कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने – Nepal Press

कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि जाने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ (गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गर्ने जनाइएको छ । त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल गर्नेछन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ ।

मोदीले त्यहाँ उनले भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् । दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।

नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन ।

सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत यो बारे बेखवर जस्तै छन् । सीमा क्षेत्रमा पनि सन्नाटा छ ।


प्रतिक्रिया

One thought on “कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने

  1. बलिया र बुद्धिमानले गर्ने कुरा यस्तै हो। छ कोही नेपाली माईका लाल उन्लाई रोक्ने? सके हाम्रा नेताहरू फूल माला लिएर त्याहा स्वागत गर्न लाइन लगाउने पो हो कि? हाम्रै भूमि हो भनेको होइन? अनि आफ्नो भूमिमा पाहुनाको स्वागत नगर्ने त? ओलीजी त पक्कै पुग्नु हुनेछ त्याहा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर