महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनका फुटबल महासंघ अध्यक्षमाथि कारवाहीको चौतर्फी दबाब – Nepal Press

महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनका फुटबल महासंघ अध्यक्षमाथि कारवाहीको चौतर्फी दबाब

काठमाडौं । स्पेनको फुटबल महासंघका अध्यक्षले विश्व विजयी राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई ओठमा चुम्बन गरेको विषयले उत्पन्न विवाद मत्थर हुनुको साटो थप झांगिँदै गएको छ । महिला खेलाडीहरुको युनियनले महासंघका अध्यक्ष लुइस रुवियल्सलाई दण्डित गर्न माग गरेका छन् ।

स्पेनले विश्वकप जितेपछि रुवियल्सले अति उत्साह देखाउँदै टीमका खेलाडीहरुलाई अंगालोमा कसेर चुम्बन गरेका थिए । स्ट्राइकर जेनिफर हेर्मोसोलाई उनले बोकेर ओठमै चुम्वन गरेपछि उनी विवादमा तानिएका हुन् । यसलाई धेरैले आपत्तिजनक मानेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै स्पेनको एसोसियसन अफ प्रोफेसनल सकर प्लेयर्स (फुटप्रो) ले भनेको छ, ‘यो जरुरी छ कि हालको विश्वविजेता हाम्रो टीम सँधै त्यस्ता व्यक्तिहरुको नेतृत्वमा हुनुपछृ जो समानताको सिद्धान्तलाई बुझ्नु र सबैलाई सम्मान गरुन् । यस्तो किसिमको अस्वीकार्य व्यवहारलाई कदापी उन्मुक्ति दिनु हुँदैन ।’

३३ वर्षिया हेर्मोसोले यसअघि नै आफूलाई महासंघ अध्यक्षको चुम्बन मन नपरेको र यस्तो अपेक्षा नगरेको प्रतिक्रिया दिएकी थिइन् । उनले बुधबार विज्ञप्ति समेत निकालेर युनियन र आफ्नो एजेन्सीले यस मामलामा आफ्नो प्रवक्ताका रुपमा काम गरिरहेको जनाएकी छन् ।

महासंघ अध्यक्ष रुबियल्सले आफूबाट गल्ती भएको स्वीकारिसकेका छन् ।

उनले भिडिओ सन्देशमा भनेका छन्, ‘पक्कै पनि मैले गल्ती गरेँ । त्यसका लागि मैले क्षमायाचना गर्नुपर्छ । तर, मैले गलत नियतले गरेको होइन । जसलाई यसले चोट पुगेको छ, म सरी भन्न चाहन्छु ।’

तर, स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेज यतिले सन्तुष्ट छैनन् । रुबियल्सको क्षमायाचना मात्रै पर्याप्त नहुने उनले बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर