बागमतीका मन्त्रीहरु अझै दसैँमै मस्त- मन्त्रालय सुनसान, प्रदेश राजधानी मन्त्रीविहीन – Nepal Press

बागमतीका मन्त्रीहरु अझै दसैँमै मस्त- मन्त्रालय सुनसान, प्रदेश राजधानी मन्त्रीविहीन

हेटौंडा । यो वर्षको दसैं बिदा शुक्रबारबाट सकिएको छ । गत कात्तिक ४ गते फुलपातीबाट सुरु भएको दसैं बिदा आजबाट सकिएपनि बागमती प्रदेशका सबै १२ जना मन्त्रीहरु मन्त्रालय आएनन् । अधिकांश मन्त्रीहरु अझैपनि दसैंको रौनकमा रहेको पाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यतिबेला देश बाहिर छन् । पारिवारिक भ्रमणको क्रममा उनी युएई रहेको उनको स्वकीय सचिव दलबहादुर बुर्लाकोटीले बताए । मुख्यमन्त्रीको नेपाल आगमन शनिबार या आईतबार हुने उनको भनाइ रहेको छ ।

मुख्यमन्त्री युएई पुगेपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मा पाएका बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा पनि अझै दशैकै रौनकमा छन् । शुक्रबार मन्त्रालय उपस्थित नभएका लामा सोमबारसम्म हेटौंडा आउने उनका स्वकिय सचिव छत्रबहादुर लामाले बताए । उनले भने, ‘मन्त्रीज्यु दशैंको पारिवारिक भेटघाटमा काठमाण्डौँतिर हुनुहुन्छ, सायद सोमबारसम्म हेटौँडा गइन्छ होला ।’

बागमती प्रदेशका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठपनि यतिबेला काठमाण्डौँमा पारिवारिक जमघटमा रहेका छन् । श्रेष्ठ १४ गते मात्र हेटौँडा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, सस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र वन तथा वातावरण मन्त्री मसिना खड्का काठमाण्डौँमा दशै विदा मनाईरहेका छन् । उनिहरु हेटौँडा कहिले आउने भन्ने विषयमा अझै पत्तो छैन् ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठ भक्तपुरमा छन भने श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल काभ्रेमानै छन् । स्वास्थ्य मन्त्री उत्तम जोशी भने दशैको भेटघाटमा तनहुँ रहेको उनको सचिवालयले जनाएको छ ।

हेटौंडा नै गृह नगर भएकी सामजिक विकास मन्त्री कुमारी मोक्तान भने हेटौँडा पदम पोखरीस्थित घरमा नै आराम गरिरहेको उनको स्वकीय सचिव तारा मोक्तानले बताइन् । मोक्तान बिरामी रहेको कारण घरमा नै रेष्टमा रहेको उनको भनाई रहेको छ ।

कर्मचारीहरुको पनि ताल उस्तै

आजबाट सरकारी कार्यालय खुलेपनि यहाँ रहेका १२ वटा मन्त्रालयमा अधिकांश मन्त्रालयका सचिवहरु अनुपस्थित भएका छन् । दसैं बिदा सकिएर नियमित कार्यलय आजैबाट सञ्चालनमा आएपनि मन्त्रालयमा कर्मचारीहरु निकै न्यून देखिएका छन् ।

बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्याय सहित आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव धुरब गैडालगायत अधिकांश मन्त्रालयका सचिवहरु मन्त्रालयमा उपस्थित भएनन् । प्रदेशको सामजिक विकास मन्त्रालयका सचिव डाक्टर भिस्म कुमार भुषाल भने आज दिनभर कार्यलयमा काममा व्यस्त थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर