यस वर्षको भैरव पुरस्कार मुन पौडेललाई, अभि सुवेदीलाई वाङ्ममय तथा बद्रीनाथलाई प्रतिभा पुरस्कार – Nepal Press

यस वर्षको भैरव पुरस्कार मुन पौडेललाई, अभि सुवेदीलाई वाङ्ममय तथा बद्रीनाथलाई प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलबार सार्वजनिक गरेको छ ।

गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

१ लाख १ हजार १११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको समिति गठन गरेको थियो ।

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रबार राजधानीको गोकर्णेश्वर- ५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । रिजालका अनुसार गुठीको साधारणसभा पनि सोही दिन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर