दयाहाङ र विपिनको बक्स अफिस भिडन्त, कसको पल्ला भारी ? – Nepal Press

दयाहाङ र विपिनको बक्स अफिस भिडन्त, कसको पल्ला भारी ?

भारतीय चलचित्र ‘जवान’को थिचोमिचोमा परे दुवै नेपाली फिल्म

काठमाडौं । भाद्र २९ गते शुक्रबार अर्थात भोलिबाट सम्भावना बोकेका दुई नेपाली चलचित्रहरु एकसाथ रिलिज हुँदैछन् । अभिनेता विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’ र अर्का अभिनेता दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ ।

हुन त यी दुवै चलचित्रमा अरु चल्तीका कलाकारहरु पनि छन् । दिपेन्द्र लामा निर्देशित तथा लिखित चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङलाई नायिका मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी राणा, कर्मा लगायतले साथ दिएकी छन् भने ‘एक भगवत र एक गीता’ मा विपिनसँगै अर्का नायक धिरज मगर र नायिका सुहाना थापाको प्रमुख भूमिका छ ।

‘एक भगवत र एक गीता’ सुहाना इन्टरटेनमेन्ट्सबाट बनेको चलचित्र हो, जसलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन र निर्माता सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुहाना सुनिल र झरनाकी छोरी हुन् । एक वाक्यमा भन्नुपर्दा ‘एक भगवत र एक गीता’ सुहानाको आफ्नै होम प्रोडक्सन फिल्म हो ।

दुवै चलचित्रमा कलाकारहरु भरमार भएता पनि अभिनयका महारथी विपित र दयाहाङमाथि बढी निर्भर रहनेछन् । उनीहरु दुवै बलियो फ्यान बेस भएका कलाकार हुन् । बौद्धिक दर्शकलाई पनि हलसम्म आकर्षित गर्न सक्ने क्षमता उनीहरुमा छ ।

कडब्डी ४ र जारी पछि दयाहाङ र मिरुनालाई चलचित्र नगरीको हिट जोडीको रुपमा लिने गरिएको छ । यो चलचित्रको सबैभन्दा ठूलो व्यापारिक हत्कण्डा पनि यही नै हो । ‘जारी’ पछि उनीहरुलाई फेरी हेर्न दर्शक आतुर छन् भन्ने निर्माण पक्षको बुझाइ छ । चलचित्र रिलिजअघि एउटा गीत टिकटकमा हिट भएकाले पनि निर्माता–निर्देशक हौसिएका छन् ।

अर्कोतर्फ ‘एक भगवत एक गीता’ लाई कन्ट्रोभर्सीले फाइदा मिलेको छ । चलचित्रको नामलाई लिएर निकै लफडा भयो । केही धार्मिक संस्थाले नाममा आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिएको थिएन । यो विवादले चलचित्रलाई व्यापक चर्चामा ल्यायो । यति विवाद खेपेको चलचित्र कस्तो बनेको छ भन्ने कौतुहल दर्शकमा जागेको छ । साथै, भर्खरै सार्वजनिक गरिएको एउटा मैथिल गीतले पनि प्रशंसा कमाइरहेको छ ।

धीरज र सुहानाको जोडीले पनि युवा पुस्ताका दर्शकलाई अपिल गर्न सक्छ । सुहानाले अभिनय गरेको पहिलो फिल्म ‘ए मेरो हजुर ४’ बक्स अफिसमा हिट भएको थियो । यस्तै, धीरज पनि उदियमान कलाकारमा पर्छन् । धीरज र सुहानाको केमेस्ट्री हेर्न पनि केही दर्शकहरु हलसम्म तानिनेछन् ।

अरु पक्ष जे भए पनि मुख्य प्रतिस्पर्धा भने विपिन र दयाहाङकै हुने छ । चलचित्र हिट वा फ्लप हुँदाको जस÷अपजस पनि सबैभन्दा बढी उनीहरुले नै बोक्नुपर्ने हुन्छ । अभिनयमा दयाहाङ भन्दा विपिन धेरै भर्सटाइल छन् । तर, व्यापारिक रेकर्ड भने दयाहाङको राम्रो छ । उनीहरु दुवैले एकसाथ अभिनय गरेको चलचित्र ‘फुलबारी’ ले गत वर्ष औसत व्यापार गरेको थियो ।

तर, यतिबेला यी दुवै नेपाली चलचित्र विदेशी चलचित्रको मारमा परेका छन् । अहिले स्वदेशी सिनेमा घरमा भारतीय चलचित्र ‘जवान’ को दवदवा छ । जवानकै कारण ‘नाङ्गो गाउँ’ र ‘भगवत गीता’ ले पर्याप्त शोहरु पाएका छैनन् । यदि ओपनिङ डे बाट राम्रो वर्ड अफ माउथ पाएको खण्डमा चलचित्रका शोहरु थपिन सक्छन् । अन्यथा दुवै चलचित्रलाई लगानी उठाउनु चुनौतिपूर्ण हुने देखिन्छ ।

विपिन कार्की स्टारर ‘भगवत गीता’ ले क्यूएफएक्समा देशव्यापी १९ शो मात्र पाएको छ । चलचित्रलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच र आईएनआईले चार शो दिएका छन् । त्यसैगरी दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ ले क्यूएफएक्समा देशव्यापी ३० शो पाएको छ ।

चलचित्रलाई वान सिनेमाजले ७ शो, बिग मुभिजले ४ र आईएनआईले ६ शो दिएका छन् । शो संख्याको तुलना गर्ने हो भने ‘नांगो गाउँ’ अगाडि छ । यद्यपि, दर्शकको प्रतिक्रियाका आधारमा यो तलमाथि हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *