‘मिसन ८४ मा एमालेको बहुमत आउने गरी लाग्नुपर्छ’ – Nepal Press
नेपाल टक

‘मिसन ८४ मा एमालेको बहुमत आउने गरी लाग्नुपर्छ’

एमाले गण्डकी अध्यक्ष नवराज शर्मा भन्छन्- पार्टी सबै मिलेर बनाउने हो, अधिवेशनको लिगेसी मैले बोक्नुपर्छ जस्तो लाग्दैन

पोखरा । नेकपा एमालेले सातै प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । केही प्रदेशमा निर्वाचन भए भने केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भए ।

गण्डकी प्रदेशमा भने दुई प्यानलगत रुपमा प्रतिस्पर्धा भयो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट गुटको प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा खगराज गुटका मायानाथ अधिकारीलाई पराजित गर्दै पृथ्वीसुब्बा गुटका नवराज शर्मा निर्वाचित भए । शर्मा यसअघि पनि एमाले गण्डकीको अध्यक्ष थिए ।

उनै प्रदेश अध्यक्ष नवराज शर्मासँग एमाले गण्डकीको अधिवेशन र आगामी कार्यक्रमको विषयमा नेपाल प्रेसकर्मी रिखिराम जिसीले गरेको कुराकानीः

– भर्खरै प्रतिनिधिबाटै चुनिएर गण्डकी प्रदेशको अध्यक्ष निर्वाचित हुनुभएको छ । पहिले केन्द्रले सीधै अध्यक्षको जिम्मेवारी दिएको थियो र अहिले प्रतिनिधिले चुनेर आउँदा के फरक हुने रैछ ?

खासै भिन्नता हुँदैन । पार्टीको काम गर्ने हो । काम गर्ने भूगोल यही हो । हिजो जतिबेला पनि अधिवेशन गर्न जिम्मेवारी थियो । कति समय काम गरिन्थ्यो भन्ने ठेगान थिएन । अहिले एक खालको ४ वर्षको कार्यकाल गर्ने भन्ने छ । ४ वर्षमा एक खालको योजना बनाएर काम गर्नेछु ।

– तपाईंले स्वीकार नगरे पनि एमाले गण्डकी अधिवेशनको निर्वाचन गुटगत प्रतिस्पर्धा नै भयो । यस्तो गुटको लडाइँलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको आवरण दिन मिल्ला र ?

हामीले पहिलेदेखि नै पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा, प्रजातान्त्रिक अभ्यासलाई प्रमोट गरेकै हो । सकेसम्म सर्वसम्मत गर्ने, नहुँदा पनि एकदमै स्वच्छ हिसाबले, हार्दिकताका हिसाबले एउटा विधिमा जाने र चुनाव सकिएपछि त्यसलाई सक्नुपर्छ जस्तो लाग्छ । अधिवेशन कोही निर्वाचित हुने अथवा कोही पराजित हुने ठूलो त्यस्तो जीत-पराजयको कुरा भन्दा पनि कमिटी निर्माण गर्ने एउटा विधि हो । त्यो एक ढंगले तोकियो । अब पार्टी निर्माणका लागि सबै मिलेर लाग्नुपर्छ ।

– तपाईं अध्यक्ष निर्वाचित भएपछि कार्यकर्ताले केपीपछि हाम्रा बा पीएस हुन् भन्ने खालका नाराहरु पनि लगाए । त्यस्तो बा प्रवृत्तिले कस्तो सन्देश जाला ? गुटलाई झनै फैलाउने सन्देश पो गयो, हैन ?

त्यो कुनै नियोजित अथवा पूर्व मानसिकता बनाएर भएको कार्यक्रम होइन । निर्वाचन आयोगले जब परिणाम घोषणा गर्‍यो । म मञ्चमै थिए । मलाई साथीहरुले खादा लिएर घेरिहालेपछि म निस्कन त मिलेन । स्वाभाविक रुपमा राति अबेर भएको थियो । युवा पंक्ति थियो त्यसमा । मैले सिनियर नेतालाई कमै देखें त्यसमा । सिनियर नेता धेरै निस्किसक्नुभएको थियो । युवाहरुले रातको समयमा जे खालको मनस्थिति थियो । एकछिन मञ्चबाट गेट जाँदासम्मको कार्यक्रम थियो । त्यसमा युवा जोस भन्नुपर्छ । पछिसम्म जोडेर लानुहुँदैन ।

– तपाईंको प्यानलले त क्लिनस्विप नै ग¥यो । एउटा पक्ष सर्लक्कै छुट्यो । अब कसरी सन्तुलित बनाउनुहुन्छ कमिटीलाई ? कसरी समेट्नुहुन्छ ?

पदाधिकारीमा हिजो रहनुभएको र अहिले पराजित हुनुभएको कमरेडको हकमा त सम्भवतः उहाँहरुलाई प्रदेशमा अप्ठेरो होला । किनकि पदाधिकारी छोडाउन मिलेन । तल बस्ने कुरा उहाँको मनस्थिति के हुन्छ । त्यहाँ उहाँहरुलाई अप्ठेरो होला । उहाँहरुको हकमा केन्द्रतिर वा अन्य निकायतिर कतै व्यवस्थापन गर्दा व्यवहारिक हुन्छ जस्तो लाग्छ मलाई । अरु सदस्य कमरेडको हकमा त अब जिल्लामा जान सक्ने कतिपय साथीहरुलाई जिल्लामा अधिवेशन गर्दैछौं । त्यहाँ पनि व्यवस्थापन गर्छौं ।

कैयौं युवा साथीहरु त चुनाव लड्छु, पालिकामै जान्छु भन्ने साथीहरु पालिकामै जिम्मा लिँदा पनि ग्राउण्ड बनाउन सजिलो हुन्छ । अरु जो सिनियर साथीहरु हुनुहुन्छ । जो प्रदेशमा हुनुहुन्थ्यो, अहिले हुनुभएन, लडेर चुनावमा जित्न सक्नुभएन । उहाँहरुको हकमा हामीसँग सल्लाहकार पनि हुन्छ, हामी विभागहरु पनि बनाउँछौं । उहाँहरुको क्षमता रुचि हेरेर यी यी संरचनामा आवद्ध गराएर जान पनि सकिन्छ र कमिटीमा पनि हामी १६५ को बनाउन सक्यौं । तर, १५५ को बनायौं । त्यसको पछाडि पनि हामीले जिल्ला अधिवेशन गर्नुपर्नेछ । यो निर्वाचित कमिटी भनेको जति पनि थप्न पाइँदैन । साथीहरु बाहिर नपरुन् भन्ने मनसायले नै त्यो ठाउँ खाली राखिएको हो । हामीले सकेसम्म विधानले दिएको अधिकार प्रयोग गरेर सबैलाई समेट्ने गरी लिएर जान्छौं ।

– तपाईंका प्रत्यासी मायानाथ अधिकारीले केन्द्रीय सदस्य पनि गुमाउनुभयो । उहाँसहितका पराजित नेताहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

उहाँहरुको हकमा केन्द्रीय जिम्मेवारी पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । केन्द्रले केही सोच्ला ।

– पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तपाईंलाई प्रदेश अध्यक्षको योग्य ठानेर अघि सार्नुभयो । तपाईंले चाहिँ उपमहासचिव गुरुङको भविष्य कहाँसम्म देख्नुभएको छ ?

म त एक खालको भूगोलको काम गर्ने जिम्मेवारीमा आएको मान्छे हुँ । पीएस कमरेड, केआर कमरेड, त्यसपछि भर्खरै पराजित हुनुभएको मायानाथ कमरेड उहाँहरु लामो समयदेखि नै केन्द्रीय जिम्मेवारीमा हुनुहुन्छ । यो अधिवेशनको अगाडि पनि उहाँहरु सहइञ्चार्जको रुपमा हुनुहुन्थ्यो कतिपय । पीएस कमरेड केन्द्रीय जिम्मेवारीमै हुनुहुन्छ । उहाँलाई कहाँ पुर्‍याउने भन्ने विषयभन्दा पनि मैले आफ्नो भूगोलभित्र उहाँहरु सबैको सहयोग लिएर होला हिजो चुनाव हुने क्रममा कतिपय नेता कमरेडको नवराजभन्दा मायानाथ भए ठीकै हुन्थ्यो होला, पीएस कमरेडको नवराज नै भए ठीकै छ । एक पटक दोहोराउ भन्ने थियो । तर, त्यसको अर्थ म पनि यही बोकिरहनुपर्छ, पीएस र खगराजको बोकेर बसिराख्नुपर्छ अथवा उहाँहरुको कुरा सुन्नुपर्छ, उहाँहरुको पक्ष लाग्नुपर्छ भन्ने पनि होइन । उहाँहरु पनि जहाँसम्म लाग्छ, अहिलेसम्म जुन ढंगले मैले काम गरें, त्यो आधारमा अहिलेलाई यो ठीकै होला भन्नुभएको हो ।

भोलि कतिपय कुराहरु मन परेन भने नवराज हुन्न भनेर आउन सक्छ नि ! त्यो भएको हुनाले जस्तो अघिल्लोपटक पार्टी अध्यक्षले पठाउनुभएको हो । सायद त्यतिबेला केआर र पीएस कमरेडलाई सोधेको भए, उहाँहरुले मेरो नाम भन्नुहुन्थ्यो या अरु कसैको नाम भन्नुहुन्थ्यो । निर्णय भएर आइसकेपछि यसलाई एक कार्यकाल काम गर्न दिऔं भन्नुभयो । जसले सहयोग गर्नुभयो, उहाँप्रति आभारी छु । नवराजभन्दा मायानाथ ठीक छ भन्ने कमरेडहरुप्रति मेरो कुनै गुनासो छैन । अधिवेशनको लिगेसी मैले बोक्नुपर्छ जस्तो लाग्दैन ।

– गण्डकी प्रदेशमा एमालेले साढे ३ महिना सरकारको नेतृत्व ग¥यो । अहिले संसदीय दलको नेता नै अल्पमतमा हुनुहुन्छ भन्ने सुनिन्छ । सरकारमा हुँदा सबैलाई मिलाउन नसक्दा अहिले विवाद उब्जिएको हो भनिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

हामीले मतै विभाजित नगरिकन अल्पमत भन्ने अवस्था रहेन । हामीले संसदीय दलको नेता सर्वसम्मत नै छानेका हौं । बीचमा उहाँहरु कार्यशैलीको कारणले प्रदेशसभा सदस्यहरुको बीचमा दूरी बढेको छ । भावना अलिकति मिलेको छैन भने उहाँले त्यो कुरालाई रिअलाइज गर्नुपर्छ र प्रदेशसभा सदस्य कमरेडहरु पनि त्यसमा चित्त नबुझेका कुराहरु छन् भने दलहरुको बैठकमा राखेर त्यसलाई क्लियर गर्ने र आफू पनि क्लियर बन्नेतिर लाग्नुपर्छ । अब त्यही कारणले गर्दा बाहिर प्रदेशसभाको भूमिकामा तलमाथि गर्ने अथवा दलभित्रको निर्णयमा ठाउँमा पुग्दैनौं अथवा त्यस्तो खालको समस्या छैन जस्तो लाग्छ मलाई ।

– एमाले गण्डकीले आफ्नै पार्टी कार्यालय बनाउने भन्ने पनि थियो । दशौं करोड रुपैयाँ जुटाउने योजना सुनिन्थ्यो । तपाईंले त्यो योजनालाई कसरी साकार पार्नुहुन्छ ?

भवन निर्माणको सन्दर्भ त चलाएकै छौं । भवन निर्माण समिति बनेकै छ । बैंक खाता खोलेर साथीहरुसँग कुराकानी अलिअलि चलाइएको छ । तर, हामीसँग ठ्याक्कै यति रकम छ भन्ने छैन । तर, हाम्रो प्रतिबद्धता चाहिँ घर पनि खोज्दै गरिराखेका छौं । जग्गा पाउँदा पनि जग्गामा भवन बनाउनुपर्छ भन्नेमा छौं । हाम्रो यो कार्यकालमा कम्तिमा गण्डकी प्रदेशमा यतिको हैसियत भएको पार्टीले सधैंभरि पार्टी कार्यालय भाडामा चलाउने कुरा पनि धेरै सजिलो छैन । दुःखसुख गरेर आफ्नो कार्यालय बनाउनुपर्छ भन्नेमा छौं । मलाई लाग्छ, हामी यो कार्यकालमा पार्टी कार्यालय बनाउँछौं । पार्टी कार्यालयमा पार्टी सार्छौं ।

– मिसन ८४ भन्दै हिँड्नुभएको छ । यसअघि मिसन ग्रासरुटले जनताको मन छुन सकेन । जनताको मन छुन नसक्ने कस्तो मिसन चलाउनुभएको हो ? मिसन ८४ ले जनताको मन छुन्छ भन्ने विश्वास कसरी गर्ने ?

यो हाम्रो पार्टीको मात्रै विषयभन्दा पनि मिसन ८४ भनेको चुनाव हुने वर्ष हो । हामीले पनि मिसन ८४ लाई सफल पार्न पार्टीले योजना बनाउने कुरा स्वाभाविक रह्यो । हामीले मिसन ८४ भन्नुको पछाडि अब अहिले नेकपा एमाले जुन पोजिसनमा छ । दुनियाँलाई थाहा भएको कुरा के हो भने अन्यत्र सत्ताको विरुद्ध विपक्षी कमजोरहरु मोर्चा बनाउँछन् । हाम्रो देशमा प्रतिपक्षका विरुद्ध सत्तामा बसेर मोर्चा छ । हामीले थोरै भोट बनाउँदाखेरि देशले बहुमत पाउँछ । तर, अरु गठबन्धन दलहरुले बहुमत ल्याउन हामीले भन्दा बढी सीट जित्नुपर्छ ।

त्यसैले देशलाई स्थिरता दिन नसक्दा, देशमा राजनीतिक स्थिरता नहुँदा आर्थिक विकासलाई कति असर गर्दाेरहेछ भन्ने चिज हामीले राम्रै तरिकाले व्यहोरेका छौं । अब नेपाललाई एउटा सत्तापक्ष र एउटा प्रतिपक्ष भए पुग्नेछ । त्यसो भएको हुनाले आगामी निर्वाचनमा हामीले बहुमत ल्याएर कार्यक्रम लागू गर्नुपर्छ र यसमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको कामलाई प्रभावकारी बनाउनुपर्छ । यही कुरालाई केन्द्रमा राखेर मिसन ८४ आफ्नो पक्षमा बहुमत ल्याउने गरी लाग्नुपर्छ भन्ने छ ।

– भोलिका आमनिर्वाचन र स्थानीय निर्वाचनमा उम्मेदवारलाई टिकट दिने जिम्मेवारी पनि प्रदेश कमिटीलाई हुन्छ । अहिले तपाईंको प्यानलसँग हारेकाहरुको समूहकालाई अब टिकट नपाइने भयो भन्ने भय सिर्जना भइसकेको छ । अहिलेको गुटको छायाँ भोलि टिकट बाँड्दा पनि पक्कै देखिने त होला नि, हैन ?

त्यसको जिरो पनि सम्भावना छैन । किनभने पार्टी बनाउने भनेको सबै मिलेरै हो । आज कसैले टिकट पायो होला । अघिल्लो कार्यकाल म सविधानसभा सदस्य थिएँ । त्यसपछि दुई कार्यकाल दाबी नै गरिनँ । अहिले स्थानीय तहमा भएका साथीहरुले भोलि पाउनुहुन्छ भन्ने पनि छैन । अथवा एकदम राम्रो काम गर्नुभयो भने दोहोरिन पनि सक्नुहोला । अनि अहिले कमिटी निर्माण गर्ने क्रममा एउटा विधि प्रयोग गरियो । एउटा कमिटी बन्यो । यसको लिगेसीपछि सम्म बोक्ने र गुट बनाउने कुरामा हामी कत्ति पनि सोचमा छैनौं ।

काम गर्ने र भूमिका खेल्ने साथीहरुलाई टिकट दिने हो । त्यस्तो गरिएन भने भोलि गएर रिजल्टमा असर गर्छ नि ! आमरुपमा कार्यकर्ताले रुचाएको मान्छेलाई नदिने हो भने, राम्रो काम गरेकालाई मूल्यांकन नगर्ने हो भने, अरु कुरामा हेरेर मूल्यांकन गर्ने हो भने त्यसले त रिजल्टमा हान्छ । मिसन ८४ पनि भन्ने, बहुमत पुग्नुपर्छ पनि भन्ने अनि हामीले कार्यकर्ताको यथार्थ मूल्यांकन नगरेर बायसनेस देखायौं भने त भोलि रिजल्टमा मिल्दैन । त्यो त हाम्रो पनि मूल्यांकनको विषय हुन्छ । त्यसकारण त्यस्तो हुँदैन । कसैले बाहिर त्यस्तो भनेको छ भने भन्ने छुट छ । तर, भोलि व्यवहारमा त्यो कुरा देखाउनुपर्छ ।

– एमालेको सदस्यता नवीकरण घटेको छ । एमालेका नेता कार्यकर्ताले नयाँ पार्टी रोजेका हुन् त ?

हाम्रो पार्टी सदस्यता घट्नुको पछाडि दुईतीन वटा कारण थिए । पहिलो, नेकपा निर्माणपछि यो सदस्यताको अपडेट गर्न पाइएको थिएन । दुई पार्टीको एकीकृत पार्ने संस्था नबन्दै पार्टीहरु आफ्नो स्थितिमा लाग्नुपर्ने अवस्था आयो । त्यो बीचको सदस्यता व्यवस्थित हुन पाएको थिएन । त्यसले गर्दा त्यो संख्या व्यवस्थित गर्दा घटेको हो । दोस्रो, विदेशमा गएको संख्या, बीचमा मरेको संख्या, बसाइसराइ गरेर घटेको संख्या हामीले अपडेट गर्न नसकेर पनि सदस्यता संख्या अहिले घटेको देखिएको हो । कहींकहीं यो त ठीक छ भनेर बनाएको अवस्था पनि थियो । ती कुराहरु हामीले हटाएर प्रत्येक पार्टी सदस्यकै नवीकरण गर्नेगरी खास पार्टी सदस्यता निकाल्दा खोज्दा घटेको हो । छोडेको अथवा अर्काे पार्टी रोजेको चाहिँ होइन ।


प्रतिक्रिया

One thought on “‘मिसन ८४ मा एमालेको बहुमत आउने गरी लाग्नुपर्छ’

  1. अबको आमचुनावमा पुराना पार्टीहरू किनारा लाग्नेछन् । जसरी काठमान्डु महानगर पालिकाको चुनावमा केशव स्थापित किनारा लागे, त्यसैगरि अवको चुनावमा जनतालाई झुटा आश्वासन बांड्ने र आफ्नो भुंडी भर्ने नेताहरुलाई जनताले किनारा लगाउने छन् । यिनै पुराना पार्टीले देशलाई एसियाकै सबैभन्दा गरीब मुलुक बनाए। जनता अब यिनी भ्रष्ट पार्टीको पछि लाग्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर