धार्मिक, सामाजिक सद्भाव खलबल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन (भिडिओ) – Nepal Press

धार्मिक, सामाजिक सद्भाव खलबल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खलबल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६८ औँ प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केहि जिल्लाहरूमा देखिएको धार्मिक र सामाजिक सद्भाव खलबल्याउने घटनालाई संवदेनशील रूपमा लिनुपर्ने बताए ।

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए ।

उनले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रूपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।

नेपाल प्रहरीको आवश्यक भूमिका र कर्तव्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यस तर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए ।

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षण लगायतमा संगठनको काम कारबाही उत्कृष्ट हुने प्रतिबद्धता जनाए ।

प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित नेपाल प्रहरी कार्य योजना,२०८० तर्जुमा गरिएको उनले बताए ।

कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो भने अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर