हङकङविरुद्ध दवदवापूर्ण जितसँगै नेपाल फाइनलमा – Nepal Press
त्रिदेशीय टि–२० सिरिज

हङकङविरुद्ध दवदवापूर्ण जितसँगै नेपाल फाइनलमा

काठमाडौं । त्रिदेशीय टि–२० सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको छ । आज भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्‍याे ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ रनमा रोकिएको हो ।

नेपालको धारिलो बलिङमा हङकङका ब्याट्सम्यानहरुले प्रतिरोध गर्न सकेनन् । अंशुमान रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट बाँडे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २१३ रनको विशाल स्कोर खडा गरेको थियो । एक समय ८।१ ओभरमा चार विकेट गुमाएरु ५५ रनमा संघर्ष गरिरहेको अवस्थाबाट कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले आक्रामक साझेदारी गर्दै नेपाललाई ठूलो स्कोरतर्फ डोहोर्याएका थिए । उनीहरुबीच पाचांै विकेटका लागि १४५ रनको विश्वकिर्तिमानी साझेदारी भएको छ ।

कुशलले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए । उनी अन्तिम ओभरको पाचौं बलमा आउट भए । दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकासहित ५७ रन जोडे ।

नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । १.१ ओभरमा ९ रन बनाउँदा ओपनर कुशल भुर्तेल आउट भए । नेपालले आज सोमपाल कामीलाई तेस्रो नम्बरमा बढुवा गरेको थियो । तर, उनी सफल भएनन् । सोमपालले १२ बलमा ८ रन मात्र जोड्न सके ।

अर्का ओपनर आसिफ शेखले राम्रो सुरुवात गरे पनि लामो समय टिक्न सकेनन् । उनी १३ बलमा २० रन जोडेर आउट भए । कप्तान रोहित पौडेल पनि आज नचलेपछि नेपाल संकटमा परेको थियो । तर, त्यसपछि कुशल–दीपेन्द्र शो सुरु भयो ।

(यसअघि हेडलाइनमा फाइनल हुनुपर्नेमा सेमिफाइल भएकाले सच्याइएको छ ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *