द्वन्द्व निर्देशक चन्द्र पन्त बने ‘मायावी’का निर्माता – Nepal Press

द्वन्द्व निर्देशक चन्द्र पन्त बने ‘मायावी’का निर्माता

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।

अभिनेता राज कटुवाल पनि यस चलचित्रका निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले चलचित्र ‘मायावी’मार्फत निर्माणमा हात हालेका हुन् ।

झण्डै दुई दर्जन बढी चलचित्रमा द्वन्द्व निर्देशक रहिसकेका चन्द्रले भोजपुरी चलचित्र ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली चलचित्र ‘माही’ हो । हाल छायांकनमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन रहेको छ ।

यतिबेला ‘मायावी’को छायाँकन गर्ने तयारी गर्दै निर्माण टीम र कलाकारहरु मुस्ताङ पुगेका छन् । छायाँकनअघि यस चलचित्रका मुख्य कलाकारहरु र निर्माण टीमको लाइनअप सार्वजनिक भइरहेको छ ।

प्रेमकथामा आधारित चलचित्रमा मुख्य नायिकाहरुमा दीपिका प्रसाईं र करिश्मा श्रेष्ठ तथा मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै चलचित्रमार्फत रजतपटमा कमव्याक गर्दैछन् ।

यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यु गर्दैछन् ।

चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यु गरेकी करिश्मा ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि चलचित्रमा देखिएकी छैनन् । लामो समयपछि उनी ‘मायावी’मा देखिन लागेकी हुन् ।

यस्तै चलचित्रको एक मुख्य पात्रमा अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिकाबारे निर्माण टीमले अहिलेसम्म केही खुलाएको छैन ।

चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिनेछ । पोखराकै परिवेशमा रहेर यो चलचित्रको कथा बुनिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत र राजुविक्रम थापाको डीओपी रहनेछ ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्ने चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराईले करिब चार वर्षपछि पुनः चलचित्र निर्देशन गर्दैछन् ।

दिवाकरले यसअघि चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर