतालको सघन उपचार कक्ष तथा उपचार कक्ष बाहिर बिहान, दिउँसो र राति दुईरदुईजना स्वंयसेवक रहने गरी सहायता तथा सहजीकरण कक्ष सञ्चालन गरिएको श्रेष्ठले बताए ।

तीन गम्भीर घाइते काठमाडौं रिफर

भेरी अस्पताल, नेपालगञ्जले भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर गरेको छ । भूकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एकरएक जनालाई रिफर गरिएको हो ।

जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ। सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए। तीनै जना विरामीमा किड्नीको समस्या देखिएको छ। उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ ।

घाइते भएकाहरुको स्थानीय अस्पतालका साथै सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ। रुकुम पश्चिमकी २६ वर्षीया कृष्णा परियार भूकम्पमा घाइते भइन्। उनीसँगै ७ वर्षीय छोरा भुपेन्द्र परियार र ४ वर्षीया छोरी अञ्जली परियार पनि घाइते भए ।

उनीहरु तीनै जनाको हाल नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार छ । यससँगै उनीहरुको अनुहारमा विस्तारै खुसी फर्किएको छ ।

यस्तै, भेरी अस्पतालमै तीन वर्षीय डेभिड परियारको उपचार भइरहेको छ । मंगलबार अस्पतालको बेडमै उनका बुवा डेभिड टाउकोमा व्याण्डेज बाँधिरहेको अवस्थामा देखिए । छोराको स्वास्थ्यमा सुधार भएपछि बुवाको अनुहार पनि खुसी देखिन्थ्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर