रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु – Nepal Press

रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु

दामाकस । आइतबार उत्तर पश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै व्यस्त र ठुलो बजार थियो।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतबारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो।

तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन्, उनले आफू बजारमा रहेको बेला उक्त आक्रमण भएको बताए । कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

‘एक्कासि मेरो अगाडी एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरूलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ,’ उनले भने ।

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभरि एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको थियो ।

अब्देल रहमानले रुसले उत्तर पश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए।

जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए।

आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर