मेनुका पौडेलको साधना- नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा छरिन् जादु – Nepal Press

मेनुका पौडेलको साधना- नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा छरिन् जादु

भारतीयले मात्र भाग लिन मिल्ने प्रतियोगितामा कसरी पुगिन् नेपाली चेली ?

काठमाडौं । भारतीय टीभी रियालिटी शोमा प्रतियोगीहरूलाई निर्णायकले वाहवाही गर्नु, उनीहरूको ‘दर्दभरी कथा’ सुनेर भक्कानिँदै आँसु झार्नु कुनै नौलो दृश्य होइन । टीआरपीका लागि पनि उनीहरु कहिलेकाहीं अतिरञ्जित रूपमा पेश हुने गर्छन् । तर, नेपालकी गायिका मेनुका पौडेलले इन्डियन आइडलको मञ्चमा पहिलोपटक पेश हुँदा जुन रियाक्सन जजहरुबाट पाइन्, त्यो भने ‘नेक्स्ट लेभल’ कै थियो ।

मेनुकाको प्रस्तुतिमा निर्णायकद्वय श्रेया घोसाल र विशाल धर्धरी रोए । तर, उनको पीडादायी जीवनकथा सुनेर होइन, फगत उनको आवाज र गायकीले निर्णायकहरु भक्कानिएका थिए । उनीहरुले मेनुकाको प्रशंसामा कुनै पनि शब्द खर्चिन कञ्जुस्याइँ गरेनन् । ‘संगीतको भगवान’ कै संज्ञा दिए । तर, जब मेनुकाले विशालको संगीतमा गाउने इच्छा व्यक्त गरिन्, विशालले स्पष्ट शब्दमा ‘एस’ भनेनन् । कूटनीतिक जवाफ दिँदै भने, ‘यदि मेरो नसिबमा रहेछ भने त्यो सम्भव हुनसक्छ ।’

भन्न खोजिएको के हो भने अडिसनमा पाएको तालीबाट नै मेनुकाको इन्डिया आइडल यात्रा कति लामो हुन्छ भन्न सकिन्न । आज ‘संगीतको भगवान’ भन्दै भावुक हुने जजहरुले अर्को कुनै प्रस्तुतिमा ‘आई एम नट इम्प्रेस्ड’ भन्न कुनै संकोच मान्दैनन् । विगतमा पनि मेनुकाको जस्तै तारिफ पाउनेहरु टप १० मै नपुगी आउट भएका उदाहरण छन् । यदि टप १० मा पुगिहालिन् भने त्यसपछिको यात्राका लागि पब्लिक भोटमा निर्भर हुनुपर्छ उनले । पब्लिक भोटमा गइसकेपछि प्रतिभाभन्दा पैसा बलियो हुन्छ ।

इन्डियन आइडल १४औं सिजनको हिजोबाट प्रशारण सुरु भएको हो । पहिलो एपिसोडमै मेनुकाको प्रस्तुति समावेश थियो । त्यसको अफिसियल भिडिओ रिलिज गरिएको छैन । तर, मेनुकाले गाएको क्लिपहरु भने सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनको प्रस्तुतिले सबैलाई कायल बनाएको छ ।

भारतीय टीभी रियालिटी शोमा मेनुकाले यसरी ‘आगो लगाएको’ यो पहिलो पटक होइन । उनी चार वर्षअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिन गएकी थिइन् । त्यसको अडिसनमा पनि उनले यसैगरी वाहवाही बटुलेकी हुन् । यसैगरी उनको भिडिओ भाइरल भएको थियो ।

त्यसबेला अडिसनमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात है..’ गाउँदा जजहरुले प्रशंसाको पुल बाँधेका थिए । हरेक एपिसोडमा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउने गर्थिन् । तर, टप ११ को प्रतिस्पर्धाबाटै उनलाई आउट गरियो । पहिले अडिसनमा ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ भन्दै फुर्क्याउने जज वाजिद खानले टप ११ मा आइपुग्दा ‘मेनुकाको प्रस्तुति सुन्दर भए पनि ‘म्याजिकल’ नभएको’ प्रतिक्रिया दिएका थिए । यसरी प्रतियोगीहरुलाई ‘उचाल्न र थेचार्न’ अभ्यस्त हुन्छन् भारतीय टीभी रियालिटी शोका जजहरु ।

इन्डियन आइडलको पाँचांै र छैटौं सिजनमा जज रहेकी सुनिती चौहानले इकोनोमिक टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा आफूहरुलाई कार्यक्रमका निर्माताले प्रतियोगीहरुलाई बढीभन्दा बढी प्रशंसा गर्न लगाउने गरेको खुलासा गरेकी थिइन् । सन् २०२१ मा गेस्ट जजका रुपमा आएका गायक अमितकुमारले पनि आफूलाई कुनै पनि प्रतियोगीको आलोचना नगर्न सुझाव दिइएको बताएका थिए ।

मेनुकाको यात्रा र साधना

२५ वर्षीय मेनुका आँखाको दृष्टिबाट वञ्चित छिन् । उनको अन्तरदृष्टि भने निकै चम्किलो छ । उनलाई यस्तो आवाजको वरदान प्राप्त छ, जसले जोकोहीलाई मन्त्रमुघ्ध बनाउन सक्छ । मानौं, संगीत उनको नशा नशामा छ ।

२०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनलाई आँखा विसेक पार्न हरसम्भव प्रयास गरे । अस्पतालदेखि धामी-झाँक्री सबैतिर धाउँदा पनि केही लागेन । अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले गह्रामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर थन्क्याइदिए, जहाँ उनी जस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए । घरबाट एक घन्टा दूरीमा रहेको यही होस्टलको चौघेराभित्र बितेको थियो मेनुकाको बाल्यकाल ।

आँखा नदेखे पनि मेनुका सानैबाट अति आत्मविश्वासी थिइन् । उनको एक्लैएक्लै हिँड्ने आदत बाल्यकालदेखिकै हो । ह्वाइट केन हातमा समातेपछि ठमठम गर्दै शहरबजार जतासुकै चहार्थिन् । चाहेको ठाउँमा पुगेरै छाड्थिन् । जसरी अहिले एक्लै भारत-नेपाल आउजाउ गर्छिन् ।

पढाइमा जेहेनदार थिइन् मेनुका । ब्रेल लिपिमा लेखपढ गरेकी उनले सहयोगी राखेर एसएलसी परीक्षा दिएकी थिइन् र फर्स्ट डिभिजनमा पास भएकी थिइन् । भनिरहनु नपर्ला, आँखा देख्ने कैयौं परीक्षार्थीलाई उनले पछि पारिन् । एसएलसीपछि बल्ल दुर्गा मावि होस्टलबाट उनी बिदा भइन् ।

संगीतमा मेनुकाको झुकाव पनि जन्मजात नै थियो भन्दा हुन्छ । चार वर्षको उमेरमा होस्टल छिर्दा त्यहाँ हार्मोनियमको गुञ्जनले उनलाई तानेको थियो । त्यो धुन उनलाई दिन-प्रतिदिन प्रिय लाग्दै गयो । ७ वर्षको उमेरमा आफैंले हार्मोनियम बजाउन सिकिसकेकी थिइन् । पढाइभन्दा संगीतमा नै उनको लत बस्यो । स्कुलभित्र र बाहिर थुप्रै गायन प्रतियोगितामा भाग लिइर पुरस्कार जितिन् ।

एसएलसी सकेर काठमाडौं आएपछि उनको नयाँ चरणको संघर्ष सुरु भयो । यो संघर्षमा उनको एकमात्र भरपर्दो साथी थियो मोबाइल । उनी मोबाइल चलाउन पारंगत थिइन् । त्यही मोबाइलबाट खोजीखोजी संगीत क्षेत्रका व्यक्तिहरुलाई साथी बनाइन् । भेट्न पुगिन् । सहयोग मागिन् । तर, कहिल्यै कतै पनि आफ्नो शारीरिक कमजोरीलाई सहारा बनाइनन् । उनलाई नभेट्दासम्म कसैलाई पनि थाहा हुँदैनथ्यो कि उनी एक दृष्टिविहीन हुन् ।

छोरीको चाहनाअनुसार बुवाले उनलाई म्युजिक पढाउने कलेजमा नै भर्ना गरिदिए । कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टलमा बसेर उनी आकाशेधारामा रहेको म्युजिक कलेज धाउँथिन् । कलेज-घर एक्लै आउजाउ गर्नु उनको लागि कुनै बडीबात थिएन ।

काठमाडौं आएको केही समयमै उनले रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन् र प्रथम भइन् । यसपछि उनको हौसलाले थप उडान लियो । अनि भाग लिइन् नेपाल आइडलको पहिलो सिजनमा । जतिबेला उनको उमेर १८ वर्षको थियो ।

नेपाल आइडलले नै उनलाई देशविदेशमा रहेका नेपालीहरुमाझ चिनायो । यात्रा भने टप ११ मा पुगेर रोकियो । भोटिङका आधारमा उनी आउट भइन् । तर, रोकिएन उनको सांगीतिक रफ्तार । अब उनलाई देशको सीमा छिचोलेर बाहिर निस्किनु थियो । भारतीय टीभी च्यानलले सारेगमपको नयाँ संस्करण सुरु गर्न लागेको थियो । काठमाडौंमा पनि अडिसन हुने उनले थाहा पाइन् । अवसर गुमाउनु थिएन । भिडिओ अडिसन दिइन् र सेलेक्ट भइन् । काठमाडौंको अडिसनमा भाग लिएका सयौंबाट छानिएर कोलकाता पुगिन् । त्यहाँबाट पनि छानिएर मुम्बईमा अडिसन दिन पुगिन् । पाँचौं चरणमा दिएको अडिसन बल्ल अन एयर भयो, उनी रातारात भाइरल भइन् ।

मुम्बई अडिसनमा मेनुकाले लता मंगेशकरको गीत गाउँदा जजहरुले भयंकर तारिफ गरेका थिए । उनलाई कम्तीमा टप ५ को प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । तर, प्रशंसा एकातिर, ‘नियत’ अर्कोतिर । भोटिङ राउन्ड सुरु नहुँदै उनलाई पन्छाइयो । संयोगवस यहाँ पनि टप ११ मै उनको यात्रा रोकियो ।

सारेगमपबाट आउट भएपछि नै उनले इन्डियन आइडलको तयारी थालेकी हुन् । तर, उनले कसैलाई पनि आफू इन्डियन आइडलमा भाग लिन जाँदैछु भन्ने सुइँको दिएकी थिइनन् । त्यसैले यो एकप्रकारले सबैका लागि सरप्राइज भयो ।

सारेगमपबाट भाग लिएर फर्किएपछि यो पंक्तिकारको एक पटक मेनुकासँग भेट भएको थियो । त्यसबेला उनले गायकी भन्दा पनि बाह्य कारणले आफू चाँडै आउट भएको आँकलन सुनाएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘त्यहाँ धेरै कुराले असर गर्दो रहेछ । गायनमात्र नभएर धेरै कुरामा विचार पुर्‍याउनुपर्दो रहेछ । गीत त मैले राम्रो नै गएको थिएँ । तर पनि अरु कारणले आउट भएँ ।’

मेनुकाले आफू फेक न्यूजको शिकार बनेको गुनासो गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मैले नराम्रो गाएर आउट भएकी होइन । युट्युबमा आएका केही हेडलाइनहरुले मलाई असर ग¥यो । धेरै मिडियाले मलाई साथ दिँदादिँदै केही युट्युब च्यानलले फेक न्यूजहरु भाइरल गराए ।’

त्यसबेला ‘मेनुका पौडेल भन्छिन्- भारतसँग नाकाबन्दीको बदला लिएरै छाड्छु’, ‘म अन्धीलाई एक शेयर गरिदिनुस् प्लीज’ भन्ने जस्ता हेडलाइन केही युट्युब च्यानलमा आएका थिए ।

मेनुकाले इन्डियन आइडलको अडिसनमा गोल्डेन माइक पाएपछि सीधै थियटर राउन्डमा स्थान बनाएकी छन् । उनीसँगै ४ जनाले गोल्डेन माइक पाएका थिए । अब उनीहरुले १५ जना प्रतिस्पर्धीसँग भिड्नुपर्छ । थियटरपछि गाला राउन्ड र त्यसपछि ‘इलिमिनेसन राउन्ड’ सुरु हुनेछ । टप १२ पछि सायद भोटिङबाट निर्णय हुने होला । कामना गरौं, यसपालि मेनुकालाई कुनै पनि ‘बाह्य कारण’ ले असर नगरोस् ।

इन्डियन आइडलको मञ्चमा आउँदाखेरि मेनुका निकै आत्मविश्वासी देखिएकी छन् । उनले आफ्नो आत्मविश्वास खुलेरै प्रकट पनि गरिन् ।

‘मलाई कुकिङ, सपिङ गर्न आउँछ । हार्मोनियम बजाउन आउँछ । म एक्लै जतासुकै घुमफिर गर्छु । सामान्य मान्छेले गर्ने काम सबै गर्न सक्छु’, उनले फुर्तीसाथ भनिन् ।

जब गाउन थालिन्, उनको ‘उठान’बाट नै जजहरु प्रभावित भइहाले । कोमल आवाजमा उनी निकै मीठो गुञ्जिइन् । सात वर्षअघि नेपाल आइडलमा गाउँदा र अहिले इन्डियन आइडलमा गाउँदा उनको गायिकीमा बदलाव पाइयो । पहिले उनी अलि तिखो आवाजमा गाउँथिन् । अहिले बढी मधुर र कर्णप्रिय लागिन् । सुरमा पनि निकै कमान्ड बनाइसकेकी छन् । एउटा नेपाली गायिकाले हिन्दी भाषाको गीत यत्तिको सटिक उच्चारण र सुर मिलाएर गाउनु पनि ठूलै कुरा हो । मेनुकाले गायकीमा मात्र नभर हिन्दी भाषामा पनि निकै सुधार गरिछन् ।

इन्डियन आइडलमा नेपाली !

नेपालीहरुले भारतका थुप्रै टीभी रियालिटी शोहरुमा भाग लिँदै आएका छन् । तर, इन्डियन आइडलमा भाग लिने मेनुका पहिलो नेपाली हुन् ।

खासमा ‘इन्डियन आइडल’ मा गैरभारतीयले भाग लिन नपाउने प्रावधान छ । अरु भारतीय रियालिटी शोमा जुनसुकै देशका नागरिकले भाग लिन पाउने भए पनि इन्डियन आइडलमा भने भारतीयले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । विगतमा केही नेपालीभाषी भारतीयले इन्डियन आइडलमा भाग लिएका छन् । दार्जिलिङका प्रशान्त तामाङले उपाधि नै जितेका थिए । तर, विशुद्ध नेपाली नागरिकले भने इन्डियन आइडलमा अडिसन दिएर छनोट भएको पहिलो पटक हो ।

मेनुकाले कसरी इन्डियन आइडलमा अडिसन दिन पाइन् भन्ने खुलेको छैन । या त टेलिभिजनले नेपालमा मार्केट बढाउन आफ्नो नीति बदलेको/मिचेको हुनुपर्‍यो वा मेनुकाले भारतबाट रासन कार्ड/आधार कार्ड जस्ता कुनै कागजात लिएको हुनुपर्‍यो । अडिसनको फुटेज हेर्दा उनलाई जजहरुले कहाँबाट आएको भनेर सोधेनन्, जबकि सामान्यतया सोध्ने गर्छन् । न मेनुका आफैंले आफूलाई नेपाली भनेर चिनाइन् ।

– चिरञ्जीवी पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर