कोशी मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्न राप्रपा उदासीन, काठमाडौं आएका भक्ति सिटौला यसो भन्छन् – Nepal Press

कोशी मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्न राप्रपा उदासीन, काठमाडौं आएका भक्ति सिटौला यसो भन्छन्

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक पोजिसनमा देखिएको छ ।

सत्तारुढ गठबन्धनबाट प्रस्तावित कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बन्न राप्रपाको समर्थन अनिवार्य बनेको हो ।

एक भोट अपुग भएर कोशीमा एमाले नेतृत्वको सरकार ढलेको थियो । अब कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन पनि एक भोट नै अपुग हुने देखिन्छ । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिनेमा गठबन्धन दलहरू कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपासँग ४६ सिट छ ।

सभामुख माओवादीका भए पनि संसदीय दलमा उनको गणना नहुने भएकाले गठबन्धनलाई थप एक सिटका निम्ति राप्रपाको मुख ताक्नु परेको हो ।

अब राप्रपाले के गर्छ भन्ने कौतूहल छ । कोशी प्रदेशका राप्रपा संसदीय दलका नेता भक्ति सिटौला पार्टीसँग परामर्शका लागि काठमाडौं आएका छन् ।

उनले अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरिसकेका छन् । नेपाल प्रेससँगको कुराकानीमा सिटौलाले अहिलेसम्म पार्टीले निर्णय लिइनसकेको बताए ।

‘अध्यक्षज्यूले अन्य पार्टीहरूसँग आफैँले संवाद गरिरहनु भएको छ । उहाँको निर्देशन बमोजिम नै हामी आफ्नो पोजिसन क्लियर गर्छाैँ,’ सिटौलाले भने ।

हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेर कोशी सरकार गठनमा समर्थन मागेका थिए । सिटौलाले ठोस जवाफ दिएनन् । निकट स्रोतका अनुसार उनी कांग्रेसका थापालाई समर्थन नगर्ने मुडमा छन् ।
स्रोतले भन्यो, ‘अहिलेसम्मको स्थितिमा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने सम्भावना कम देखिन्छ ।’

राप्रपाको एमालेसँग निकटता तथा भक्ति सिटौलाको कांग्रेसका उद्धव थापासँगको पुरानो प्रतिद्वन्द्वीताले गर्दा कांग्रेसलाई समर्थन नगर्ने सम्भावना बढेको हो । सिटौला विगतमा कांग्रेसमै थिए । कांग्रेसले उनलाई अवसरबाट वञ्चित गरेपछि राप्रपा प्रवेश गरेका हुन् ।

सिटौला भने आफ्नो कसैसँग व्यक्तिगत आग्रह–पूर्वाग्रह नरहेको बताउँछन् । यद्यपि, गठबन्धनले आफूखुसी निर्णय गरेर समर्थन माग्ने प्रवृत्ति ठीक नभएको उनको गुनासो छ ।

‘उहाँहरूले निर्णय प्रक्रियामा हामीलाई सहभागी गराउनु भएको छैन । पहिले आफैँ व्यक्ति तोकेर त्यसपछि हामीसँग समर्थन गर भन्दा हामीलाई चित्त नबुझ्नु स्वभाविक हो,’ उनले भने ।

राप्रपाले आफैँ मुख्यमन्त्रीमा दाबी गर्छ ? भन्ने प्रश्नमा उनले भने, ‘विगतमा पनि हामीले मुख्यमन्त्रीमा दाबी गरेका होइनौँ । अहिले पनि छैन । तर, अलग पार्टी भएको हिसाबले आफ्नो हिसाबले निर्णय लिन स्वतन्त्र छौँ । प्रतिपक्षमा बस्नुपर्दा पनि हामीलाई आपत्ति छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर