अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ ! – Nepal Press

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

काठमाडौं । चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्यास चिनियाँ जनमुक्ति सेनाले गरेको हो । नियमित अभ्यासको क्रममा यस्तो घेराउ गरिएको चिनियाँ पक्षले उल्लेख गरेको छ ।

‘एच-सिक्स के’ नामक बमवर्षक विमानहरु उडाएर चीनले ताइवान घेरेको हो । दिउँसोभन्दा रात्रिकालीन घेराउ अभ्यास जटिल हुने भए पनि जनमुक्ति सेनाले त्यो अभ्यास गर्नैपर्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार सन् २०२२ अगस्ट २ मा रात्रिकालीन समयमै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । त्यही प्रसंग जोड्दै चिनियाँ अखबारले ताइवानको पृथकतावादी कार्यक्रम जतिसुकै बेला हुनसक्ने भन्दै त्यसकै लागि रात्रिकालीन अभ्यास अनिवार्य भएको उल्लेख गरेको छ ।

प्रविधि, व्यापार र ताइवान मुद्दामा चीन र अमेरिकी सरकारहरु पछिल्ला पाँच वर्षमा राम्रो सम्बन्धमा छैनन् । सैन्य सम्बन्धमा पनि सञ्चार हुन छोडेको छ । त्यही समस्यालाई केही हदसम्म भए पनि कम गर्न ब्लिन्कन चीन भ्रमण पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर