मधेश प्रदेशमा मन्त्रीको संख्या १४ पुग्यो, साहलाई पार्टीमा टिकाउन मुख्यमन्त्रीले फुटाए मन्त्रालय – Nepal Press

मधेश प्रदेशमा मन्त्रीको संख्या १४ पुग्यो, साहलाई पार्टीमा टिकाउन मुख्यमन्त्रीले फुटाए मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री र राज्यमन्त्रीसहित मन्त्रीको संख्या १४ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या १२ पुगेको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी निर्णयबाट शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका  छन् । उनले जनता समाजवादी पा‍र्टी (जसपा)ले विनाविभागिय मन्त्री बनाएको सुरिता साहका लागि मन्त्रालय फुटाएका हुन् । शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकूद तथा समाज कल्याण मन्त्रालय बनाइएको छ ।

गठबन्धनको भागबण्डामा शिक्षा तथा समाज कल्याण मन्त्रालय जनमत पार्टीको भागमा परेपछि संसदीय दलका नेता महेशप्रसाद यादवले उक्त मन्त्रालय सम्हालेका थिए । तर बिना सल्लाह मन्त्रिपरिषद्को बैठकमा प्रस्तावसमेत नलगी मन्त्रालय फुटाएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा मन्त्री यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालय र चार महिनादेखि बिना विभागीय मन्त्री रहेकी साहलाई खेलकूद तथा समाज कल्याण मन्त्रालय तोकिएको छ ।

मन्त्री यादवले भने मन्त्रालय फुटाएर शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएकोले पदभार ग्रहण नगर्ने संकेत गरेका छन् । उनले पार्टीमा छलफलपछि मात्रै पदभार ग्रहण गर्ने वा नगर्ने निर्णय लिने बताए ।

स्वतन्त्रबाट जितेर सांसद बनेकी साह जसपामा प्रवेश गरेपछि उनलाई उपहार स्वरूप मन्त्री बनाइएको थियो । मुख्यमन्त्री यादव जसपाका हुन् । त्यसैले उनलाई व्यवस्थापन गर्न मुख्यमन्त्री यादवले मन्त्रालय नै फुटाएपछि आलोचना सुरु भइसकेको छ ।

मुख्यमन्त्रीको शपथग्रहण गरेका दिन यादवले मन्त्रालयको संख्या नबढाउने प्रतिबद्धता जनाएका थिए । तर आफ्नै प्रतिबद्धतालाई लत्याएर साहलाई पार्टीमा टिकाउनकै लागि मन्त्रालय टुक्राएका हुन् । मुख्यमन्त्री यादव तीन दिन अगाडी नै मन्त्रालय फुटाउने तयारी भइरहेकाे समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।

उनले मन्त्रालय टुक्राएर मन्त्रीको जिम्मेवारी हेरफेर गरेको सिफारिस तीन दिन अगाडी नै प्रदेश प्रमुखको कार्यालयमा पठाएको स्रोतको दावी छ । तर प्रदेश प्रमुखको कार्यालयले भने आज मात्र विज्ञप्ती जारी गरेको छ ।


प्रतिक्रिया

One thought on “मधेश प्रदेशमा मन्त्रीको संख्या १४ पुग्यो, साहलाई पार्टीमा टिकाउन मुख्यमन्त्रीले फुटाए मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर