काठमाडौंकै होस्टेलमा बालिकाहरुमाथि यौन उत्पीडन, यसरी बाहिरियो कर्तुत – Nepal Press

काठमाडौंकै होस्टेलमा बालिकाहरुमाथि यौन उत्पीडन, यसरी बाहिरियो कर्तुत

पीडितहरुले विदेशी स्वयंमसेवकसँग कुरा खुलाएपछि खुल्यो काठमाडौंकै होस्टल सञ्चालकको यौन कर्तुत

काठमाडौं । काठमाडौंको स्वयम्भू–१५ स्थित आनन्दकुटी विद्यापिठ स्कुलको प्राङ्गणमा स्नो मन्जुश्री नामक सस्थाले होस्टल सञ्चालन गरेको छ । गैरनाफामुलक तबरबाट चलाइएको होस्टलमा ४७ जना विद्यार्थीहरु बस्थे । उक्त होस्टल विद्यालयको नाममा दर्ता छ ।

विद्यालयले नै होस्टल चलाउने जिम्मा स्नो मन्जुश्रीलाई दिएको थियो । होस्टल विदेशी दाता र मनाङका जिल्लाबासीहरुको सहयोगबाट चल्ने गरेको छ ।  गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई शिक्षादिशा दिने भन्दै विभिन्न  जिल्लाबाट बालबालिकाहरु ल्याएर हाेस्टल सञ्चालन भइरहेकाे थियाे ।  यही होस्टलको विदेशी दाताहरुले यहाँभित्रको अँध्यारो कथा बाहिर ल्याइदिएका छन् ।

मनाङका होस्टल सञ्चालक सोनम घ्याम्चे घलेले लामो समयदेखि बालिकाहरुलाई यौन दुर्व्यवहार गर्दै आइरहेका थिए । तर ती बालिकाहरुले कसैलाई बताउन सकेका थिएनन् । सञ्चालक घलेले बालिकाहरुलाई यो घटना बाहिर ल्याए मार्ने धम्की दिन्थे । सोही कारणले पनि उनीहरुले सहेर बसे ।

गत बुधबार आर्थिक सहयोग गर्न विदेशी स्वयंमसेवक होस्टलमा पुगेका थिए । उनीहरुले बालबालिकासँग कुराकानी गरे । कुराकानीको क्रममा बालिकाहरुले आफूमाथि भइरहेको यौन दुर्व्यवहारको घटना खुलाए । त्यसपछि बल्ल होस्टल सञ्चालकको कर्तुत खुलासा भयो ।

लगत्तै ती स्वयंसेवकले राष्ट्रिय बालअधिकार परिषद्मा खबर गरेपछि परिषद, काठमाडौं महानगरपालिका, बाल हेल्पलाइन १०९८, छोरी संस्था र बालअधिकारका लागि राष्ट्रिय अभियानको सयुक्त टोलीले होस्टलमा रहेका ११ जना पीडित बालिकाहरुलाई उद्धार गरेको थियो । प्रारम्भिक रुपमा बुझ्दा निकै लामो समयदेखि उनीहरुमाथि यौन दुव्र्यवहार भएको खुल्न आएको बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालले बताए ।

उनले भने, ‘हामीले जानकारी प्राप्त भइसकेपछि राष्ट्रिय बालअधिकार परिषद्लगायत काठमाडौं महानगरपालिकासमेत गएर बालिकाहरुको उद्धार गरिएको हो ।’

लगत्तै स्वयम्भू प्रहरी वृत्तबाट गएको प्रहरीले होस्टल सञ्चालक घलेलाई पक्राउ गर्यो । उनलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको स्वयम्भु प्रहरी वृत्तका प्रहरी निरीक्षक देवीदत्त मोतेले बताए । उनले नेपालप्रेससँग भने, ‘हामीले बुधबार नै आरोपीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिसकेका छौं ।’

प्रहरी निरीक्षक मोतेका अनुसार अहिले बाल यौन दुव्र्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ ।

‘बालिकाहरुलाई सेफ हाउसमा राखेर बुझने कामहरु भइरहेको छ । अहिले थप आउनुभएको छैन । अरु पनि पीडित हुनुहुन्छ कि भनेर बुझ्दैछाैं,’ उनले भने ।

प्रारम्भिक अनुसन्धानका क्रममा चार महिनाअघि मात्र घले होस्टल चलाउन आएको खुलेको छ । यसअघि अन्य ठाउँमा उनले होस्टल चलाउँदै आएको निरीक्षक मोतीले बताए । अहिलेसम्म ११ जनाले जाहेरी दिएको उनले जानकारी दिए ।

बालिकाहरु उद्धार गर्न पुगेका राष्ट्रिय अभियानका संयोजक सिलवालले त्यहाँको घटना हेर्दा उनीहरुमाथि यौन दुर्व्यवहार मात्र नभई बलात्कारसमेत भएको हुन सक्ने बताए । सिलवालका अनुसार उद्धार गर्न जाँदा बालिकाहरु बेहोस भएर ढलेका थिए । उद्धार गरी एक सुरक्षित संस्थामा राखिएका बालिकाहरुसँग परामर्श गर्ने क्रममा यौन दुर्व्यवहार मात्र नभई बलात्कार समेत भएको हुनसक्ने उनीहरुको अनुमान छ ।

पीडित एक बालिकाको भनाइ उद्वृत गर्दै सिलवालले भने, ‘निकै लामो समयदेखि यौन दुव्र्यवहार हुँदै आएको थियो । केटाकेटी छुट्टै नराखेर सँगसँगै राख्ने, बालिकाहरुको संवेदनशील अंगहरु सुम्सुम्याउने, राति–राति बालिकाको कोठामा जाने गरेका थिए । त्यति मात्र होइन बालिकाहरुमाथि बलात्कार भएको हुनसक्ने देखिएको छ ।’

पीडितहरुका अनुसार सञ्चालक घलेले बालिकाहरुको कोठासँगै आप्mनो कोठासमेत बनाएका थिए ।

घलेबाट पीडित भएकाहरुको संख्या धेरै हुन सक्ने उनीहरुको अनुमान छ ।

‘बालिकाहरु उद्धार गर्ने क्रममा बेहोस भए । समग्र त्यहाँको बस्तुस्थिति हेर्दा जसरी उनीहरुलाई राखिएको छ, पीडितको संख्या पनि धेरै हुनसक्छ,’ सिल्वालले भने ।

स्रोतका अनुसार धेरैजसो बालिकाहरु मनाङका छन् । होस्टलमा मनाङ बाहेकका अन्य जिल्लाका बालबालिकाहरु पनि छन् । होस्टलमा आर्थिक सहयोग पनि मनाङबासीहरुले नै गर्दै आइरहेका थिए ।’

काठमाडाैं महानगरपालिकाका  सामाजिक विकास विभागका अनुसार उक्त हाेस्टलले सञ्चालन गर्न अनुमति  छैन । अनुमति नलिई सञ्चालन गरेकाले  हटाउने तयारी भइरहेकाे   विभागले जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर